पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी , पर्वत जेसीज लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरु गरी तीस जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र महोत्सवका मुल संयोजक कल्पना चापागाईले रक्तदान गरेर शुरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले सञ्चार माध्यमहरुले हरेक क्षेत्रमा योगदान पु¥याउन सक्छन् भन्ने उदाहरण यस्ता सामाजिक क्रियाकलापले देखाएको बताउनुभयो ।

महोत्सव मुल आयोजक समितिका संयोजक कल्पना चापगाईले रगतको अभावमा कुनै नागरिकले पनि अकालमा ज्यान फाल्न नपरोस भनेर प्रत्येक वर्षको महोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्र्दै आएको बताउनुभयो ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राथमिक सहयोग गरेको थियो ।  यसैबीच ११ औ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तीन दुई दिन पछि सरेको छ । बिहीवारदेखि आएको मौसमको खराबीका कारण माघ २७ गतेदेखि फागुन ७ गते सम्म महोत्सव हुने भएको हो । अन्य कार्यक्रमहरु भने यथावतै रहेको बताइएको छ । २५ गतेदेखि निर्धारित कार्यक्रम २७ गतेदेखि शुरु हुने रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

उद्घाटन भोली
महोत्सवको उद्घाटन भोली (शुक्रबार) हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले महोत्सवका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको छ । तीन विभागीय टिमसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् । पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ । प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता पनि महोत्सवमा हुनेछन् । रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

महोत्सव अवधीभर दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहने छ । हामीसँग यत्रो धन भएर महोत्सवको आयोजना गरेको होइन, सबैको साथ र सहयोग हुने अपेक्षाका साथ हामीले महोत्सवको आयोजना गर्न लागेको हो अध्यक्ष चापागाइले भनिन् । विगतको बर्षमा झै यस बर्षमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं उनले भनिन् ।

महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकट नलाग्ने भएको छ । महोत्सवमा आउनले एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रका आधारमा निशुल्क गरिनेछ उनले भनिन् । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट लाग्ने उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस्