आज माघ १६, अर्थात शहिद दिवस । जहाँनिया राणा शासन, निरंकुश पंचायती व्यवस्था तथा तानाशाही राजतन्त्रबिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा जीवन बलिदान गरेका बीर नेपाली योद्धाहरुको संझना गर्ने र तीनको योगदानको स्मरण गर्ने दिन ।
राणाशासनको अन्त्यका लागि लड्दा लड्दै शहादत गरेका वीर शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुले गरेको योग्दानको सम्झनामा शहिद दिवस मनाउने चलन छ । तर यो चलन केबल विरालो बाँधेर श्रद्धा गर्ने काम बाहेक अरु केही हुन सकेको छैन् । अझ भनौं माघ १६ सहिदको सम्मान र उनीहरुको योगदानको लागि स्मरण गर्ने दिवस वा दिन नभई कुनै उनीहरुको अपमान गर्ने दिनका रुपमा विकसित हुँदैछ । देशको रक्षा र देशको अखण्डता, सर्वभौमताको लागि लडेको शहिदको भन्दा अहिले देशका राजनीतिक स्वार्थपूर्तिका लागि मृत्यु भएका व्यक्तिहरुलाई शहिदको उपनाम दिइएको छ । अझै सडक दुर्घटना वा बन्दहड्तालमा ज्यान गुमाएकाहरु पनि यो लिष्टमा समावेश भएका छन् ।

राज्यको हितका लागि कुनै योगदान नै नगरेका व्यक्तिहरु पनि अहिले शहिदको परिभाषामा अटाएका छन् । सरकारले दबाब र आन्दोलनलाई मर्थर पार्नको लागि शहिद सब्दकै अपमान वीर सपुतहरुको योगदानको अबमुल्यन हुने गरी शहिद घोषणा गर्ने काम जारी राखेको छ ।
पछिल्लो समय नेपाली राजनीतिका पृष्ठपोषकहरुले बिभिन्न कालखण्डमा झिना मसिना घटनाक्रम तथा राजनीतिक प्रतिशोधले गर्दा शहिदहरु तोक्ने तथा खुद्रा रुपमै शहिदहरुको फेरिहिस्त तयार गर्ने राजनीतिक दलहरुको स्वार्थमा केन्द्रित कामले शहिद शब्दकै अपमान भएको छ ।

कवि भूपि शेरचनले भने जस्तो “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मूलुक दुईचार समूत मरेर नगए” बिभिन्न कालखण्डमा नँया नेपालको निर्माणको लागी वीर सपूतहरुको अतुलनिय योग्दान तथा बलिदान अपरिहार्य रहेको बिगतका घटनाक्रमहरुले समयसमयमा झकझक्याईरहन्छ । सरकारले बुधबार मात्रै २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहिद घोषणा गरेको छ । सेवामा खटिएका बेलामा मृत्यु भएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागमा कार्यरत रहदाँ शहादत भएकालाई शहिद घोषणा गरेको हो ।
देशमा बन्द, हड्ताड, चक्काजाम जस्ता घटना तथा दुर्घटनामा मरेका व्यक्तिहरुलाई पनि शहिद घोषणा गर्ने प्रचलन बढिरहेको छ । झण्डै तीन करोड जनसंख्या रहेको नेपालमा १२ हजार शहिद घोषणा भइसकेका छन् । शहिद घोषणा गर्ने क्रम चलिरहेको छ । शहिद भित्र अहिले राजनीतिक स्वार्थमा मरेका व्यक्तिहरुको नामलिष्ट पनि समावेश छ । जसले गर्दा शहिदको अपमान हुने गरेको छ । यसले देशको खातिर बलिदान गरेको वीर योद्धाहरुको अवमुल्यन गरेको छ । राज्यबाट शहिद शब्दको जून रुपमा अपमान भएको छ त्यसले बास्तविक शहिदमाथि अन्याय गरेको छ ।

राज्यले शहिद शब्दमाथि भइरहेको बारम्बारको प्रहार रोक्न आवश्यक छ । राज्यको सर्वभौमताको खातिर लडेका योद्धालाई अपमान हुने कुनै पनि काम गर्न हुदैन र राज्यले यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक छ । शहिद नामवलीको अपमान हुने गरी शहिद घोषणा गर्ने काम तत्तकाल बन्द गर्नुपर्छ । शहिद सप्ताह मनाउँदैमा सहिदप्रति न्याय हुन सक्दैन । शहिदले गरेको योगदानको कदर गर्न राज्यको नेतृत्वमा पुगेका नेता र दलले शहिदले देखाएको इमान्दारीता, देशप्रतिको भक्तिभावको कदर गर्न सक्नुपर्छ । परिर्वतन नेतामुखी, राजनीतिक दलमुखी होइन जनतामुखी बनाउन सक्ने हो र देशको स्वाधिनतामाथि कुनै प्रकारको आँच आउन नदिने हो भने त्यही नै शहिदप्रतिको सच्चा सम्मान हुनेछ । यसरी जो सुकैलाई शहिदको घोषणा गर्दै जाने हो भने शहिदमाथि ठूलो अपमान हुनेछ त्यसैले राज्यबाट यो गल्ती नहोस् । देशको स्वाधिनता, राष्ट्रिय अखण्डताको रक्षा र आमूल परिर्वतनको लागि बलिदानीपूर्ण योगदान पु¥याएका वीर ज्ञात अज्ञातप्रति हार्दिक श्रद्दा सुमन ।

प्रतिकृया दिनुहोस्