नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्रोही नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ दुवै गलत बाटोमा रहेको दावी गरेका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि पछिल्लो समय दुई पूर्वमाओवादी नेताबीच आरोप प्रत्यारोप र ज्यानमार्ने धम्कीसम्मका घटना सार्वजनिक भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

प्रचण्ड र विप्लव दुवै गलत बाटोमा भएको र दुवैले एकअर्कालाई संगीन आरोप लगाइरहेको भन्दै उनले यो समस्या व्यक्तिको नभएर विचारको भएको दावी गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पूर्व क प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ१ समस्या व्यक्तिको नभएर विचारको हो!’

 

उनले प्रचण्डले हिँडेको संसदीय कम्युनिज्म र विप्लवले हिँडेको उग्रपन्थी कम्युनिज्मको बाटो समस्याको जग भएको बताएका छन्। इतिहासले यी दुवै बाटोलाई गलत सावित गरिसकेको उनको दावी छ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई यसअधि नै पुरानो विचारबाट परिवर्तन सम्भव नभएको निष्कर्ष निकाल्दै माओवादीबाट बाहिरिएर नयाँ शक्ति पार्टी बनाएका छन्। उनले प्रचण्ड र विप्लवबीच देखिएको असमझदारीलाई नयाँ विचारबाट हल गर्न सकिने समेत उल्लेख गरेका छन्। ‘यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्मबीचको हो! इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ! खाँचो नयाँ विचारको हो!’ उनले ट्वीटमा भनेका छन्।

प्रतिकृया दिनुहोस्