शिला पाण्डे, पर्वत । गायत्री शठकोप राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलेको महायज्ञको आयव्यय सार्वजनिक भएको छ । यही माघ ७ गतेदेखि १४ गतेसम्म संचालन भएको महायज्ञमा ६५ लाख ३५ हजार १०६ रुपैँयाँ आर्थिक संकलन भएको पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

महायज्ञमा कुल रकमको १२ लाख ५० हजार अझै उठ्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै खर्चतर्फ महायज्ञमा १६ लाख २१ हजार ३० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै भवन निर्माण विल भुक्तानी ३० लाख २४ हजार ५ सय, भवन निर्माणको विल भुक्तानी गर्न बाँकी ८ लाख ८५ हजार ५७६ रहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

गायत्री आमा समुहको आयोजनामा भएको उक्त महायज्ञको नबिल बैंकमा ८ लाख २० हजार, पर्वत सहकारीमा बचत ४ लाख ३४ हजार, महालक्ष्मी नमूना सहकारीमा (कोष) १० लाखको रहेको जनाएको छ ।

महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन गरेका थिए । सोही अवसरमा महायज्ञलाई सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्