अहिले ‘प्रि–मेनोपज’को समस्या निकै बढिरहेको छ।

ललितपुरस्थित एक विद्यालयमा पढाउने शिक्षिका, ३१ वर्षीय आरती शाक्यको (नाम परिवर्तन) उमेर नै नपुगी महिनाबारी रोकियो। एक बच्चाकी आमा समेत रहेकी उनलाई ठीक समयमा नहुने महिनाबारीको बानी परिसकेका थियो। कहिलेकाहीँ महिनाबारीको समयमा घटबढ भइहाल्छ भन्दाभन्दै उनको तीन/चार महिना बित्यो। केही समयदेखि दुई/तीन महिनामा एक पटक मात्र हुने महिनाबारी छ महिनासम्म पनि नभएपछि उनी बल्ल जाँच गराउन अस्पताल गइन्। जाँचपछि उनलाई ‘प्रि–मेनोपज’ भएको थाहा भयो।

त्यस्तै एक बैंकमा कार्यरत कर्मचारी २९ वर्षीय एलिसा राई (नाम परिवर्तन)को पनि महिनाबारी रोकियो। बिहे भएको एक वर्ष नपुग्दै महिनाबारी रोकिएपछि परिवारमा खुसियाली छायो। महिनाबारी रोकिएपछि गर्भ बसेको आशंकामा उनी आफ्ना पतिका साथ जाँचको लागि अस्पताल गइन्। सम्पूर्ण जाँचपश्चात् आएको रिपोर्टपछि उनीहरु छाँगाबाट खसेजस्तै भए। ‘प्रि–मेनोपज’को समस्याका कारण उनको महिनाबारी रोकिएको रहेछ।

यी त सामान्य उदाहरण मात्र हुन्।

पाटन अस्पतालकी महिला तथा प्रसूति रोग विषेशज्ञ डा. विनिता प्रधानका अनुसार अहिले ‘प्रि–मेनोपज’को समस्या निकै बढिरहेको छ। धेरैलाई जानकारी नभएको यो विषयले केही महिलालाई आमा हुनबाट समेत वञ्चित गरेको छ।

डा. प्रधान भन्छिन्, ‘अचेलको खानपान, रहनसहन, वातावरणमा आएको परिवर्तनसँगै महिला स्वास्थ्य निकै जटिल बन्दै गइरहेको छ। वातावरण प्रदूषण, खानामा मिसावट, फलफूल र सागसब्जीमा हालिने विषादी आदिका कारण धेरै महिलाहरुमा पाठेघरको समस्या देखिन थालेको छ। नियमित महिनाबारी नहुने, एक महिनामा दुई पटकसम्म महिनाबारी हुने, तल्लो पेट र ढाड दुख्नेजस्ता समस्या धेरैमा देखिन थालेको छ।’

के हो ‘प्रि–मेनोपज’?
मेनोपज अर्थात् महिनाबारी रोकिनु शारीरिक परिवर्तन हो। सामान्यतया ४० देखि ५० वर्षको उमेरमा महिलाहरूको महिनाबारी रोकिने गर्छ। कसैकसैको भने ६० वर्ष पुग्दा समेत महिनाबारी रोकिँदैन। यसलाई पनि सामान्य रुपमा लिन सकिन्छ। तर ३० देखि ४० को उमेरमा नै महिनाबारी रोकिनुलाई ‘प्रि–मेनोपज’ अर्थात् समयअगावै महिनाबारी रोकिनु भनिन्छ।

महिलाहरूमा विशेषतः १४/१५ वर्षको उमेरदेखि ४५/५० वर्षसम्म महिनाबारी हुन्छ। तर केही महिलाहरूमा भने २८ देखि ३८ वर्षको बीचमा ‘ओबेरियन फेलिअर’ (डिम्बक्षय) हुन्छ र महिनाबारी रोकिन्छ। महिनाबारी रोकिएसँगै गर्भधारणको क्षमता पनि सकिन्छ। फरक–फरक उमेरमा हुनसक्ने ‘प्रि–मेनोपज’ छिट्टै भइदिएमा बच्चा नभएका महिलाहरुमा निकै ठूलो समस्या आउँछ।

कतिपय ‘मेडिकल ट्रिटमेन्ट’हरु केमोथेरापी, रेडिएसन थेरापी, सर्जरीलगायत वंशाणुगत रोग, टीबी र धूमपानका कारण ‘प्रि–मेनोपज’ हुनसक्छ।

‘प्रि–मेनोपज’को संकेत

अनियमित महिनाबारी
नियमित महिनाबारी नहुनु र महिनाबारीको समयमा कम वा धेरै रक्तस्राव हुनु पहिलो संकेत हो। महिनाबारीमा अनियमितता भएसँगै पाठेघरमा अण्डाको उत्पादन बन्द हुन्छ र विस्तारै डिम्ब निष्क्रिय हुन्छ।

धेरै गर्मी महसुस हुनु
कारणविना नै गर्मी हुनु, ज्वरो नआई शरीरको तापक्रम बढ्नु र एकैछिनमा चिसो महसुस हुनु अर्को लक्षण हो। यस्तो समयमा राति धेरै पसिना आउने, थकाइ लाग्ने पनि हुन्छ।

शारीरिक सम्पर्कमा इच्छा नहुनु
धेरै महिलामा मेनोपजको समयमा शारीरिक सम्पर्क गर्ने इच्छामा कमी आउने वा मन नै नलाग्ने हुन्छ। सम्पर्कको क्रममा पनि दुःखाइ र पीडा हुन्छ।

मुडमा परिवर्तन
हर्मोनमा आउने परिवर्तमा कारण चिन्ता, उदासी, तनाव र अवसाद हुन सक्छ। साथै मनोभावनामा अस्थिरता देखिन्छ।

पिसाब रोक्न नसक्नु
‘प्रि–मेनोपज’को समयमा पिसाब रोक्न सक्ने क्षमतामा कमी आउँछ। यो समयमा एकैछिनको लागि पिसाब रोक्नु पनि असम्भव नै हुन्छ।

यस्ता छन् उपाय
मेनोपज हुने सामान्य समयभन्दा पहिला नै मेनोपज भएको छ भने रोक्नको लागि त खासै केही गर्न सकिन्न। तर शारीरिक र मानसिक असरबाट बच्नको लागि भने केही उपाय अपनाउन सकिन्छ।

स्वस्थ खाना
पौष्टिक आहारको सेवनले शारीरिक र मानसिक रूपमा फाइदा पु¥याउँछ। आफ्नो खानामा क्याल्सियम र ‘भिटामिन डी’युक्त खाना समावेश गर्दा ठीक हुन्छ। हड्डीलाई बलियो राख्नको लागि दूधबाट बनेको खानेकुरा धेरै मात्रामा सेवन गर्नुपर्छ।

नियमित व्यायाम
नियमित व्यायाम गर्नाले अवसादसँग लड्न मद्दत मिल्छ। मेनोपजको कारण तौल बढ्नसक्छ। तौल नियन्त्रणमा राख्नको लागि पनि व्यायाम आवश्यक हुन्छ।

गर्मी गराउने खानाको सेवन नगरौँ
क्याफिन, रक्सी, मसलेदार खाना आदिको सेवन नगरौँ। यस्तो प्रकारको खानाले शरीरको तापक्रम वृद्धि गराई गर्मी गराउँछ।

अत्यधिक पानीको सेवन
मेनोपजका कारण छाला, कपाल र नङ सुख्खा हुन्छ। सुख्खापनबाट बच्नको लागि पानी र अन्य तरल पदार्थको सेवन अधिक मात्रामा गर्ने गर्नुपर्छ।

डा. प्रधानका अनुसार यदि तपाईँलाई ‘प्रि–मेनोपज’ भएको शङ्का लागेको छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ। जाँच गर्नका लागि, रगतको नमूनामा एस्ट्रोजनको मात्रा र एफएसएच परीक्षण गरिन्छ र डिम्बमा अण्डा बनिरहेको छ÷छैन पनि जाँच गरिन्छ। उक्त जाँचपश्चात्, अरु नै समस्या हो या ‘प्रि–मेनोपज’ हो भन्ने निक्र्योल गरिन्छ।

प्रतिकृया दिनुहोस्