काठमाडौं । वर्षौ अगाडि ‘सिमसिमे पानीमा ज्यानले बेईमान गर्छौ कि जिन्दगानीमा’ भन्ने गीत लोक गायक प्रेमराजा महत र गायिका रेखा शाहको स्वरमा बजारमा आएको थियो । त्यो गीत यति चर्चित भयो कि गीतको चर्चाले अग्रज गायक प्रेमराजा महत लोभिए । त्यसपछि बजारमा सिमसिमे पानीमा गीतको चर्चा हुँदा उक्त गीत प्रेमराजा महतको भएको भन्ने हल्ला आफसेआफ हुन थाल्यो ।

त्यो हल्ला नियत बस गराईएको थियो या अग्रज भएका नाताले उनले जस पाएका थिए त्यो यसै भन्न सकिदैन तर रेखा शाहले त्यो गीत आफ्नो भएको प्रमाणित गराउन भने वर्षौ सम्म अदालतमा मुद्दा लड्नुपर्यो । आखिर अदालतले सिमसिमे पानीमा भन्ने गीतको स्वामित्व रेखा शाहमा निहित रहने फैसला गर्यो ।

अहिले त्यस्तै अर्को विवाद सुरु भएको छ । चर्चित गीत ‘सालको पात टपरी हुनी” भन्ने गीतको स्वामित्व कसमा निहित छ त ? गीतको व्यवसायिक प्रयोगको बारेमा निकै विवाद भयो । नेपाल आइडल सिजन २ का विजेता रबि ओडले बिगारेर प्रस्तुत गरेको भनेर विरोध गर्दा उक्त गीतका लय संकलन विवादमा मुछिए । आखिर त्यो गीतको सर्वाधिकार कोसँग सुरक्षित रहेको छ यो एउटा आम चासोको विषय बनेको छ ।

नेपाली प्रतिलिपि कानुनका हिसावले गीतमा मुख्य गीतकार, संगीतकार, गायक गायिका (प्रस्तोता) र उत्पादकहरुमा प्रतिलिपि अधिकार निहित रहन्छ । प्रसार प्रचार गर्नेहरुको हकमा पनि केही सिमित अधिकारहरु कानुनले सुरक्षित गरेको छ ।

व्यापारिक प्रयोगका हिसाबले भने गीतको सम्पूर्ण स्वामित्व लगानीकर्तामा निहित रहेको हुन्छ । प्रत्यक्ष ब्यापार गर्ने, बेच्ने, पुनः प्रयोग गर्ने या आंशिक प्रयोग गर्ने मामलामा लगानीकर्ता तथा उत्पादकको मुख्य स्वामित्व रहेको हुन्छ ।

“सालको पात टपरी हुनी” गीतको उत्पादक को हो ? कसमा यो गीतको सम्पूर्ण स्वामित्व निहित रहेको छ त ? अहिले सम्म भ्रम छरिएको र दर्शक श्रोताहरुले थाहै नपाएको विषय यहि हो । अहिलेको विवादमा गीत विग्रनु मुल मुद्दा हुँदै होइन गीत त कुलेन्द्र विश्वकर्माले नै या विष्णु माझीले नै स्टेजमा गाउँदा पनि बिग्रन सक्छ ।

रबि ओडले सालको पात टपरी विगारेर गाएको भन्दै बसन्त थापाले विवाद सिर्जना गरिरहँदा गायक कुलेन्द्र विश्वकर्माले गीतको सबै स्वामित्व आफ्नो भएको दावी गरेका छन् ।

वसन्त थापाको गीत अन्य कलाकारले अनुमति नलिई व्यवसायीक प्रयोग गरेको गुनासोमा संस्थाका पदाधिकारीहरुले बारम्बार त्यसो हुनु हुदैन भन्ने अभिव्यक्ति दिदै आइरहेका छन् । आफुले लगानी गरेको कारण उत्पादकका हिसावले गीतको स्वामित्व आफुमा निहित रहेको जनाउँदै कुलेन्द्रले फेसबुकमा स्टाटस पोष्ट गरेका छन् ।

गीतको सबै स्वामित्व आफ्नो भएको कुलेन्द्रको दावी छ । लगानी, गीतको स्वामित्व सबै आफ्नो भएको तर वसन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक गर्न मात्र दिईएको उनको भनाई छ । बसन्तले गीतको सबै स्वामित्व आफ्नो हो भनेजस्तै गरेर विवादमा आएपछि कुलेन्द्रले मुख खोलेको हुन् ।

उनले भने, ‘यसमा विवाद गर्नुपर्ने कुनै कारण नै छैन् । तर वसन्त जि ले किन विवाद सिर्जना गर्नुभयो त्यो उहाँको कुरा हो । गीत विवादमा आएपछि यसको सबै स्वामित्व वसन्तको भएको भन्दै कुरा आईरहेको छ । त्यो प्रति मेरो आपत्ति छ । गीतको स्वामित्व मेरो हो । संगीत मात्रै वसन्त जी को हो । अर्को कुरा उहाँको युट्युब च्यानलबाट सार्वजनिक गर्दा सबै उहाँकै स्वामित्व हुन्छ भन्ने भ्रम छरिएको छ । यसको सबै स्वामित्व मेरो हो’ कुलेन्द्रले भने ।

खास कुरो के हो ?
त्यो स्वाभाविक हो, रेकर्डेड जस्तै हुवहु संगीतकार आफै पनि गाउन सक्दैनन्। यो गीतका उत्पादक कुलेन्द्र विश्वकर्मा हुन् । गीत निर्माणमा भएको सम्पूर्ण लगानी कुलेन्द्रले नै गरेका छन् । अर्की गायिका बिष्णु माझीलाई पारिश्रमिक समेत कुलेन्द्रले नै तिरेका कारण यो गीतको स्वामित्व कुलेन्द्रमा निहित भएको देखिन्छ ।

त्यसो भए वसन्त थापा विवादको बिचमा किन परे त ? यो प्रश्न भने अनुत्तरित छ । गीत जसको स्वामित्वमा छ त्यो उत्पादक चुप छ । गीत लेखेको जसले हो त्यो गीतकार चुप छन् । भनाभनको भुमरीमा वसन्त थापा कसरी परे त ? मूल मुद्दा भनेको अनुमति बेगर गाईनु श्रष्टाको नाम समेत उल्लेख नगरिकनै गाईनु मुख्य मुद्दा हो ।

त्यसमाथि लय संकलक अहिलेको मुद्दाको मियोमा छन् । लय संकलक वसन्त थापाले त्यो गीतमा संगीत भरेको या सृजना गरेको दावी गरेपनि त्यो गीत झ्याउरे लोक भाका हो । झ्याउरे भाकामा मौलिक शब्द राखेर गाईएपछि त्यो लोकगीत नै हो यो कुरामा दुबिधा रहनु हुदैन ।

लोकगीत पनि प्रतिलिपि अधिकार कानुन अन्तर्गत समेटिएर रोयल्टीको हकदार बनेपछि प्रतिलिपि कानुनले वसन्त थापाको प्रतिलिपि अधिकारलाई सम्बोधन गर्ने नै भयो तर वसन्त थापामा यो गीतको सम्पूर्ण स्वामित्व रहेको छैन । यो गीत कुलेन्द्र विश्वकर्माको सम्पत्ति हो उनको उत्पादन हो ।

फरक तरिकाले अर्थ्यौदा भने अहिलेको मुद्दामा सबैभन्दा केन्द्रमा रहेका वसन्त थापाको योगदान भनेको यो गीतमा झ्याउरे भाकालाई अलिकति फरक पाराले प्रस्तुत मात्र गरेका छन् । यो हिसावले उनी लय संकलक हुन् । मूल श्रष्टा भनेका गीतकार हुन् ।

झ्याउरे भाकाको गीतमा प्रतिलिपि अधिकार लागू हुदैंन्ः

चल्तीका शब्द या उखानहरु टिपेका छैनन् भने यो गीतमा प्रयोग भएका मौलिक शब्दको आधारमा गीतकार प्रतिलिपि अधिकारको धनि हुन सक्छन तर “सालको पात टपरी” अन्य गीतमा पनि प्रयोग भईसकेको कारण त्यो लोक गीतकै अंश मानिने देखिन्छ । झ्याउरे भाकाको प्रतिलिपि अधिकार सुरक्षण नहुने कुरा कानुनमा स्पष्ट पारिएको कारण वसन्त थापाले कानुनतः यो भाकामा प्रतिलिपि अधिकार दावी गर्न पाउदैनन किनकि यो लोक भाका झ्याउरे हो र वसन्तले त्यसको प्रयोग मात्र गरेका हुन् ।

लोक गीतको सुन्दर पक्ष भनेकै गीतको स्वरूप फेरिनु हो । काठमा जुन हिसाबले त्यो गीत गाईन्छ धादिङमा फरक गोरखामा फरक गण्डकमा फरक राप्ती भेरी र कर्णालीमा फरक फरक टोनमा गाईन्छ । त्यहि गीत मधेसी टोनमा गाईयो भने झन् फरक सुनिएला त्यसैले लोक गीतले स्वरूप परिवर्तन गर्छ त्यो बिग्रदैन । जहाँ जुन स्वरूपमा पनि चल्तीमा आउन सक्छ ।

रबि ओडले आफ्नो टोन अनुसार गाउँन पाउँछन्ः

रबि ओडले शब्द विर्सेको आरोप आकर्षित भएपनि लय बिगारेकोमा उनी आरोपित हुन सक्दैनन् किनकी लोक गीतलाई उनले आफ्नो टोन अनुसार प्रस्तुत गरेका मात्र हुन् र त्यसो गर्न लोक गीतलाई पाइन्छ । व्यवसायीक प्रयोग गर्दा बिगार्न नपाइने बेग्लै कुरा भयो त्यो कुरामा भने आइडल कम्पनि नै आरोपित पनि हुन सक्छ ।

कानुनले ‘लोक भाका’ को प्रतिलिपी अधिकारको सुरक्षा गर्दैन । जस्तै झ्याउरे, रोइला, सालैजो लगायत भाकाहरुको प्रतिलिपी अधिकार कानुन अनुसार कुनै ब्यक्तिमा निहित रहदैन । ‘सालको पात टपरी’ गीतमा शब्द गीतकारको मौलिक रचना भएपनि भाका ‘झ्याउरे’ भएको कारण लय संकलकमा प्रतिलिपी अधिकार निहित गराउन या त अदालतबाट आदेश गराउनु पर्ने देखिन्छ या सबै कलाकार मिलेर कानुन संसोधन गराउन सरकारलाई दवाव दिनुपर्छ ।

वसन्त थापाले प्रतिष्ठान छोडेको घोषणाको पनि प्रसङ्ग उल्लेख गर्नु आवस्यक देखियो । सालको पात टपरी मात्र होइन कुनै पनि सृजनाको अनाधिकृत प्रयोग हुनु हुदैन भन्ने कुरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रतिबद्ध रहेको छ त्यो कुरा पदाधिकारीहरुको अभिव्यक्तिमा स्पष्ट भएकै कुरा हो ।

-केन्द्रविन्दुबाट

प्रतिकृया दिनुहोस्