दोलखामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कम्तीमा २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोको ब्युरो-११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस बिगु गाउँपालिका-१, लामाबगरको नयाँ बाटोमा बिहान ७ बजेतिर दुर्घटना भएको हो।

दोलखा जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई दिएको जानकारीअनुसार दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय दिनेश थापा र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३, खुदी तरापुका ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको छ।

चालकसहित २३ जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ। तर घाइतेकाे एकिन संख्या थाहा भइनसकेको पनि प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टरको व्यवस्था गरिएको दोलखा प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए। ‘अहिले घाइतेको नाम खुलिसकेको छैन, घटना हुनाको कारण पनि थाहा भइसकेको छैन, अुनसन्धान भइरहेको छ,’ उनले भने।

बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्