देशको नमुना प्रदेश बनाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको छ । पर्यटन, जलविद्युत्, कृषि, उद्योग र भौतिक पूर्वाधारको अथाह सम्भावना रहेको गण्डकी प्रदेशमा आर्थिक विकाको मूल आधार पर्यटनलाई मानेर विभिन्न योजना अघि सारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको पनि राजधानी बनाउने अभियानमा प्रदेश सरकारले घोषणा गरिसकेको छ । अब मात्र संघीय सरकारले यसलाई घोषणा गर्न बाँकी छ । प्रदेशमा पर्यटनको अथाह सम्भावना भएरै प्रदेश सरकारले लाखौं युवालाई रोजगारी सिर्जना गरी पर्यटनबाटै आर्थिक विकास हुने कुरामा प्रदेश सरकार ढुक्क छ । यसैबाट सबैलाई सुखी र खुसी पार्न सकिन्छ भन्छन् गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल । सन् २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको प्रदेश सरकारले यसका लागि के–के आधार तयार पारेको छ मन्त्रालयले, यीसहित अन्य विषयमा मन्त्री लम्सालसँग पोखरास्थित कारोबार संवाददाता दीननाथ बरालले गरेको कुराकानीको सार :

प्रदेश सरकार गठनको एक वर्ष बितिसक्दा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले के कति प्रगति हासिल गर्न सफल भयो त ?
हामी एक वर्षमा मन्त्रालय स्थापनासँगै कानुन बनाउन हामी व्यस्त भयौं । हामीले एक वर्षमा हाम्रो प्रदेशमा के कस्तो सम्भावनाको खोजी गर्न, अध्ययन–अनुसन्धान गर्न, हामीसँग भएको स्रोतसाधनको अवस्था बुझ्यौं । अब हामी काम गर्ने वातावरण तयार गर्दैछौं । विकासका लागि हामीले एक वर्षमा आधार तयार पा-यौं । शून्य अवस्थाबाट सुरु भएको प्रदेश सरकारसँग जनताले एकै वर्षमा धेरै आशा गर्नु स्वाभाविक हो, तर आधारबिना हामीले एकैपटक विकास गर्न नसकिने भएकाले हामीले विकासको आधार तयार पारेकाले अबको केही महिनाभित्रै जनताले अनुभूति हुने गरी काम गर्ने बाटोमै छौं ।

गण्डकी प्रदेशमा विकासको के–कस्तो सम्भावना रैंछ त ?
हाम्रो प्रदेशमा विकासका लागि अथाह सम्भावना छ, यहाँ प्रकृति, संस्कृतिको अथाह खानी नै छ । यहाँ पर्यटन, जलविद्युत्, कृषि, उद्योग र भौतिक पूर्वाधारको धेरै सम्भावना छ । हामी हाम्रो प्रदेशको आर्थिक विकास र समृद्धिका लागि पर्यटनलाई नै मुख्य आधार मानेर अघि बढेका छौं । नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सफल पार्न हामी हाम्रो क्षेत्रमा भएको सम्भावनालाई अधिक रूपमा प्रयोगमा ल्याउने तयारीमा छौं । हामीले सामान्य रूपमा सोचेभन्दा धेरै सम्भावनाकै सम्भावना यस प्रदेशमा भएको पाएका छौं । हिमालदेखि तराईसम्म यस क्षेत्रमा रहेकाले हामीले आफ्नो खेतबारीमा कृषिजन्य उत्पादन गरी आत्मनिर्भर बन्न सक्ने सम्भावना यस प्रदेशमा छ । हाम्रो प्रदेशमा सबै प्रकारको मौसमका साथै जल, जमिन र जडीबुटीको पनि उत्तिकै सम्भावना छ ।

विकासको मूल आधार पर्यटनलाई बनाएको यस प्रदेशले पर्यटन प्रवद्र्धनमा के–कस्ता रणनीतिक योजना अघि सारेको छ ?
हाम्रो प्रदेशमा पर्यटनको धेरै सम्भावना भएरै हामीले विकासको मूल आधार पर्यटनलाई बनाएका हौं, यस क्षेत्रमा हामीले पहिलो प्रथामिकता दिएर अघि बढ्न साथ पर्यटन व्यवसायी र निजी क्षेत्र यसमा निकै उत्साहित भएका छन् । हाम्रो क्षेत्रमा होटल, रिसोर्ट, साहसिक खेलकुद, ट्रेकिङ रुटमा लगानी हुन थालेको छ । हामीले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० मा पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणकार्य सकेसँगै उडान परीक्षण गर्ने, २०२१ बाट अन्तर्राष्ट्रिय हवाई उडान हुने गरी हामीले गृहकार्य सुरु गरेका छौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्नुहुन्छ भने हाल करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । मनाङ, बाग्लुङ, गोर्खासहित ७ प्रदेशमा हवाई उडान सञ्चालन गर्ने तयारी गरेका छौं । मित्रराष्ट्र भारत र चीनसँगको समन्वयमा पर्यटन व्यवसायी तथा निजी क्षेत्रको सहकार्यमा हामीले अन्तर्राष्ट्रिय हवाई उडान गर्ने योजना अघि सारेका छौं । भारतमा ‘गर्मी छलो पोखरा चलो’ लगायतका कार्यक्रम ल्याउने हामी गृहकार्य गर्दैछौं ।

आन्तरिक भ्रमर्ण वर्ष घोषणा भएको करिब सभा एक महिना भयो, किन प्रभावकारी कार्यक्रम आउन सकेन ?
यसमा हाम्रो अन्तरिक तयारी भइरहेको छ । यसमा ढिलो हुनुको मुख्य कारण नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने भएकाले हामीले पनि त्यसलाई मिलाएर लैजाऔं भन्दा केही कार्यक्रम अघि हुनुमा ढिलाइ भएको हो । संघीय सरकारको कार्यक्रमसँग पनि हामीले टायअफ गरी जान खोजेका हौं । उनीहरूको कार्ययोजना आउन ढिलाइ भएकाले पनि हामीले प्रभावकारी कार्यक्रम दिन नसकेकै हो, तर अब हामी धेरै दिन कुर्न सक्दैनौं । अब संघीय सरकारबाट कार्ययोजना नभए पनि हामी आफ्नो कार्ययोजना ल्याउँछौं । यद्यपि हामीले समन्वय गरी विभिन्न इभेन्ट सञ्चालन भने गरि नै राखेका छौं, जस्तो कि विभिन्न मेला–महोत्सवलाई हामीले सहयोग गरिराखेका छौं, अब हामीले ११ जिल्लामै महोत्सव गर्ने तयारी गर्दैछौं । ११ जिल्लामा समन्वय समितिको संयोजकत्वमा समिति गठन गर्छौं । सबै जुन हाम्रा कार्ययोजनामा तयार भएका छन्, तर पनि माथिको कानुन नबाझियोस् भन्नका लागि पर्यटन कार्यविधि ल्याउन ढिलाइ भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हामीसँग सयौं इभेन्ट छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन स्कुल, कर्मचारी संयन्त्रलाई कसरी परिचालन गर्ने, व्यवसायीहरूलाई कसरी जोड्ने, त्यसका लागि हाम्रा कार्यक्रमहरू आउँदैछन् । पर्यटनसँग सम्बद्ध संघ–संस्थाहरूलाई कसरी संलग्नता गराउने, त्यसलाई पनि हामीले कार्ययोजनामा समेटेका छौं ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको समेत राजधानी बनाउने अभियानमा तपाईंहरू लाग्नुभएको थियो, त्यो अभियान हाल कहाँसम्म पुगेको छ ?
यस विषयमा हाम्रो प्रदेश स्तरीय क्याबिनेटले पोखरालाई पर्यटनको राजधानी बनाउने विषयमा निर्णय गरिसक्यो । हामीले सातै प्रदेशका पर्यटन मन्त्रीहरूको समर्थन लिएर हाम्रो क्याबिनेटले निर्णय त ग-यो, अब यसलाई संघीय क्याबिनेटले निर्णय गराउनुपर्ने भएकाले हामीले सिफारिस पठाइसकेका छौं । संघले अब छिट्टै पोखरालाई पर्यटनको राजधानीका रूपमा घोषण गर्छ, यसमा हामी विश्वस्त छौं । पोखरा पर्यटनको राजधानीका रूपमा घोषणा भएसँगै यहाँका पर्यटकहरूको आकर्षण बढ्छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशमा ३ सयवटा नमुना होमस्टे बनाउने अभियान चलाएकोमा हाल के भइरहेको छ ?
हाम्रो होमस्टे कार्यविधिलाई सुहाउने गरी २ सय २३ वटा होमस्टेका प्रस्तावहरू आएका छन् । केही मानिस यस विषयमा अलमलमा परेका छन् । २ सय २३ वटा होमस्टेको पुँजीगत बजेट पठाइहाल्छौं, बाँकी रहेका होमस्टेका लागि अर्को सूचना प्रकाशित गरी पुनः आह्वान गर्छौं । हामी यसै वर्ष ३ सय होमस्टे निर्माण गर्छौं । होमस्टेको पूर्वाधार निर्माणमा हामीले न्यूनतम ५ लाख १५ लाखको बजेट विनियोजनका लागि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ । होमस्टेको पुँजीगत अनुदानका लागि विनियोजन मात्र भएको छ , अब सम्झौता हुन बाँकी छ । कार्यान्वयनमा जान दिनुहोस्, यसलाई हामीले प्रभावकारी ढंगले गाउँ पर्यटनसमेत प्रवद्र्धन गर्छौं ।

प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्न के गर्छ ?
११ जिल्लामा गन्तव्यको खोजी गर्ने क्रम जारी छ । हाम्रो प्रदेशको ८५ वटै स्थानीय तहमा पर्यटकीय गन्तव्यको खोजी अभियानमा हामी लागेका छौं । हिमालदेखि ढोरपाटनम्म, नदीनालादेखि नवलपुरको जंगल सफारीसम्म धेरै पर्यटकीय गन्तव्य रहेका छन् । गोजेन्द्रमोक्षधामदेखि दामोदरकुण्डसम्मको ५ सय २२ किलोमिटरको प्रत्येक १० किलोमिटरको दूरीमा पर्यटनका नयाँ प्रोडक्ट उत्पादन गर्छौं । १ लाख शालिग्राम संग्रहालय निर्माणको प्रक्रियामा रहेका छौं । बाग्लुङमा १ सय मिटर सुरुङ खनेर १ लाख शालिग्राम हामी संग्रहालय बनाएर राख्दैछौं । त्यसका लागि हामीले काम अघि बढाइसकेका छौैं । यसका लागि सुरुङ तयार भइसक्यो । हाम्रो देशका ऐतिहासिक विभिन्न शालिग्राम मन्द्रिर, ऋषिमुनि, कुटिलगायतको क्षेत्रबाट संकलन गरी हामीले शालिग्राम संग्रहालय महोत्सव पनि गर्छौं । संसारका धार्मिक पर्यटन भित्र्याउन यसले कोसेढुंगा सावित हुने हामीले विश्वास लिएका छौं ।

अझै लगानीमैत्री वातावरण नभएको पर्यटन तथा निजी व्यवसायीहरूले गुनासो गर्ने गरेका छन्, यस्तो अवस्थामा लगानी कसरी भित्र्याउने ?
पहिला के थियो, त्यो छाडदिनुहोस्, अब गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बन्छ, यसमा हामीले पर्यटन र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण दिन्छौं, ढुक्क भएर लगानी गर्दा हुन्छ । केही व्यवसायीले बैंकको ब्याजदर बढी भयो भन्ने गुनासो आएको छ, यसलाई हामीले सहज हुने वातावरण तयार गर्न संघीय सरकारसँग समन्वय गर्छौं । माग र आपूर्तिको सिद्धान्तअनुसार अब बजारमा सहज हुन्छ ।

रेस्टुराँ मजदुरहरू १० प्रतिशत सेवाशुल्क पाउनुपर्छ भन्दै आन्दोलित भएका छन्, यसमा गण्डकी प्रदेश सरकारको भूमिका कस्तो रहन्छ ?
अब पनि आन्दोलन गरेर आफ्ना माग पूरा हुन्छ भन्नु राम्रो होइन, पर्यटनजस्तो संवेदनशील क्षेत्रमा बन्द–हड्ताल आन्दोलनले कसैलाई पनि फाइदा पुग्दैन, झन् नेपालको विश्वमा बदनाम हुन्छ । श्रम ऐन लागू भएकाले मजदुरले पनि सम्मानजनक रूपमा मजदुरी पाउनुप-यो र मजदुरी गरेबापतको तलब भक्ता पाउनुप-यो । व्यवसायीहरूले पनि मजदुरलाई राम्रो व्यवहार गरी समझदारीमा सरकारले तोकेको सेवा सुविधा दिनुपर्छ । समझदारीमा जानका लागि व्ययसायी र मजदुरलाई म आग्रह गर्छु । समृद्धि र विकासको समयमा अब आन्दोलनमा जानु हँुदैन, अलमलिनु हुँदैन ।

गण्डकी प्रदेश सरकारले जनताले अनुभूति हुने गरी कहिले तपाईंको कामको नतिजा हेर्न पाउँछन् ?
अब फागुनदेखि गण्डकी प्रदेश सरकारले कामलाई अघि बढाउँछ । अहिले के छ भने संघ, प्रदेश र स्थानीय तहको लय, ताल र स्वर मिलेको छैन । फागुनबाट कानुन निर्माण भए पनि हामी एकदम ट्र्याकमा आउँछौं । जनतामा जुन अलि अलि निराशा बढ्न खोजेको छ । यसको पूर्ण रूपमा अन्त्य हुन्छ । सबै मान्छे हाँसीखुसीसहित विकासको महान् अभियानमा हामी सरिक गराउछौं ।

गण्डकी प्रदेशमा सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्यअनुरूप हाल के–कति कामले गति लिएको छ ?
हामीले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, २०२० लाई छिमेकी मित्र राष्ट्र भ्रमण वर्ष, २०२१ लाई पूर्वाधार निर्माण तथा तयारी वर्ष र २०२२ मा २० लाख पर्यटक भनि तय ग-यौं । योचाहिँ त अब हामी काम थाल्दैछौं । यसका लागि हामी पूरै तयारी गर्दैछौं । बजेटको योजना बनाउँदैछौं । स्थानीय तहलाई यस विषयमा आह्वान गरिराखेका छौं । संघीय सरकारले कति पर्यटक ल्याउँछ, त्यो हामीले सहयोग गर्ने हो । तर, २०२२ मा २० लाख होइन, त्योभन्दा बढी पर्यटक ल्याएर देखाउँछौं । हामीले पर्यटकको रेकर्ड राख्न सुरु गरेका छौं, तपाईंहरू ढुक्क हुनुहोस्, हामीले गनेरै २० लाख पर्यटक पु-याउँछौं । राम्दी, मुग्लिङ र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर गेटमा सूचना रेकर्ड राख्छौं । व्यापार र सूचना संकलन गर्ने गरी हामी काम अघि बढाउने योजनामा छौं । यसै वर्ष सूचना संकलन केन्द्र, सोबिनयसप र रेकर्ड राख्ने काम यसै आन्तरिक भ्रमण वर्षबाटै सुरु गर्छौं ।

एक स्थानीय तह एक उद्योग ग्रामको अभियान हाल के भइरहेको छ ?
प्रदेशमा ८५ स्थानीय तहमध्ये हालसम्म ८१ वटा स्थानीय तहले आफ्नो क्षेत्रमा उद्योग ग्राम स्थापनाका लागि मन्त्रालयमा निवेदन दिएका छन् । सबै स्थानीय तहमा उद्योगहरूको स्थापनाका लागि हामीले एक स्थानीय तह एक उद्योग ग्रामको अवधारण अघि सारेका हौं । असारभित्र बोर्ड राखेर कामको सुरु गर्ने तयारीमा हामी छांैं । हाम्रो प्रदेशमा हाल करिब १ हजार किलोमिटर मात्र पक्की पिच बाटो रैंछ, अबको चार वर्षमा कम्तीमा ४ गुणा वृद्धि हुने गरी ४ हजार किलोमिटर पिच सडक निर्माण गर्ने प्रदेश सरकारले योजना अघि सारेको छ ।

कारोबार

प्रतिकृया दिनुहोस्