कफी हामीमध्ये धेरैलाई मन पर्ने पेय पदार्थ हो। विशेष गरेर जाडो मौसममा यसको सेवन अत्याधिक मात्रामा हुने गरे पनि यो बाह्रै महिना सेवन गरिन्छ।

हामीले पिउने कफीले हाम्रो शरीरमा पु¥याउने फाइदा र बेफाइदाका बारेमा धेरै चर्चा हुने गरेको छ। कफीले निद्रा कम पर्ने, खाना अरुची हुने बाथ रोग निम्त्याउने र हृदयघातजस्तो गम्भीर समस्या समेत नित्याउन सक्ने चर्चा एकातिर गरिन्छ भने अर्कातिर मधुमेह, कलेजो र पेटको क्यान्सरबाट जोगाउनुका साथै यसको सवनबाट पित्तथैलीको पत्थरीबाट समेत बँच्न सकिने भन्दै यसका फाइदाका बारेमा पनि चर्चा गरिएको पाइन्छ।

केही अध्ययन र अनुसन्धानबाट पत्ता लागे अनुसार कफीका फाइदा र बेफाइदाहरू यसप्रकार छन्ः

कफीका फाइदा
– विश्वको सबैभन्दा धेरै कफी खपत हुने देश फिनल्यान्डका १४ हजार मानिसमा गरिएको परीक्षण अनुसार दिनको तीनदेखि चार कप कफी पिउने महिलामा मधुमेह हुने खतरा २९ प्रतिशतले र पुरुषमा २७ प्रतिशतले कम हुन्छ। खोजकर्ताका अनुसार कफीमा पाइने एन्टी अक्सिडेन्टले शरीरको तन्तुमा इन्सुलिन प्रवाह गर्न सहयोग गर्छ।
–जापानमा ९० हजार मानिसमा गरिएको सर्वेक्षण अनुसार १० वर्षसम्म हरेक दिन कफी पिउने मानिसमा कलेजोको क्यान्सरको खतरा आधा कम हुन्छ। त्यसैगरि जर्मनका वैज्ञानिकहरुले कफीमा मिथाइल पाइरिडिनियम नामक तत्व पत्ता लगाए, जसले पेटको क्यान्सरबाट बचाउन सक्ने इन्जाइमलाई बढाउँछ।
– खोजकर्ताहरुले ३० वर्षसम्म आठ हजार जापानी–अमेरिकी पुरुषहरुमा गरेको सर्वेक्षण अनुसार दिनको एक कप कफी पिउने व्यक्तिमा दिमागसँग सम्बन्धित रोग, पार्किन्सन लाग्ने खतरामा आधा कमी गराउँछ। क्याफिनले डोपामाइन उत्पन्न गराउँछ, जसले पार्किन्सन रोगीहरूको मानसिक अवस्थामा परिवर्तन ल्याउँछ।
–अमेरिकामा ४६ हजार पुरुषमा १० वर्षभन्दा बढी समयसम्म गरिएको सर्वेक्षण अनुसार दिनको दुईदेखि तीन कपसम्म कफी पिउने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने खतरामा ४० प्रतिशतले कमी आउँछ। क्याफिनले पत्थर हुनसक्ने तत्वलाई पित्तथैलीबाट बाहिर निकाल्न सहयोग गर्छ।

कफीका बेफाइदा 
– ग्रीसमा तीन हजार मानिसमा गरिएको सर्वेक्षण अनुसार कफी पिउने मानिसमा मुटुको रोग र हृदयघात गराउन सक्ने तत्वको मात्रामा वृद्धि हुन्छ। कोस्टारिकाका दुई हजार २८ व्यक्तिमा गरिएको अध्ययनमा दिनको दुई–तीन कप कफी पिउनेहरूमा हृदयघातको सम्भावना ३६ प्रतिशतले बढ्छ। तर हार्वडको अध्ययन अनुसार २० वर्ष उमेरका कफी पिउने व्यक्तिहरूमा मुटुसम्बन्धी कुनै समस्या देखिएको थिएन।

– फिनल्यान्डमा १९ हजार मान्छेहरूमा गरिएको अध्ययनमा चार कप वा त्यो भन्दा बढी कफी पिउनेहरूमा वाथ रोग लाग्ने सम्भावना दुई गुणाले बढ्छ। अनुसन्धानकर्ताहरूका अनुसार कफीमा अझै पनि केही अज्ञात तत्व छ, जसले रोग वृद्धि गराउँछ।
– क्यालिफोर्नियामा नौ सय ८० महिलामा महिनावारीपश्चात गरिएको अध्ययन अनुसार दिनमा दुई कप कफी पिउने महिलाहरूको हड्डीको घनत्वमा उल्लेखनीय कमी आउँछ। क्याफिनले मूत्रवद्र्धकको काम गर्छ र शरीरको क्याल्सियमलाई पिसावको माध्यमबाट फालिदिन्छ।

कफी लाभदायक कि हानिकारक?
साधारणतया धेरैका लागि बिहानीको एक कप कफी त्यस्तो हानिकारक हुँदैन। त्योभन्दा बढी पिउन धेरै फाइदाजनक हुँदैन। तर पनि सबैको शरीर एकैनाशको हुँदैन। त्यसैले क्याफिनलाई सहन सक्ने क्षमतामा पनि फरक हुनसक्छ किनकि क्याफिन पनि एकप्रकारको लागुपदार्थ नै हो।

आफ्नो शरीरको अवस्था र सहनशक्तिलाई हेरेर, बुझेर मात्रै कफीको सेवन गर्नु उत्तम हुन्छ।

प्रतिकृया दिनुहोस्