बलिउडका खलनायक महेश आनन्दको अँधेरीस्थिति आफ्नै घरमा मृत्यु भएको छ। शनिबार बिहान मृत अवस्थामा भेटिएका उनको दुई दिन पहिले नै मृत्यु भएको प्रहरीको अनुमान छ।

केही समयदेखि बेरोजगार रहको उनी सो घरमा एक्लै बस्दै आएका थिए। ५७ वर्षीय आनन्दको शव जजिकै रक्सीको बोत्तल फेला परेको प्रहरीले जनाएको छ।

उनको शव केही सडेको अवस्थामा भेटिएको र मृत्युको कारण र समय पत्ता लगाउन शव पोस्टमार्टमका लागि कपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

मोडलिङबाट करिअर सुरु गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी तेक्वान्दोका ब्ल्याक बेल्टसमेत हुन्।

लामो समयदेखि आर्थिक अभावमा रहेका उनी ८० दशकका चर्चित खलनायक हुन। उनले अमिताभ बच्चन, सञ्जय दत्त, गोविन्दा लगायतका अभिनेतासँग मजबुर, थानेदार, बेताज बादशाह, कुल्ली नम्बर १, विजेता, लाल बादशाह, आया तुफान, बागी लगायतका चलचित्रका काम गरेका थिए।

१५ वर्षको लामो अन्तरालपछि पछिल्लो पटक पहलाज निहालिनीको ‘रंगिला राजामा’ देखिएका थिए। यो फिल्म यही वर्षको जनवरीमा रिलिज भएको थियो।

मुम्बइमा रहने आनन्दकी बहिनीले खबर गरेपछि प्रहरी उनको घरमा पुगेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्