पर्वतको महाशिला गाउँपालिकाले शुरु गरेको एक घर एक रोजगार कार्यक्रममा सहभागी भएकाहरुले काम छोड्न थालेका छन् । ३ सय ७३ जना एकैपटक बिभिन्न बिद्यामा भर्ना भएकोमा अहिलेसम्म ५० जनाले काम छोडिसकेका एक स्रोतले जानकारी दिएको छ । भोक्सिङका १७ जना भर्ना भएकोमा सात जनाले काम छोडिसकेको वडा सदस्य रेशम मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार गाउँपालिकाले सीप, दक्षता र योग्यता नहेरी दामासाहि तरिकाले काममा लादेका कारण काम छोड्ने क्रम बढेको हो । विधुत जडान सम्बन्धि तालिम लिएका होश्राङ्दीका थमान थापाले बिद्युत सम्बन्धि कामका लागि आवेदन दिएपनि उहाँलाई पाईप जडान सम्बन्धी काममा लगाएपछि छोड्नुभएको जानकारी दिनुभयो । धेरै जसो सडकको काममा खटाईएकाले जागिर छाडेका हुन् । लुँखुका कमला कुश्मेली,बेलकुमारी नेपाली र राजन पन्तले पनि सडकमा खटाएपछि काम छोडेका हुन् ।

बेलकुमारी १० वर्षसम्म अनमी पदमा स्वास्थ्यचौकीहरुमा अस्थाई रुपमा काम गर्नुभएको थियो । गाउँमै रोजगारी खुलेपछि उहाँले त्यो काम छोडेर गाउँपालिकामा स्वयंसेवक बन्न आवेदन दिनुभयो । स्वास्थ्यचौकीमा काम गर्न ईच्छा जाहेर गरेर आवेदन दिनुभएकी बेलकुमारी सडक खन्ने काममा परेपछि जागिर छोडेको बताउनुहुन्छ । कमला कुश्मेलीले बिद्यालयका लागि आवेदन दिनुभएकोमा सडकमै पर्नुभयो । उहाँले पनि चित्त नवुझेपछि काम छोडेको जानकारी दिनुभयो । ‘मैले शिक्षकका लागि निवेदन दिएँ, सडकमा पारियो , कुश्मेलीले भन्नुभयो,‘ अध्यक्षलाई कुरा गर्दा नसुनेपछि काम नै छोडे ।’

दैनिक रुपमा रोजगारी छोड्ने बढ्दै गएपछि एक घर एक रोजगार कार्यक्रम बिबादीत बन्दै गएको स्थानीयहरुले बताउने गरेका छन् । गाउँपालिकाले अपाङग, असक्त र महिलाहरुलाई प्राथमिकता दिने भन्ने मापदण्ड बनाएपनि उक्त मापदण्ड मिचेको जागिर छाडेकाहरुले बताएका छन् । राजन पन्त ब्रेन टयूमरको अप्रेशन गरेका व्याक्ति हुनुहुन्छ । मानसिक रुपमा अशक्त राजनले बिद्यालयमा पियन पदमा आवेदन दिएकोमा सडक खन्ने काममा परेपछि काम छोडेर अहिले नेष्डोको सम्पर्क कार्यलयमा काम थाल्नुभएको छ ।

फलामखानीका कमला सुनारले गाउँ स्वयंसेवकका लागि आबेदन दिनु भएको थियो । “हामी १५र२० जनाले गाउँ स्वयंसेवकका लागि आबेदन दिएको हो । पछि कुलो खन्ने काममा परियो“ किन यस्तो भयो हामी अन्योलमा छौं।“ उहाँले भन्नुभयो ।

गाउँपालिकामा तत्कालिन एमालेको नेतृत्वले एउटा वडाबाहेक सबै वडामा जित हासिल गरेको थियो । चुनावको बेला असहयोग गर्ने र अन्य पार्टिलाई मतदान गर्नेहरुलाई छानीछानी दुख दिएको समेत आरोप आउन थालेको छ । यस विषयमा गाउँपालिकाका अध्यक्ष राजु पौडेलसंग बुझ्दा आफुले कसैले काम छोडेको जानकारी नपाएको बताउनुभयो ।

आफुलाई कमजोर बनाउन यस्ता भ्रम फैलाइएको पौडेलले दावी गर्नुभयो । काम छाड्नेहरुले भने अध्यक्ष पौडेललाई जानकारी दिएरै काम छोडेको बताएका छन् । फरक मत राख्नेलाई भेदभाव गरेको बिरोध भैरहदा राजनीतिक रुपमा कसैलाई पनि विभेद नगरेको पौडेलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्