अरुण बराल/२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो ।

पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न थालिएको छ । दुई नेतावीच खटपट सुरु भएको खबरले कतिपयलाई खुशी तुल्याएको छ भने कतिपयमा चिन्ता बढेको छ ।

‘ओली-प्रचण्ड रिलेसन’ का अन्य पाटा पक्षलाई विश्लेषण नगरी केवल ‘भेनेजुएला प्रकरण’ का रुपमा मात्रै यो अन्तरविरोधलाई व्याख्या गर्नुचाहिँ ‘कस्मेटिक’ बुझाइ हो ।

खटपटका बाहिरी संकेतहरु

ओली र प्रचण्डवीच खटपट सुरु भएकै हो त ? सबैभन्दा पहिले यो प्रश्नमाथि विमर्श गरौं । अझ, यो प्रश्नमाथि विमर्श गर्नुभन्दा पहिले ती परिघटनाको चर्चा गरौं, जसलाई ओली-प्रचण्ड अन्तरविरोधको ‘प्रतिविम्ब’ मानिँदैछ ।

१. प्रचण्डको वक्तव्य- प्रधानमन्त्री ओली डावोस बैठकमै रहेका बेला प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गर्दै वक्तव्य निकाले । के यो वक्तव्य ओलीको शेखी झार्नकै लागि थियो ? पार्टीभित्र छलफलै नगरी वक्तव्य निकालिएको थियो ? अनि यो वक्तव्यले ओलीलाई असहज परिस्थितिमा पुर्‍याएकै हो त ? प्रचण्डको वक्तव्यबारे केपी ओली असहमत नै बनेका हुन् त ? प्रचण्डको जनवरी २५ को वक्तव्यले यस्ता विविध प्रश्नहरु उब्जाएका छन् ।

प्रधानमन्त्री स्वीटजरल्याण्डबाट नेपाल फर्किँदा उनलाई विमानस्थलमै पत्रकारले भेनेजुएला प्रकरणमा प्रचण्डबाट जारी वक्तव्यबारे प्रश्न सोधेका थिए । तर, ‘भट्टराई लडेर घाइते’ भन्ने टुक्का जोड्दै प्रधानमन्त्री यो प्रश्नबाट पन्छिए । उनले प्रचण्डलाई कुनै दोषारोपण गरेनन्, बरु ‘म भर्खर त आउँदैछु, यसबारेमा बुझ्छु’ मात्रै भने ।

अन्ततः प्रधानमन्त्री ओली नेपाल आएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट अर्को सफ्ट विज्ञप्ति जारी गरियो र प्रचण्डको वक्तव्यलाई नै सरकारले सदर गरिदियो । सरकारको यो कदमबाट प्रचण्डले थप उत्साही बने । अर्कोतर्फ, अमेरिकी राजदूत रिसाएर सरकारले बोलाएको ब्रिफिङमै आएनन् ।

२. ‘चिप्लिएको’ कुरा – यसैवीच प्रधानमन्त्री ओली र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बालुवाटारमा भेट भयो । सो भेटमा प्रधानमन्त्री ओलीले ‘भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य चिप्लिएको‘ व्याख्या गरेको समाचार बाहिर आयो ।

प्रधानमन्त्रीको यस्तो भनाइ बाहिर आइसकेपछि सरकारले दोस्रो वक्तव्य निकालेर मथ्थर पारिसकेको भेनेजुएला प्रकरणमा फेरि ओली-प्रचण्डवीच बातयुद्ध सुरु भएजस्तो देखियो ।

प्रधानमन्त्रीले भेनेजुएलाबारे प्रचण्ड चिप्लिएको प्रतिक्रिया दिनासाथ अध्यक्ष प्रचण्डले सार्वजनिकरुपबाटै जवाफ फर्काए । भेनेजुएला प्रकरणमा पार्टीको सचिवालयले वक्तव्य निकालिसक्यो, व्यक्तिको विचारको कुनै अर्थ छैन भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि सार्वजनिक रुपमै कटाक्ष गरे ।

३. प्रचण्डको अर्को प्रहार- अध्यक्ष प्रचण्डले आफूलाई यतिमा मात्रै सीमित राखेनन् । उनले अर्को एक सार्वजनिक कार्यक्रममा यो पनि भने कि पुरानै तरिकाले चल्न खोज्ने हो भने अर्को माओवादी जन्मिन्छ । ठूलो लडाइँ हुन्छ ।

यसरी एकपछि अर्को गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीमाथि प्रहार गर्न थालेपछि र सार्वजनिकरुपमै भनाभन बाहिर आउन थालिसकेपछि नै नेकपाका दुई अध्यक्षवीच अन्तरविरोध बढेको अनुमान लगाउन थालिएको हो ।

हुन त यसवीचमा प्रचण्ड र ओलीवीच ‘गोप्य’ छलफलसमेत भैसकेको छ । तथापि, पछिल्लो राजनीतिक परिघटना र भनाभनले दुई अध्यक्षवीच खटपट बढेकै छैन भनेर ढुक्क हुन सकिने अवस्था पनि छैन ।

‘भेनेजुएला प्रकरण’ बाहाना मात्रै

नेकपाभित्र र बाहिरका कतिपय मानिसको बुझाइ के देखिन्छ भने ओली र प्रचण्डवीच भेनेजुएलाकै कारण अन्तरविरोध बढेको हो । र, भेनेजुएलालाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नताकै कारण ओली- प्रचण्डवीच खटपट पर्न थालेको हो । तर, यो पूर्ण सत्य होइन । ‘भेनेजुएला’ त एउटा निमित्त कारक मात्र हो । ओली प्रचण्डको अन्तरविरोधको अन्तर्यमा अर्कै रहस्यले बढी काम गरिरहेको देख्न सकिन्छ । तर, यो अन्तरविरोध तत्काल धेरै तन्किने चाहिँ देखिँदैन ।

कम्युनिष्टहरुको एउटा खराब आदत हुन्छ, जसलाई गैरकम्युनिष्टले सजिलै देख्न वा पर्गेल्न सक्दैनन् । कम्युनिष्टले जे विषयमा विवाद गरिरहेका हुन्छन्, त्यो उनीहरुको रुप पक्षमात्रै हुन्छ, सार पक्षमा अर्कै विषय हुन्छ । भन्नैलाई कम्युनिष्टहरु ‘रुप र सार’ को द्वन्द्वको कुरो गर्छन् ।

कम्युनिष्टहरुको यही भाष्यका आधारमा के भन्न सकिन्छ भने ‘भेनेजुएला प्रकरण’ रुप पक्षमात्रै हो । प्रचण्ड र ओलीवीच अन्तरविरोध बढेकै हो भने त्यसको सार पक्ष घरेलु विषयसँगै सम्बन्धित छ । भेनेजुएला त बाहना मात्रै हो ।

विगतमा माओकी कान्छी श्रीमती च्याङ चिङलाई हेर्ने विषयमा नेपालका कम्युनिष्टवीच विवाद भयो । श्रीलंकाको तामिललाई कसरी हेर्ने भन्ने विषयलाई बाहाना बनाएर प्रचण्ड र मोहनविक्रम सिंहले ०४२ सालमा पार्टी फुटाए । ०५१/०५२ सालमा ‘माओवाद’ मान्ने कि नमान्ने भन्ने बाहनामा प्रचण्ड र नारायणकाजीको पार्टी फुटेको इतिहास छ ।

अहिले पनि विदेशकै विषयमा, अर्थात् ‘भेनेजुएलाको विषयमा विवाद भयो’ भनिँदैछ । तर, अन्तर्यमा चाहिँ विगतको जस्तै नेताहरुको जुँगाकै लडाइँले काम गरेको छ । प्रचण्ड र ओलीवीचको यदि अन्तरविरोध बढेकै हो भने पनि यो एक प्रकारको जुँगाकै लडाइँ हो ।

ओली र प्रचण्ड दुबै अप्ठ्यारोमा

प्रचण्ड र ओलीवीचको अन्तरविरोधको अन्तर्यबारे चर्चा गरिरहँदा दुबै नेताले भोगिरहेको अप्ठ्यारो र संकटको पनि चर्चा गर्न आवश्यक छ । अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका ओली र पार्टीको कुर्सीमा रहेका प्रचण्ड दुबै संकटमा फसेका छन् ।

१. ओलीको अप्ठ्यारोः सरकार गठनको एक वर्ष पुग्दै गर्दा प्रधानमन्त्री ओली विकास र समृद्धिका लागि विदेशी लगानी भित्र्याउने हुटहुटीमा छन् । ठूला विकासका आयोजना अगाडि बढाउनका लागि विदेशी लगानीकर्तालाई आकषिर्त गर्नुपर्ने र दाता राष्ट्रहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको बाध्यता छ ।

यही बाध्यतामा परेर प्रधानमन्त्रीले एकनाथ ढकाल र माधव नेपालका कुरा सुनेर एशिया प्यासिफिक सम्मेलनलाई सहयोग गरे । तर, त्यसले लगानीकर्तालाई आकर्षित गर्नुभन्दा पनि अन्तरराष्ट्रिय सम्बन्धलाई गिजोल्ने उल्टो काम गरिदियो । राम्रो परिणाम दिएन ।

लगानीकर्ताहरुलाई आकषिर्त गर्न सकिन्छ कि भन्ने ठानेर प्रधानमन्त्री ओलीले डाबोस फोरममा सहभागिता जनाए । तर, त्यो फोरमको सहभागिताले नत पश्चिमालाई आकर्षित गर्न सक्यो, न त लगानी नै भित्र्याउने गरी तत्काल फल प्राप्त भयो । यसको विपरीत, सो बैठकको सहभागिताले चीनलाई चिढ्याएको बुझाइ नेकपाकै नेताले गर्न थाले ।

प्रधानमन्त्री ओलीले यसवीचमा भारत र चीनका साथै नेपालको महत्वपूर्ण दाता राष्ट्र रहेको अमेरिकासँग पनि सम्बन्ध सुधार्ने प्रयास नगरेका होइनन् । परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणले ओलीको प्रयासलाई एक कदम अगाडि बढाउन खोजेको थियो । तर, अमेरिकाको इण्डोप्यासिफिक रणनीतिमा नेपाल पर्न लागेको प्रचार भयो र यसले उत्तरी छिमेकीलाई असर पार्‍यो भन्ने विश्लेषण नेकपाभित्रै हुने थाल्यो ।

अन्ततः भेनेजुएला प्रकरणसम्म आइपुग्दा एउटा ठूलो दाता राष्ट्र (अमेरिका ) सँगको सम्बन्ध पनि बिगि्रएको अवस्थामा पुगेको छ । यसमा नेकपामै नेताहरुको योगदान छ भन्ने कुरा त बलराम बास्कोटाको भेनेजुएला भ्रमण र प्रचण्डले निकालेको वक्तव्यसम्म आइपुग्दा प्रष्टै छ । यसमा छिमेकी राष्ट्रले पनि पम्म दिएको अनुमान एकथरिले लगाउँदै आएका छन् ।

आगामी मार्चमा सरकारले काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । आउँदो जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि महत्वाकांक्षी बजेट बनाउनुपर्ने ओली सरकारको बाध्यता छ । चालु आर्थिक वर्षको पछिल्लो चौमासिक अवधिमा बजेटको कार्यान्वयन बाँकी नै छ । यो अवस्थामा सरकारले आगामी वर्षको खर्च कसरी जुटाउने र समृद्धिको योजना कसरी अघि बढाउने भन्ने हुटहुटी प्रधानमन्त्री ओलीमा देखिनु स्वाभाविकै हो । किनभने, रित्तो ढिकुटीको साँचो बोकेर आगामी तीन/चार वर्षमा धेरै काम गर्न सकिन्न भन्ने प्रधानमन्त्री ओलीलाई पक्कै थाहा छ ।

‘पूर्वमाओवादी’ नामको घोडा एकाएक हिनहिनाउन थालेपछि यो घोडा बुरुक्क उफ्रिरने पो हो कि भन्ने डर प्रधानमन्त्री ओलीभित्र पलाउन थालेको छ
तर, नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भने मुलुकको ढुकुटीको दयनीय स्थितिप्रति ओलीलाई जति चासो र चिन्ता नदेखिएको ओली पक्षका नेकपा नेताहरुको आरोप छ । देशमा विदेशी लगानीको वातावरण बनाउनका लागि सरकारले प्रयास गरिरहेकै बेला विभिन्न तरिकाले भाँड्ने र आगामी मार्चको लगानी सम्मेलन असफल बनाएर ओलीलाई असफल सावित गराउने प्रयास पार्टीभित्रैबाट सुरु भएको बुझाइ ओली पक्षका नेताहरुको छ ।

अन्ततः विदेशी लगानी जुटाउने र देश विकासमा अन्तरराष्ट्रिय समुदायलाई आकषिर्त गर्ने ओली सरकारको योजना आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण अवरुद्ध हुने अवस्थामा पुगेको छ । यो अप्ठ्यारोबाट पार तर्ने हो भने अब प्रधानमन्त्री ओलीले प्रचण्डसँग मिलेर, उनलाई कन्भिन्स गरेरै अगाडि बढनुको विकल्प देखिँदैन ।
तर, प्रधानमन्त्री ओलीको कुर्सीमाथि अर्को खतराको घण्टी पनि सधैं पार्टीभित्रैबाट झुण्डिइरहेको छ । त्यो हो- वामदेव गौतम, झलनाथ खनाल र माधव नेपालहरु प्रचण्डसँग मिल्ने हुन् कि भन्ने डर ।

नेकपाभित्र बलियो मानिएको माधव नेपाल समूह र प्रचण्डसमूह आपसमा मिले भने पार्टीले ओलीलाई फिर्ता बोलाउने वा संसदीय दलबाट हटाएर नैतिक संकटमा पार्ने डर प्रधानमन्त्री ओलीको छैठौं इन्द्रीयले महसुस गर्न थालेको पछिल्ला परिघटनाबाट अनुमान लगाउन सकिन्छ ।

ओलीसँग टक्कर लिनेबारे प्रचण्डले तत्कालै कुनै निर्णय नगर्नेमा ढुक्का हुन सकिएला, तर पूर्वएमालेभित्रको अन्तरविरोधमा प्रचण्ड पनि प्रयोग हुने पो हुन् कि भन्ने डर ओलीको कित्तामा बढ्दै जान थालेको छ ।

एकातिर देशमा लगानी भित्र्याउने वातावरण बिगारेर सरकारलाई कमजोर बनाउने, अनि अर्कातिर पार्टीभित्रै गुटबन्दी गरेर प्रधानमन्त्रीलाई सफल हुन नदिने चलखेल कतै न कतैबाट भइरहेको ओली पक्षमा त्रास देखिन थालेको छ । भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्ध बिगारेर सरकारलाई असफल पार्ने भित्री खेलहरु हुन थालेको सत्ता पक्षका नेताहरुले बताउन थालिसकेका छन् ।

हुनत प्रचण्ड निकै नै अप्ठ्यारा र परिवर्तनशील नेता हुन् भन्ने कुरा केपी ओलीलाई निर्वाचनअघि वाम गठबन्धन बनाउने बेलामै राम्रोसित थाहा थियो । तर, चुनावमा कांग्रेसलाई साइजमा राख्न र आफ्नो दलको बहुमत सुनिश्चित गर्न ओलीले प्रचण्ड नामको ‘अप्ठ्यारो घोडा’ चढेर हिँड्ने नीति लिन बाध्य भए । यही कारणले आज उनी बहुमतका साथ प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

ओली सरकार असफल हुँदा प्रचण्डलाई मालामाल फाइदा हुन्छ भन्ने स्थिति देखिँदैन । प्रधानमन्त्री ओली अप्ठ्यारोमा छन् । तर, प्रचण्ड झनै अक्करमा छन् तर, यतिबेला ‘पूर्वमाओवादी’ नामको घोडा एकाएक हिनहिनाउन थालेपछि यो घोडा बुरुक्क उफ्रिने पो हो कि भन्ने डर प्रधानमन्त्री ओलीभित्र पलाउन थालेको छ ।

एमाले र माओवादीवीच पार्टी एकता हुँदै गर्दा एमालेभित्रको माधव-वामदेव-झलनाथ समूहले प्रचण्डको साथ पाउने अपेक्षा गरेको थियो । तर, ओलीले उनीहरुलाई काउन्टर गरेर प्रचण्डलाई आफ्नो साथमा लिएर चल्न सकिने जोखिम मोले । अहिले त्यही जोखिमको ‘साइड इफेक्ट’ ओली समूहले महसुस गर्न थालेको छ ।

ओलीलाई असफल पार्न विपक्षीहरु त लागेका छन् नै, स्वयं नेकपाभित्रैको गैरसंस्थापन पक्षले पनि सरकारलाई सजिलो वातावरण बनाइरहेको छैन । यसमा ओलीको कार्यशैली नै जिम्मेवार रहेको बझाइ प्रचण्ड- माधव- झलनाथ- वामदेव समूहको छ ।

२. प्रचण्ड पनि संकटमा : ओली सरकार असफल हुँदा प्रचण्डलाई मालामाल फाइदा हुन्छ भन्ने स्थिति देखिँदैन । प्रधानमन्त्री ओली अप्ठ्यारोमा छन् । तर, प्रचण्ड झनै अक्करमा छन् ।

अमेरिका र पश्चिमी देशहरुसँगको सम्बन्ध ओलीको भन्दा प्रचण्डको बढ्ता खराब छ । भारतले आफूलाई ओलीलाई भन्दा बढी विश्वास गर्छ भन्ने प्रचण्डले ठानेका छन् । तर, उनी आफूलाई चीनको पनि प्यारो बनाइराख्न चाहन्छन् । प्रचण्डको यो नीतिलाई सन्तुलित सम्बन्ध भन्दा पनि अस्थिरताका रुपमा भारत र चीन दुबैले बुझ्ने गरेका छन् ।

यो स्थितिमा ओलीसँगको खटपटलाई चर्काउँदै लगेर वामदेव गौतमहरु समेतको सहयोगमा प्रचण्ड आफैं प्रधानमन्त्री बने भने देशको समस्या समाधान होला त ? त्यो अवस्थामा नेकपाले अरु बढी काम गर्न सक्ला ? दुई नेताको अन्तरविरोध तन्किँदै गयो भने यस्ता प्रश्नहरुको पनि सामना गर्नुपर्ने हुन सक्छ ।

तर, ओलीको ठाउँमा प्रचण्ड आए भने पश्चिमा देशका दाताहरुले झनै पीठ फर्काउन सक्छन् । भेनेजुएला प्रकरणमा जस्तै प्रचण्डले क्रान्तिकारिता देखाए भने त झनै नेपालको अन्तरराष्ट्रिय छवि रुस र चीनको धुरीमा पुग्न सक्छ । त्यो अवस्थामा भारतसँगको सम्बन्ध राम्रो बन्ने वा नेपालमा विदेशी सहयोग बढ्ने अपेक्षा गर्न सकिँदैन । ओली सरकारले अहिले जसरी विदेशी सहायता जुटाउन सकिरहेको छैन, प्रचण्ड आउँदा यो समस्या झन चुलिन सक्छ ।

योभन्दा अर्को खतरनाक कुरा के छ भने शान्ति प्रक्रियाको विषयलाई लिएर करिब चार सय माओवादी नेताहरुको मुद्दा विदेशमा पुगेका छन् । ती मुद्दाका साथै अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियालाई लिएर थप प्रश्न उठाउने र माओवादी नेताहरु विदेश जाँदा थुनिनुपर्ने स्थिति पनि आउन सक्छ । यो परिस्थितिमा ओलीको विकल्प प्रचण्ड बन्न सक्दैनन् ।

यसर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी जुटाउने सवाल अनि द्वन्द्वकालीन मुद्दाको निरुपण लगायतका समस्याका कारण प्रचण्ड पनि संकटमै छन् । यो स्थितिमा उनले केपी ओलीलाई असफल बनाएर आफू सफल हुने सोच्छन् या ओलीलाई सफल बनाउँदा आफ्नो पनि राजनीतिक भविश्य सुरक्षित हुने ठान्छन् ? प्रचण्ड अगाडि तेर्सिएको यक्ष प्रश्न हो यो ।

कमसेकम केपी ओलीलाई प्रचण्डको यो अप्ठ्यारो थाहा छ । त्यसैले उनी प्रचण्डको यही कमजोरीमा खेलेर भए पनि प्रचण्डलाई आफ्नै ‘ग्रीप’ मा राखिराख्न चाहन्छन् । ओलीको साथमा रहँदा प्रचण्डले सन्तुष्टि नै नभएता पनि एक हदसम्म सुरक्षित महसुस गरिरहेका छन् ।

प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा मिसाउनुको कारण पनि यही आत्मसुरक्षाको मनोविज्ञानले गर्दा नै हो । चुनावमा एमालेसँग नमिलेको भए तत्कालीन माओवादी ४/५ सीटमा खुम्चने खतरा थियो । पार्टी कमजोर भएपछि द्वन्द्वकालीन मुद्दाहरु ब्युँतने र जेल जानुपर्ने स्थिति पनि आउन सक्थ्यो भन्ने प्रचण्डलगायतका नेताहरुलाई राम्रैसित थाहा थियो । माओवादी नेताहरुलाई जनयुद्धले सुम्पेको भवितव्य नै यही हो भन्दा फरक नपर्ला ।

लोग्ने स्वास्नीको झगडा !

प्रधानमन्त्री ओलीसँग प्रचण्ड रिसाउनुको मूल कारण भेनेजुएला प्रकरण होइन, आन्तरिक राजनीतिमा ओलीले आफूसँग सरसल्लाह गरेनन् भन्ने प्रचण्डको असन्तुष्टि हुन सक्छ ।

नेकपाको कार्यकदलमा, पार्टीभित्रको पदीय बाँडफाँटमा अनि सरकारले गर्ने कतिपय नियुक्तिहरुमा प्रचण्डले आफ्नो स्पेस खोजेर असन्तुष्टि जनाएका हुन सक्छन् । यसमा भेनेजुएला प्रकरण र कतिपय कानूनहरु पुरानैखालका बनाइए भन्ने प्रचण्डको गुनासोभित्र सोही स्पेसको खोजी हुन सक्छ ।

अन्यथा, साम्राज्यवादीसँग लड्न सकिँदैन भनेर जनयुद्ध बिसाएका प्रचण्डले भेनेजुएलाकै बाहना बनाएर राष्ट्रिय मुक्ति युद्ध लड्ने पक्षमा अडान राख्छन् भनेर अनुमान गर्न सकिँदैन । साम्राज्यवादीसँग सम्झौता गर्ने नीतिमै प्रचण्डसमेत उभिएका छन् भन्ने कुरा विगतदेखि नै स्पष्ट छ । यसमा ओली र प्रचण्डको ‘लाइन’ फरक छैन ।
राजनीतिक लाइन, र अन्य धेरै स्वार्थहरुमा ओली र प्रचण्डवीच राम्रो मिलिभगत छ । उनीहरुको मिल्ती नभएको भए पार्टी एकता नै हुने थिएन ।

त्यसैले, कतिपय भाषणहरुमा छेडखानी चले पनि नेकपाका यी दुई अध्यक्षवीचको गठबन्धन कमसेकम तल्कालै तोडिने संकेत देखिन्न । तत्काल सम्बन्ध टुटाइयो भने दुबै पक्षलाई के कस्तो घाटा पर्छ भन्ने कुरा पक्कै पनि ओली र प्रचण्ड दुबैले आँकलन गरेकै हुनुपर्छ ।

आम जनसमुदाय र नागरिक समाजले पनि अहिले राजनीतिक अस्थिरता चाहेका छैनन् । बहुमत दिएको सरकारले जनतालाई सुशासन र विकास देओस् भन्ने जनचाहना स्वाभाविक देखिन्छ । अहिले जनताले प्रधानमन्त्री फेर्ने भन्दा पनि जनताले देशको मुहार फेरियोस् भन्ने चाहेका छन् । वर्षैपिच्छे प्रधानमन्त्री फेर्ने परिपाटीले देशलाई स्थितरता र विकास दिन सक्दैन । शायद प्रचण्डले पनि यो कुरा राम्रोसँग बुझेका छन् ।

प्रचण्ड र ओलीका वीचमा आएको खटपट ‘एकता-संघर्ष-एकता’ कै बाटोमा अघि बढ्ने देखिन्छ, ‘संघर्ष- एकता-संघर्ष’ को बाटोमा होइन ।

अर्को माओवादी जन्मने कुरा नि ?

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘अर्को माओवादी जन्मन सक्छ र झन ठूलो लडाइँ हुन सक्छ’ भनेकोमा धेरै मानिसहरु झस्किएका छन् । के प्रचण्डले नेकपाबाट फुटेर फेरि आफ्नै नेतृत्वमा अर्को माओवादी जन्मन्छ भन्न खोजेका हुन् ? अब नेकपा फुट्छ व फुटाइन्छ भन्न खोजेका हुन् ?

प्रचण्डले अर्को माओवादी जन्मन्छ र ठूलो लडाइँ हुन्छ भने पनि उनी आफैंले अब त्यस्तो माओवादी जन्माउने परिस्थिति छैन । त्यो स्थिति हुने भए उनले आफ्नो पार्टीलाई एमालेमा मिसाउने नै थिएनन् ।

यहाँनेर अर्को महत्वपूर्ण पक्ष के पनि छ भने प्रचण्ड र ओलीवीच कुनै सैद्धान्तिक-वैचारिक मतभेद भएको भए त पार्टी एकता नै हुने थिएन ।

प्रचण्डले कदाचित् अर्को पार्टी बनाइहाले भने उनको स्थिति मोहन वैद्यको भन्दा पनि खराब हुन सक्छ । शक्तिहीन भएर पनि वैचारिक अडान राखेर वैद्यले जसरी बस्न सक्ने धैर्यता प्रचण्डसँग छैन ।

प्रचण्डले अब यो उमेरमा आएर विप्लवले जसरी अर्को लडाइँको तयारी गर्ने सम्भावना पनि छैन । त्यस्तो लडाइँले देश र जनतालाई पार तार्न पनि सक्दैन ।

त्यसर्थ, प्रचण्डले अर्को माओवादी जन्मिन्छ भनिहाले पनि त्यो ‘अर्को माओवादी’ को नेता सम्भवतः अर्कै नै हुने छ, उनी आफैं होइनन् ।

बरु, देशको स्थिति राम्रो भएन र सरकारले राम्रो काम गर्न सकेन अनि पुरानै ढंगबाट चल्न खोज्यो भने देशमा अर्को अस्थिरता हिंसा र बितण्डा आउन सक्छ भनेर प्रचण्डले खबरदारीसम्म गरेको हुनुपर्छ, जुन स्वाभाविकै खबरदारी हो ।

तर, प्रचण्डले नै अब अर्को माओवादी जन्माउन लागे कि भनेर आत्तिने वा उत्तेजित हुने दुबै अवस्था देखिँदैन ।

बरु के देखिन्छ भने ओली र प्रचण्डको अन्तरविरोध श्रीमान-श्रीमतीको घरायसी झगडाजस्तै हो, यो मिल्छ । भोलि फेरि झगडा चल्छ, फेरि मिलाप हुन्छ । त्यतिबेलासम्म यस्तै असैद्धान्तिक झगडा भइरहन्छ, जतिबेलासम्म परिबन्दमा परेर बिहे गरेका दुई श्रीमान-श्रीमतीवीच पारपाचुके हुँदैन ।

श्रीमान-श्रीमतीको झगडामा अक्सर ‘डिभोर्स’ दिने चर्चा हुने गर्छ । अर्कोसित जाने, अर्की ल्याउने वा छुटि्टएर अलग्गै बस्ने चर्चा भइ नै रहन्छ ।

जति नै भनाभन गरे पनि आपसमा नमिलेसम्म ओली र प्रचण्ड दुबैलाई सुख छैन । जनताले बहुमत दिएर पठाएको पार्टी वीचैमा फुट्नु राम्रो पनि होइन । उनीहरुले एकतावद्ध भएर जनताको पक्षमा काम गर्नु नै सबैको हितमा छ ।

ओली र प्रचण्ड दुबैका लागि एकापसमा भागेर टाढासम्म जान सक्ने वस्तुगत र आत्मगत दुबै परिस्थिति छैन ।

अन्त्यमा, ‘अर्को माओवादी’ जन्मिने प्रचण्डको भनाइबारे गोपाल किरातीको रोचक एसएमएसबाट बीट मारौं-

प्रचण्डले अर्को माओवादी जन्मन सक्छ भनेको समाचार पढेपछि विद्रोही माओवादी गोपाल किरातीले यस्तो एसएमएस पठाए-

‘अर्को माओवादी जन्मन सक्ने समाचार पढियो । संसदीय दलमा बिलाएका कारण प्रचण्डबाट यो सम्भव छैन ।’

-अनलाइनखबरबाट साभार

प्रतिकृया दिनुहोस्