नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को तल्लो कमिटीहरुको एकीकरणले पूर्णता नपाउँदै पार्टीका शीर्ष नेतृत्वमा मतभेद देखिन थालेको छ। पछिल्लो समयमा शीर्ष नेताहरुबाटै आएको आएका अभिव्यक्तिले नेकपामा एक अर्काप्रति असन्तुष्टि र अविश्वास झनै बढेको देखिन्छ।

ल्याटिन अमेरिकी देश भेनेजुएलामा उत्पन्न भएको राजनीतिक संकट र त्यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विज्ञप्ति र उक्त विज्ञप्तिमा माथि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली गरेको टिप्पणीबाट असन्तुष्टि थप सतहमा आएको हो।

प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा प्रचण्डको वक्तव्यलाई एक साथीको अमुक वक्तव्य भन्ने प्रतिक्रिया दिएका थिए भने त्यसको प्रतिउत्तरमा प्रचण्डले सचिवालयले बोलिसकेपछि व्यक्तिले बोल्नुको कुनै अर्थ नहुने टिप्पणी गरेका थिए।

‘सचिवालय बैठकमा अध्यक्ष ओलीले विज्ञप्तिको विषयमा गरेको टिप्पणीप्रति पनि प्रचण्ड असन्तुष्ट हुनुहुन्छ,’ एक स्थायी कमिटीका सदस्यले  भने, ‘जसका कारण दुवै नेताबीच अविश्वास र असन्तुष्टि बढेको छ।’ ती स्थायी सदस्यकाअनुसार सचिवालयका बैठकमा प्रधानमन्त्रीले भेनेजुएला विज्ञप्तिले अमेरिकी तथा युरोपेली युनियनले शान्ति प्रक्रियामा दाहाललाई अफ्ठ्यारोमा पार्ने सक्ने बताएका थिए।

‘त्यसदिनको प्रधानमन्त्रीको अभिव्यक्ति प्रचण्डलाई त्यस संकटबाट पार लगाउने मैले मात्रै सक्छु भन्ने खालको थियो’, ती सदस्यले भने, ‘त्यो अभिव्यक्तिले प्रचण्डलाई शान्ति प्रक्रियाको विषय पार्टीभित्र आफूलाई साइजमा ल्याउन प्रयोग गरिने त होइन भन्ने परेको छ।’ तर त्यसदिन सचिवालयले प्रचण्डकै लाइनमा विज्ञप्ति जारी गरेपनि त्यसका भाषा प्रचण्डले जारी गरेको विज्ञप्तिभन्दा नरम खालको थियो।

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको डावोसमा विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन गएको समयमा प्रचण्डले साम्राज्यवादी हस्ताक्षेप गरेर सत्ता परिवर्तन गर्न लागेको भन्दै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको पक्षमा विज्ञप्ति जारी गरेका थिए। प्रचण्डका सो विज्ञप्ति प्रधानमन्त्री ओलीसँग परामर्श नगरी आएको यसअघि नै सार्वजनिक भएको थियो। प्रचण्डको विज्ञप्तिले आफूलाई अफ्ठ्यारो पार्न काम भएको प्रधानमन्त्री ओलीको बुझाइ छ।

विज्ञप्ति आउनुभन्दा अगाडि पनि पार्टी राम्रोसँग सञ्चालन हुन नसकेको र सरकारले एकलौटी रुपमा निर्णयहरु गरेको भन्दै दाहाल ओलीसँग असन्तुष्ट थिए।

‘पार्टी राम्रोसँग सञ्चालन हुनसकेको छैन। सरकारले एकलौटी रुपमा र कसैसँग परामर्श नगरी एक्लै भाकाभक निर्णय गर्दै आएको छ’, नाम नबताउने सर्तमा अर्का एकस्थायी कमिटीका सदस्यले भने, ‘प्रचण्डलाई न पार्टी भयो न त सरकार नै। त्यसैको असन्तुष्टि प्रचण्डमा पहिल्यै देखिनै थियो। अहिले त्यो बाहिर आएको मात्रै हो।’

विश्व आर्थिक मञ्चका बैठकमा भाग लिन स्वीट्जरल्यान्ड जानुअघि विभिन्नि संवैधानिक निकायका प्रमुख नियुक्ति पनि ओलीले एकल रुपमा गरेका थिए।

ओलीको काम गर्ने शैलीबाट सन्तुष्ट नभए पनि सचिवालयका अन्य सदस्यहरुले जस्तै तत्काल सार्वजनिक रुपमा विरोध जाने मनस्थितिमा प्रचण्ड नभएको उनी बताउँछन्।

सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले यसअघि नै प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति देखिने गरि असन्तुष्टि व्यक्त गर्दै आएका छन्। दूरीका हिसाबले नजिक रहे पनि पछिल्लो समयमा भेनेजुएला र शान्ति प्रक्रियाको बाँकी कामको विषयले ओली र प्रचण्डबीच दूरी बढाएको हो।

यता प्रचण्डप्रति पनि ओलीको आविश्वास र असन्तुष्टि दुवै रहेको छ। आफू स्वीट्जरल्यान्डको भएको समयमा सचिवालयका बहुमत सदस्यले झम्सिखेलमा गोप्य बैठक गरेपछि ओली झस्किएका हुन्। सो बैठकका विषयमा जानकारी पाएका ओलीले प्रचण्डसँग ‘मलाई हटाउन लागेको हो?’ भनेर प्रश्नसमेत गरेका थिए। झम्सिखेल बैठकमा पहिलो चरणमा आफूविरुद्ध केन्द्रीय कमिटीमा बहुमत पु¥याउने र दोस्रो चरणमा संसदीय दलका नेताबाट हटाउने सूचना प्राप्त गरेको ओलीले आफू निकटका नेताहरुको बैठकमा जानकारी गराएका थिए। प्रचण्ड सहमत भए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सबैतिर ओलीको विपक्षमा बहुमत पुग्छ।

दुई अध्यक्षबीच बढेको अविश्वास र असन्तुष्टिले पार्टी एकीकरणका बाँकी कामलाई जटिलता थाप्ने छ नै त्यसले सरकारको प्रभावकारी सञ्चालनमा समेत गम्भीर असर पार्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्