प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशी लगानी भित्रन नदिन र ‘नेपाल लगानी सम्मेलन’ भाँड्न खोज्ने तत्व सक्रिय भएको बताएका छन्।

सोमबार गृहमन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धि विरोधी तत्व सक्रिय बनेको र त्यसले जनतामा निराशा फैलाउने काम गरेको बताए। ‘जनअपेक्षा अनुसार सरकारले काम गर्न थालेपछि एउटा तत्व आत्तिएर जनतालाई निराश बनाउने बाटोमा लागेको छ’, उनले भने, ‘मुलुकलाई अन्धकारमा राखिरहन चाहने सो तत्वविरुद्ध एक भएर लड्ने बेला आएको छ।’

उनले सरकारले जनताको पक्षमा काम गर्ने आधार तयार गरेको भन्दै अब विकास र समृद्धिका यात्रा कसैले रोकेर नरोकिने दावी गरे। सरकारको विरोध गरेर जनतामा भ्रम छर्ने र जनतालाई निराश बनाउने काम भइरहेको भन्दै उनले त्यसतर्फ सजक रहन आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ्।

प्रतिकृया दिनुहोस्