बुधबारदेखि काठमाडौंमा राष्ट्रिय विकास परिषदको दुईदिने बैठक शुरु भएको छ । १५ औं योजनाको आधारपत्रलाई अन्तिम टुंगो लगाउने र २५ वर्षे विकास रणनीतिलाई अन्तिम रुप दिने उद्देश्यसहित आयोजना गरिएको बैठकको उदघाटन परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष ०७६/७७ देखि आर्थिक वर्ष ०८०/८१ सम्मको ५ वर्षे योजना मस्यौदामाथि यो बैठकले छलफल गर्नेछ र अन्तिम टुंगोका लागि सुझावहरुसहित मन्त्रिपरिषदमा पठाउने छ । साथै यो बैठकमा २५ वर्षीय दीर्घकालीन सोचका विषयहरुमा छलफल हुनेछन् ।

बैठकहरुमा प्रधानमन्त्री ओलीको लामो भाषण गर्ने बानी छ । सातै प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका सबै मन्त्रीहरु सहभागी हुने महत्वपूर्ण बैठकमा प्रधानमन्त्री ओली निकै लामो भाषणका साथ जमेर प्रस्तुत भए ।

‘आदरणीय मित्रहरु, मेरो अलिकति खुट्टाको समस्या भएको हुनाले यहीँ बसेरै बोल्ने विचार गरें, यसलाई साथीहरुले अन्यथा रुपमा लिनुहुने छैन भन्ने मैले ठानेको छु’ भन्दै प्रधानमन्त्री ओलीले गरेको सम्वोधन शब्दमा उतार्दा करिब ५ हजार शब्दको बन्न पुग्यो ।

प्रधानमन्त्री ओलीले रााष्ट्रिय विकास परिषदको बैठकलाई गरेको सम्वोधनको सम्पादित अंश उनकै शब्दमा–

हामी यतिबेला १५ औं पञ्चवर्षीय योजनाको तयारीमा छौं र त्यसका निम्ति आधार पत्र, मस्यौदामा छलफल गरिरहेका छौं । यसका केही खास अवस्थाहरु र परिस्थितिहरु छन् । यो १५औं आयोजना एक्लै १५औं वार्षिक पञ्चवर्षिय योजनाका रुपमा मात्रै छैन । यसले विसं २०९९ लाई कभर गरेर २१०० लाई छुने २५ वर्षको दीर्घकालीन सोच र योजनालाई पनि ध्यानमा राखेर त्यसको तयारीका रुपमा पनि आफूलाई प्रस्तुत गरेको छ ।

सँगसँगै, अर्थमन्त्रीजीले भन्नुभएजस्तै आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना, बजेटलाई पनि निर्देशित गर्ने वा प्रभावित गर्ने हिसाबले यो आधारपत्र आएको छ । यसमाथि विभिन्न कोणबाट टिप्पणी भएका छन् ।

मैले विश्वास लिएको छु, परिषदको यस बैठकमा जुन गरिमामय उपस्थिति छ, यस उपस्थितिले अत्यन्तै गम्भिरतापूर्वक सघन ढंगले यस आधारपत्र माथि छलफल गर्ने छ र यसलाई व्यवहारिक, अझ खदिलो र प्रभावकारी बनाउन भूमिका खेल्नेछ ।

अब देश अगाडि बढ्यो, हामी अनुकूल अवस्थामा छौं

हामी एउटा खास अवस्थामा छौं । हामी एउटा ठूलो सफल परिवर्तनपछि आर्थिक उन्नति र विकासको बाटोमा बेहिचक लाग्नुपर्ने अवस्थामा छौं । अब देश अगाडि बढ्यो । अब हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौं । यो कसैले भत्काउन, खोस्न सक्ने खालको कमजोर डेमोक्रेसी होइन । अधिकारसम्पन्न, सार्वभौमसत्तासम्पन्न जनतालाई रैती बनाउँछु भन्ने कसैले सपना देख्छ भने त्यो दुस्व:प्न ना हुनेछ । त्यस्ता सपना नदेख्न मैले विभिन्न समयमा त्यस्ता तत्वहरुलाई सुझाव पनि दिएको छु ।

अहिले एउटा अनुकुल स्थिति बनेको छ । राजनीतिक परिवर्तनको कारणले अनुकुल स्थिति बनेको छ । हामीसँग अब जनताले बनाएको, जनता सार्वभौमसत्तासम्पन्न भएको संविधान छ । त्यस्तो संविधानले परिकल्पना गरेका संघीय संरचनाहरु हामीसँग छन् । सबै तहका निर्वाचन भएर, सबै तहका सरकारहरु क्रियाशील छन् । यी सबै तहका सरकारहरु जनताको विश्वास जितेर बनेका सरकारहरु हुन् । यी जनताप्रति उत्तरदायी छन् । त्यसकारण आज अनुकुलता आज हामीलाई छ ।

कसैको पनि बहुमत नभएको, उचाल्ने पर्छाने कुराको खेतीबाट जनता वाक्क भएर बहुमतको सरकार बनाएका छन् । यो अनुकुलता छ र यसले राजनीतिक स्थायित्व प्रदान गरेको छ ।

त्यसमाथि, अब हिजोका संविधानसँग असहमतिका स्वरहरु समाप्त भएका छन् । संविधान नमान्ने खालका, पृथकतावाद जस्ता कुराहरु जो अत्यन्त भयावह विचार र प्रवृति हो राष्ट्रका लागि, त्यस्ता कुराहरु समाप्त भएका छन् । र, राष्ट्र अब एउटा संविधानअन्तरगत, संवैधानिक र शान्तिपूर्ण राजनैनीतिक मूल धारमा, राष्ट्रिय एकताको भावधारामा समाहित भएको छ ।

अब हामीले द्वन्द्व पनि व्यवस्थापन गरेका छौँ । प्रतिक्रियावादी शक्तिहरुलाई पराजित गरेका छौँ । शान्ति प्रक्रियालाई टुङ्गयाएका छौँ । अरु बाँकी होलान् तर टुङ्गयाएका छौँ र समस्याहरु समाधान गरेका छौँ । विगतका फाटोका प्रवृत्तिहरुलाई अस्वीकार गरेर, एकताको प्रवृत्तिहरु, समझदारीका प्रवृत्तिहरु र जिम्मेवार प्रवृृत्तिहरुतर्फ देश अगाडि बढेको छ ।

नेपाली समाजको चरित्र

आजको राष्ट्रिय राजनीतिको ट्रेन्ड, यद्यपि मान्छेहरुले यसलाई असन्तुष्टिको ट्रेन्ड बनाउन प्रयास नगरेका होइनन् । तर, आजको ट्रेन्ड सामाजिक असन्तुष्टिको ट्रेन्ड भन्दा अब निर्माणतर्फ केन्द्रित हुने ट्रेन्ड हो । अबको ट्रेन्ड भनेको राष्ट्रिय एकताको टे«न्ड हो । अबको ट्रेन्ड भनेको जाति जातिमा विभाजित हुने, गर्न खोज्ने प्रयासहरु जो थिए, ती असफल भइसके । विभिन्न ढंगले जहाँ–जहाँ भिन्नता छ त्यहाँ त्यहाँ–अन्तर विरोध पैदा गर्न खोज्ने प्रयासहरु थिए, ती असफल भइसके ।

अब राष्ट्रिय एकता हाम्रो आजको हाम्रो नेपाली समाजको चरित्र बनेको छ । नेपाली समाजको प्रवृत्ति बनेको छ आज । द्वन्द्व होइन शान्ति, फाटो होइन एकता, असन्तुष्टि होइन क्रियाशीलता यो आजको सामाजिक ट्रेन्ड बनेको छ । यो धेरै अनुकुल परिस्थिति हो ।

यस अनुकुल परिस्थितिमा हामीले भर्खरै पनि हेर्‍यौ‌ं । हाम्रा विकासका प्रयासहरुलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय इच्छुक र तत्पर छ । त्यो कुरा भर्खर केही दिन अगाडि मात्रै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनले स्पष्ट पारेको छ । दुनियाँ हामीसँग सहकार्य गर्न र हामीलाई सहयोग पुर्‍याउन तयार छ ।

हामी आफ्ना सम्पूर्ण प्रयासहरु अब सुशासन र विकासमा केन्द्रित गर्न र हाम्रो स्रोत, साधन, क्षमता सबै कुरा केन्द्रित गर्न हामीसँग भएको पुँजी प्रयोग गर्न पछाडि पर्दैनौं । हामीसँग उपलब्ध भएको प्रविधिको प्रयोग गर्न हामी पछाडि पर्दैनौँ । सँगसँगै हाम्रो मात्रै प्रयास, पुँजी वा प्रविधि प्रर्याप्त नहुन सक्छन् । त्यस कारण हामी बाह्य मित्रहरुका पुँजी र प्रविधिलाई समेत उपयुक्त ढंगले हाम्रो विकासको प्रयोजनका लागि आमन्त्रण गर्दछौँ, प्रयोग गर्दछौँ र त्यसका निम्ति अनुकुल वातावरण बनाउँछौँ ।

यहाँनेर मैले हाम्रो देशभित्रको सम्पूर्ण साधन, स्रोत, पुँजी भनिरहँदा यहाँ सार्वजनिक पुँजीको, सार्वजनिक क्षेत्रको मात्र विषय होइन, निजी क्षेत्र, सहकारी क्षेत्र, सार्वजनिक क्षेत्र, जहाँजहाँबाट हुन सक्छ, हामी ती सम्पूर्ण कुराहरुलाई परिचालन गर्दछौँ ।

हामीले तत् सम्बन्धी संयन्त्रहरु पनि बनाएका छौँ । सार्वजनिक क्षेत्रका संयन्त्रहरु पनि बनाएका छौँ र निजी क्षेत्रसँग सहकार्यका संयन्त्रहरु पनि बनाएका छौँ । खाली आज सरकार मात्रै क्रियाशील छैन । निजी क्षेत्र पनि सँगसँगै क्रियाशील छ । सहकारी क्षेत्र पनि सँगसँगै क्रियाशील छ ।

परिवर्तनलाई हामीले संस्थागत गरिसकेका छौँ । यसलाई खदिलो बनाउने, यस परिवर्तनलाई सुदृढ गर्ने र यस परिवर्तनलाई जनताको निम्ति, देशको विकासको निम्ति, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति प्रयास गर्ने ।

ती कुराहरुमा केन्द्रित गरेर यसलाई जनताको अझ बढी विश्वास र भरोसाको परिस्थित निर्माण गर्ने कुरामा हामी लागिरहेका छौँ । हाम्रो परिषदको यस बैठकले यिनै कुराहरुमा केन्द्रित भएर आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नुपर्छ ।

नेपालमात्रै होइन, धर्ति र मानव जातिकै विकासको प्रयास

यस सम्बन्धमा मैले हाम्रा विकासका अवधारणका सम्बन्धमा केही दुई/चारवटा कुरा अरु पनि राख्नु छ ।

पहिलो कुरा त हामी मानव जातिको सुरक्षित, सुखद भविष्य– त्यो चाहन्छौँ धर्तीमै । नेपालमा नेपालीहरुको सुरक्षा, सुरक्षित भविष्य र उनीहरुको सुख चाहन्छौँ । यसो गरिरहँदा मानव जातिलाई समृद्ध र सुखी बनाउने प्रयासहरुमा धर्तीको सुरक्षित, सुखद भविष्यको पनि हामी ख्याल राख्छौँ ।

अर्थात हाम्रा विकासका प्रयासहरुमा अहिले तोकिएका दीगो विकासका लक्ष्य सन् २०३० लक्ष्य मात्रै होइन, पृथ्वीको भविष्य, सुरक्षा, वातावरण, वातावरणीय सन्तुलन एवं इको सिष्टमलाई ठीक ढंगले अगाडि बढाउने कुरासँग सम्बन्धित भएर हामी अगाडि बढ्छौं । मानव जातिका लागि धर्तीलाई बस्नयोग्य, सुन्दर र सुखी प्लानेट बनाउने कुरासँग सम्बन्धित भएर नै हामी अगाडि बढ्छौँ ।

त्यसकारण हाम्रा विकासका स्तम्भहरु, हाम्रो नीति तय गर्दाका स्तम्भहरु धर्ती र मानव जाति दुईटा मूल पिल्लर अथवा आधार हुन् । यसका आधारमा हामी विकासको प्रयासलाई अगाडि बढाउछौँ– धर्ति र मानव जाति ।

हाम्रो देशको प्रशंगमा हामीले यो अन्तर्राष्ट्रियतवरमै हाम्रो दृष्टिकोणको कुरा गरेका हौँ । हाम्रो देशको सन्दर्भमा सुरक्षा र विकास, जनताको अधिकार, अवसर, सम्मान, समृद्धि र त्यो समृद्धिको न्यायोचित वितरणसहितको समाजवादउन्मुख, लोककल्याणकारी राज्यको अवधारणा अनुसार, जनताप्रति उत्तरदायी सरकारको अवधारण अनुसार कोही पनि जनता पछाडि पर्नुहुँदैन । पर्नु उचित हुँदैन ।

आजको समयमा पनि मानव जाति भोकमरीबाट पीडित छ यति उर्वर धर्तीमा । माछा पानीमा बस्छ र पनि खान पाएको छ । उसका लागि खाने कुरा बनाएको छ । चराका लागि प्रकृतिले खाने कुरा बनाएको छ । किरा फट्याङ्ग्राका लागि खाने कुरा बनाएको छ र धर्तीले मानव जातिका लागि खाने कुरा दिन नसक्ने होइन ।

तर, अनुचित व्यवहार अथवा समुचित प्रवन्धको कमी त्यसले गर्दा मानव जाति गरिब छ । त्यस प्रवन्धलाई हामी सुल्ट्याउनुपर्दछ । सही ढंगले अगाडि बढाउनुपर्छ । त्यसपछि हाम्रा अरु विकासका लक्ष्यहरु हुन्छन् । यो मूल राष्ट्रिय आंकाक्षालाई समृद्ध नेपाल सुखी नेपाली शब्दहरुबाट समेटेका छौँ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो । यो हाम्रा प्रयासहरुको केन्द्रविन्दु हो । यो हाम्रो गन्तव्यको टुङ्गो हो । यो गन्तव्य प्राप्त गर्नका लागि हामीले राष्ट्रिय संकल्प गरेका छौँ ।

राष्ट्रिय विकासको संकल्प : हामीले महत्वाकांक्षी कुरा गरेकै हो

हाम्रो राष्ट्रिय संकल्पलाई साकार पार्नका लागि हामी विभिन्न क्षेत्रका विभिन्न नीतिहरु तय गर्छाैँ । ती नीतिहरु कार्यान्वयन गर्नका निम्ति कार्यक्रम तय गर्छाैँ । कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि कार्ययोजनाहरु बनाउछौँ । हाम्रो कहीँ कतै कुनै विषयमा पनि अलमल छैन । हाम्रा नीतिहरु कहीँ कतै पनि किञ्चित अलमलमा छैनन् ।

संविधानमा जनताका मौलिक हक पूरा गर्नलाई हामीले राखेका हौँ । बाध्यताले भुलचुकमा संविधानमा मौलिक हक परेका होइनन् । यो समाज परिवर्तन गर्ने हाम्रो जिम्मेवारी हो । हामी परिवर्तन गर्छौँ ।

त्यसका निम्ति हामीले ती कुराहरु संविधानमा राख्नै पर्दथ्यो, यस कारण राखियो । हाम्रा संविधानका कतिपय मौलिक हक हुन् वा अरु प्रश्नहरु हुन्, ती महत्वाकांक्षी देखिन्छन् । हामीले महत्वकांक्षी नै कुरा गरेको हो । महत्वाकांक्षी हुनुपर्दछ । हामीले हाम्रो जनशक्तिलाई कसरी तयार गर्छौँ ? हाम्रो शिक्षा कस्तो हुन्छ ? हामीले भनेका छौँ ।

अब यो १५ औँ पञ्चवर्षीय योजनाले केके तोकेर भन्नुपर्छ भन्दा यस पञ्चवर्षीय योजनाको अवधिभित्र स्कुल बाहिर स्कुल जाने उमेरका कोही पनि बालबालिका हुने छैनन् । सम्पूर्ण बालबालिका स्कुल गएका हुनेछन् । देशमा निरक्षरता उन्मूलन भएको हुनेछ । यो निरक्षरताको गीत गाइरहने होइन, यस आगामी १५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र निरक्षरता उन्मूलन भएको हुनेछ । त्योभन्दा अगाडि नै गरौंला हामी । यसलाई हामी तोकेरै भन्न सक्छौं ।

निरक्षरता उन्मूलन भनेको एउटा नयाँ युगमा, फेरि पनि नेपाललाई नयाँ युगमा, निरक्षर कोही नभएको, अनपढ कोही नभएको युगमा प्रवेश गराउने हो । बालबालिका पढ्न नपाउने नभएको नयाँ युगमा प्रवेश गराउने हो । आजसम्म नेपालको इतिहासमा पढ्ने उमेरका बालबालिका स्कुल बाहिर नभएको त रहेन, गत वर्षबाट हामीले थालेका छौं अभियान । यस वर्ष लगभग बालबालिका स्कुल बाहिर नरहने त्यो प्रवन्ध मिलाउँछौं । यस वर्ष त्यो अभियान चलाउँछौं, ठोस रुपमा ।

कहिले–कहिले भन्ने गरेको सुनिन्छ, कुरा गरेर हुँदैन, काम गर्नुपर्छ भनेर । मैले हिजो एक ठाउँमा बोल्दा भनें महाकालीबाट पारिपट्टि बाटो छ, एकठाउँबाट अर्को ठाउँ जानुपर्‍यो भने मुख्य मन्त्री यहाँ अगाडि बस्नुभएको छ । कञ्चनपुरमा वारिबाट पारि जानुपर्‍यो भने कि त ट्युवबाट तर्नुपर्ने कि त तुइनबाट तर्नुपर्ने र खसेर मर्नुपर्ने । त्यस्तो अवस्था थियो ।

अहिले यो एक वर्षका बीचमा झोलुङगे पुलहरु बनेका छन् । तुइनहरु फालिएका छन् । मान्छे आरामले तरेका छन्, अनि कुरा मात्रै भयो र ?

हाम्रो यो सरकार गफ गर्न बनेको सरकार होइन । यो काम गर्न बनेको सरकार हो । देशमा परिवर्तन ल्याउन बनेको सरकार हो । गरिबी हटाउन बनेको सरकार हो । नेपालमा भोकमरीको हामी अन्त्यको घोषणा गछौं । नेपालजस्तो देशमा भोकमरी हुन सक्दैन । यस देशमा जनताका भोकमरीको समस्या हेर्ने जनताको सरकार छ । त्यसकारण यहाँ भोकमरी हुन सक्दैन । त्यो कुरा हामी भन्छौं ।

गरिबी न्यूनीकरण कसरी हुन्छ ? ठोस कदमहरु, रोजगारीका अवसरहरु सिर्जना गर्ने, सबैभन्दा ठूलो जनसंख्या कृषिमा आधारित छ । अनावश्यक ढंगले कसरी कृषिमा निर्भर छ । त्यसलाई कसरी बाहिर लाने ? जबरजस्ती हामी गर्न सक्दैनौं । कृषिको आधुनिकीकरण नै त्यसको खास उपाय हो ।

एउटा मान्छेहरुमा भ्रम छ– यान्त्रिकीकरणले रोजगारी खोस्छ भन्ने । त्यही प्रकारको रोजगारी खोस्छ । भरियाले भारी बोकिरहेको हुन्छ, भारी बोकिरहेका ठाउँमा बाटो बनेर गाडी चलेपछि, ट्रक चलेपछि ट्रकले बोक्छ, भरियाको काम हराउँछ । भरियाको काम त हराउला, तर त्यहाँ छेउमा चिया पसलदेखि अनेक चिजका कामका नयाँ रोजगारीका अवसरहरु खुल्छन् ।

त्यसकारण रोजगारीका अवसरहरु रुपान्तरित हुने हुन् । परिर्वतित हुने हुन् । फरक पर्ने हुन् । तर यान्त्रिकीकरणले रोजगारीका अवसर समाप्त पार्ने होइन, बढाउँछ । विकास ल्याउँछ, विकासले रोजगारीका अवसर समाप्त पार्ने होइन । रोजगारीका अवसरहरुको तरिकामा भिन्नता ल्याउँछ ।

एउटा भन्ने गरेका छन् मान्छेहरुले । यो मान्छेहरुको केही वैचारिक पूर्वाग्रह हो । त्यो पूर्वाग्रह यथार्थसम्मत होस् कि नहोस् । कुनै एकजना नेताले आग्रहवस् हो कि अज्ञानतावस् हो, परापूर्व कालमा यो कम्युनिष्टहरुको समानता भनेको गरिबी वितरणको कुरा हो, यिनीहरु समृद्धि हासिल गर्न सक्दैनन्, समृद्धि त यिनीहरुबाट समभव नै छ्र्रैन । यिनीहरुले गरिबी वितरण गर्ने हुन् भन्ने बोले ।

त्यो भाषा ‘माने पेमे हुँ’ जस्तो घुमाएको छ, घुमाएको छ । केही साथीहरु अहिलेसम्म पनि त्यही भाषा घुमाउँछन् । अहिलेसम्म त चीन हेरेर थाहा पाउनुपर्ने । भियतनाम हेरेर थाहा पाउनुपर्ने । हाम्रा संकल्प हेरेर दुनियाँको कतै केही दृष्टान्त, उदाहरण, कतै केही नभए पनि हाम्रो संकल्प, हाम्रो ड्राइभ, हाम्रो गति हेरेर थाहा पाउनुपर्ने । परिणाम हेरेर थाहा पाउनुपर्ने ।

म परिणाममा कुरा गर्न चाहन्छु । इतिहासमा यस वर्ष जति पक्की बाटो बन्यो, पीच बाटो बन्यो, त्यति कहिल्यै नेपालमा बनेको थियो ? यस वर्षजति विद्यार्थीहरुलाई, बालबालिकाहरुलाई विद्यालय भर्नाका लागि पुर्‍याउने त्यो क्याम्पेन कहिले भएको थियो ? अहिलेको जस्तो सामाजिक सुरक्षाको प्रबन्ध भएको थियो ? अहिलेजस्तो रोजगारीका अवसरहरु, रोजगारीको प्रत्याभूति थियो ? यस सरकारले जसरी युवाहरुलाई सहुलियत, सुविधा दिने काम कहिल्यै भएको थियो ?

यस्ता धेरै थुप्रै कुराहरु छन् । यति तीव्रताका साथ कहिल्यै कामहरु भएका थिए ? म त्यसमा धेरै बहसको विषय बनाउन चाहन्न । तर, यथार्थमा हामी जानुपर्छ । हामीले देशमा परिवर्तन ल्याउनुछ ।

हामी के–के गर्दैछौं ?

हामी अब केके गर्दैछौं, उद्योगको क्षेत्रमा के गछौं भन्दा पेट्रोलियमको उत्खनन गछौं । हाम्रो नवलपरासीमा फलाम खानी छ । पर्वतमा फलाम खानी छ । तनहुँमा फलाम खानी छ । ती खानीहरु उत्खन्न गर्छाैं र प्रशोधन गर्छाैं । जाजरकोटका पत्थरका खानी छन्, तामाको खानी छन्, तिनीहरुको उत्खनन् गर्छाैं । हामीले ठूलाठूला सिमेन्ट उद्योगहरु स्थापना गरिरहेका छांै । अब सिमेन्ट आयात होइन, हामी निर्यात गर्ने विन्दुमा जाँदैछौं ।

हामी तीव्रताका साथ उर्जा उत्पादनको क्षेत्रमा लागेका छौं । त्यस क्षेत्रबाट काम अगाडि बढाउँछौं । एउटा मात्र उदाहरण हेरे हुन्छ, के फरक पर्छ मानसिकताले भन्ने कुरा । कोशी नदी त्यही बगिराखेको थियो । पोहोरबाट कोशी नदी बगेको होइन नि, उहिलेदेखि बगेको थियो । स्टिमर बनेको कति सय वर्ष भयो ? कोशी नदी त्यहाँ छँदै थियो, स्टिमर त चलेको थिएन कोशी नदीमा । स्टिमर अहिले कोशी नदीमा किन चल्यो ? त्यो मानसिक परिवर्तन भयो । त्यो दृष्टिकोणमा भिन्नता आएको हो ।

अब डुङ्गा चलाउने ठाउँमा स्टिमर चलाएर भोजपुर प्रदेश १ का मुख्यमन्त्रीज्यू आफ्नो सदरमुकामबाट आफ्नो गृहजिल्ला घरको छेउमा एकछिनमा पुग्नु हुन्छ, जो गाडीमा जाँदा दिनभरि, प्लेनमा जाँदा ४/५ घण्टा । २ घण्टा यता पर्खिन पर्‍यो, २ घण्टा उता पर्खिन पर्‍यो । अहिले स्टीमरमा त पर्खिन पर्ने नपर्ने ! सजिलोसँग पुगियो । किन भयो त्यो ? पानी जहाजको कार्यालय खुल्यो कि स्टीमर चल्यो । त्यो त सरकारले चलाएको त होइन । तर, मान्छेलाई प्रेरित गर्ने, आत्मविश्वास गर्ने, उत्प्रेरणा दिने ती कामले परिवर्तन ल्याउँछ ।

किसानहरु आज हिजोको जस्तो होइन, नव प्रर्वद्धन गरिराखेका छन् । इनोभेसन आफैं गरिराखेका छन् । नयाँ ढंगले खेतीपाती आफैं गरिराखेका छन् । किनभने परिवर्तन भइराखेको छ ।

सरकारलाई रेमिट्यान्सको धेरै आश र लोभ छैन

हामी रेमिट्यान्सको सम्बन्धमा सजग छौं । हाम्रा युवाहरुलाई हामी क्रमशः हामी देश बाहिर पठाउने होइन, देशभित्रै राख्ने काम गर्छौं । अहिलेको सरकारलाई रेमिट्यान्सको धेरै आश र लोभ छैन । यहाँ बसेर उनीहरुले देशको सेवा गरुन् । रोजगारीका अवसरहरु अहिले केही समयको लागि हामीले बाहिर पठाउनैपर्ने, जान दिनैपर्ने । पठाउने होइन, जान दिनुपर्ने अवस्था छ । हामी अहिले पनि बाहिर पठाउदैनौं । तर, जान चाहन्छन, जान दिनुपर्ने अवस्था छ । अलि पछिदेखि जान चाहँदैनन् । किनभने, हामी यहाँ राम्रा अवसरहरु, आकर्षक अवसरहरु उपलब्ध गराउँछौं । त्यसको तयारीमा हामी लागेका छौं ।

अहिलेको सरकार दाउपेचमा विश्वास गर्दैैन । अहिलेको सरकार वादविवाद प्रतियोगितामा भाग लिइरहेको छैन । अहिलेको सरकार काममा विश्वास गर्छ । र हामी शिक्षालाई औपचारिक शिक्षा, औपचारिक शिक्षामा ड्रपआउट नहोस् विद्यार्थीको । हरेक विद्यार्थी स्कुल पुगोस्, विद्यालय पुगोस् । ड्रपआउट नहोस् । त्यसको प्रबन्ध हामी गर्छाैं । उच्च शिक्षामा कसरी, कति विद्यार्थी पुर्‍याउन सकिन्छ, त्यसमा ध्यान दिन्छौं ।

शिक्षालाई ट्यालेन्सी हेरेर, रुचि हेरेर, त्यसरी विद्यार्थीको रुचि अनुसारको गर्‍यो भने कोही पनि विद्यार्थी रुचि अनुसारको विद्या र अवसर उपलब्ध भयो भने कुनै पनि विद्यार्थी कमजोर हुदैन् । लद्दु हुँदैन, कोही फेल हुँदैन । हाम्रा विद्धान पूर्खाका सन्तान, विद्धान पूर्खाको जेनेटिक मेमोरी बोकेका सन्तान कोही पनि लद्दु छैनन् ।

तर, सबै विषयमा सबैको उत्तिकै प्रतिभा हुँदैन । कसैको प्रतिभा केमा हुन्छ, कसैको प्रतिभा के मा हुन्छ । समाजलाई सबै प्रकारका प्रतिभा चाहिन्छ । समग्रतामा भन्ने हो भने प्रतिभा विभिन्न प्रकारका हुन्छन् जो समाजका लागि उपयोगी हुन्छन् । त्यो प्रतिभा अनुसारको विद्या र अवसरका पढाइ हामीले विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्छ । त्यसो भयो भने विद्यार्थी ट्यालेन्ट हुन्छन् र हामीले प्रतिभा हन्ट गर्न जानुपर्दैन ।

सबै नेपाली बालबालिका प्रतिभाशाली छन्, केको हण्ट ? पहिचान गर्नुपर्‍यो, कुन विषय पढ्न जान्दछ । कुन विषयमा उसको रुचि छ, त्यो पढाउने अवसर दिने । हण्ट गर्नुपर्दैन । त्यो ट्यालेन्ट हण्ट, अयोग्य व्यापारिक काम हो ।

सबै धर्तीमा सबै उस्तै प्रकारको पोटेन्सियल हुँदैन । त्यस्तै मानवमा पनि उस्तै, सबैको, हरेक विद्यामा, हरेक विषयमा उत्तिकै प्रतिभा हुँदैन । त्यसकारण हामीले प्रतिभाको छनोट गरेर पढाउने व्यवस्था गर्न सक्नुपर्छ र त्यो अवसर विद्यार्थीलाई दिन सक्नुपर्छ । त्यो भयो भने उनीहरु उत्कृष्ट विद्यार्थी हुन्छन् । दुनियाँका उत्कृष्ट । यो जेनेटिक मेमोरीका कारणले पनि नेपाली विद्यार्थीहरु दुनियाँका उत्कृष्ट बालबालिका, उत्कृष्ट विद्धान भएर निस्किन्छन् ।

अर्को, हामीले आज सीप विकास र व्यवसायिक तालिमका कक्षाहरु सञ्चालन गर्ने र किसान र व्यवसायीहरु भएकै ठाउँमा गएर उनीहरुलाई उत्प्रेरित गर्ने, उनीहरुलाई व्यवसायिक तालिम दिने, उनीहरुलाई नयाँ प्रविधि दिने, नयाँ ज्ञान दिने काम गर्न सक्नुपर्छ । बोलाएर हुन्छ कि, गएर हुन्छ, जसरी भए पनि उनीहरुलाई नयाँ प्रविधि, नयाँ ज्ञान, नयाँ सीपबाट सुसज्जित गर्नुपर्दछ । हाम्रो नीति त्यो हुनुपर्छ ।

हामीले शिक्षाभित्र खाली टेक्निकल वा जीवनयापनका लागि मात्रै होइन । समाजका लागि उपयोगी, गुणवान, आचरणयुक्त, देशभक्त सामाजिक प्राणीको रुपमा मर्यादित । त्यस्तो नागरिक उत्पादन गर्ने कुरा पनि शिक्षासँग जोड्नुपर्दछ । हामी इन्जिनियर बनाउँछौं, इन्जिनियर जन्माउँछौं तर इन्जिनियर सामाजिक नहुने, देशभक्त नहुने अथवा एउटा मर्यादित व्यवहार गर्न नजान्ने वा आचरणयुक्त, सदाचारयुक्त हुन नसक्ने त्यस्ता कुराहरु हुन सक्छन् ।

त्यसकारण सानै उमेरदेखि त्यसमा पनि ध्यान दिन सक्नु पर्दछ । दक्ष, सक्षम, स्वस्थ, योग्य, सुयोग्य, अत्यन्तै आचरणयुक्त सभ्य, समाजका लागि उपयोगी । त्यस्तो नागरिक तयार गर्न चाहन्छौं । हाम्रो शिक्षाले त्यो गर्छ । यसो गर्दा हामीले प्राविधिक शिक्षातर्फ जोड भनेका छौं, किनभने जीवन उपयोगी होस् भनेर । प्राविधिक शिक्षाले मात्रै हुन्छ भन्ने त होइन । त्यसकारण प्राविधिक शिक्षा ७० प्रतिशत भनेको । त्यो हाम्रो लक्ष्य हो । अन्तिममा हामी त्यहाँ पुर्‍याउछौं भन्ने हो । अहिले हामी प्राविधिक शिक्षाको मात्रा बढाउँदै लान्छौं र सम्भव भएसम्म जीवनउपयोगी शिक्षामा जोड दिँदै जान्छौं ।

पागल खानेकुरा खाएर मान्छे सद्दे हुन्छ ?

स्वास्थ्य क्षेत्रमा हामीले जीवन बीमालगायतका कामहरु गरेका छौं । पहिलो कुरा त मानिस निरोगी रहुन् । हाम्रो कृषि उपज स्वस्थ रहोस् । विष फलाउने, भान्छामा विष ल्याउने, भोजनमा विष सेवन गर्ने अनि औषधि भनेर ट्याब्लेट खाने कुराले हाम्रो स्वास्थ्य ठीक हुँदैन । त्यसकारण हामीले हाम्रो कृषि उपजलाई अर्गानिक र यथार्थ बनाउने कुरा गर्नुपर्छ ।

मैले हिजो एक ठाउँमा बोल्दाखेरि भनें कि हाम्रो उत्पादनलाई हामी यस्तो बनाइदिन्छौं जो उसले आफ्नो जात बिर्सिन्छ । आफ्नो उमेर पनि बिर्सिन्छ । आफ्नो आकार पनि बिर्सिन्छ । किनभने त्यसमा जीन फरक पार्दिएको हुन्छ र कल्चर गर्दिएको हुन्छ । त्यसो गरेपछि उसले आफ्नो जात बिर्सिन्छ । लौका थियो भने उसले लौका हुँ भन्ने बिर्सिन्छ । आँप थियो भने आँप हुँ भन्ने बिर्सिन्छ । अनि काँक्रो थियो भने काँक्रो ।

उसले उमेर पनि बिर्सिन्छ । एउटा इन्जेक्सन लगाएपछि पागल भएर तेस्रो दिन चाहिँ एक महिनाको भन्दा ठूलो भइदिन्छ । उमेर बिर्सिन्छ । अनि त्यो पागल खानेकुरा खाएर मान्छे सद्धे हुन्छ ? अल्प अल्प । त्यसकारण यस कुराहरुसँग त्यसको मनोवैज्ञानिक, त्यसको वास्तविक जैविक तथ्यसँग परिचित हुनुपर्छ ।

मान्छेको साइज सरदर हुन्छ नि, त्यस्तै कुनै पनि चिजको साइज हुन्छ । त्यसलाई पागल बनाएर, यति ठूलो बनाइदिएपछि त्यसले आफ्नो आकार के हो ? कत्रो हो ? कुन वंशको हो ? कुन जातको हो ? कुन उमेरको भयो ? केही थाहा पाउँदैन ।

त्यस्तो खाना हामी खान्छौ जसभित्र विष हुन्छ । त्यसमा त्यो प्राकृतिक गुण हुँदैन्, त्यो खानेकुराको तत्व हुँदैन । त्यसकारण हामीले त्यस्तो खानेकुरा उत्पादन गर्ने होइन । अर्गानिक खानेकुरा । पेट भर्नका लागि होइन, स्वस्थ रहनका लागि खाने । औषधि जीवनका लागि खाने कुरा हो, खाना चाहिँ आधाारभूत औषधि हो । त्यो चाहिँ विषाक्त खाने अनि औषधिका लागि अरु उपाय खोजेर, सबैभन्दा हाम्रो डिफल्ड त्यहाँनिर छ ।

त्यसकारण हामीले खानाबाटै आहार, विहार, आराम, उचित, सन्तुलित, यथार्थ र स्वस्थ तरिका अवलम्वन गर्नुपर्छ । हाइजेनिक खाना आफ्ना नागरिकहरुलाई खुवाउन उत्पादकहरुलाई नै प्रेरित गर्नुपर्‍यो नि । किसानहरुलाई नै प्रेरित गर्नुपर्‍यो । त्यसकारण हाम्रो कृषिको जोड उत्पादन र उत्पादकत्व वृद्धि हो । तर, साँच्चैको खानेकुरा उत्पादन र उत्पादकत्व वृद्धि हुनुपर्‍यो । त्यो पागल बनाएर होइन । त्यो अखाद्य बनाएर होइन । पछि गएर हानिकारक बनाएर होइन । हामीले त्यसलाई खानै लायकका रुपमा उत्पादन, उत्पादकत्व वृद्धि गर्नुपर्छ ।

भूउपयोग नीति : पहाडका बाटामा किम्मु रोपौं

हामीले जमिन खेर नफाल्ने नीति लिएका छौं । तर, जमिन अहिले पनि खेर फालेका छौं । खेर नफाल्ने भनेका ठाउँमा पनि हामीले गरामा धान रोपेका छौं भने कान्लामा केही पनि लगाएका छैनौं । त्यहाँ पनि हुन्छ । बाटाका छेउहरु हाम्रा सबै खाली छन्, फोहोर छ । त्यसलाई सुन्दर फूलबारी बनाउन सकिन्छ । त्यसलाई फलफूल बारी बनाउन सकिन्छ । पहाडका बाटाका छेउछेउमा किम्मु रोप्ने हो भने रेशम उद्योग बेस्सरी चल्न सक्छ । ती काम गर्न सकिन्छ । फूलबारी लगाउन सकिन्छ र फूल, पुष्प व्यवसाय त्यहाँबाट हुन सक्छ । यस्ता थुप्रै कुराहरुमा हामीले ध्यान दिन जरुरी छ ।

कृषिको सम्बन्धमा हामी सिञ्चाई, कृषिको प्रविधिको विकास र आधुनिकता, त्यसै गरेर अर्गानिक बनाउने कुरा, पशुपालन, मत्स्य पालन यी सबै क्षेत्रहरुदेखि लिएर मौरी पालनदेखि लिएर, पंक्षी पालनदेखि लिएर आधुनिकता र स्वस्थ एवं अर्गानिक आधुनिकतामा जान्छौँ । हामी मोर्डन नेपाल, आधुनिक नेपाल बनाउन चाहन्छौँ, पुरानो नेपाल होइन । आधुनिक नेपाल, तर आधुनिक स्वस्थ नेपाल । आधुनिक नेपालका नाममा हामी जस्तो पायो त्यस्तो नेपाल होइन, स्वस्थ नेपाल बनाउन चाहन्छौँ ।

हामी भकारीमा धान मात्रै भर्ने होइन, साँच्चैको धान, स्वस्थ धान, खान हुने धान भर्न चाहन्छौँ । मकैको चाङमा त्यसको कुन्यूमा मकै मात्रै होइन, खान हुने मकै बनाउन चाहन्छौँ । सबै कुरामा हामी त्यस ढंगले जान चाहन्छौँ । आज हामीले सहकारीलाई प्रयोग गर्ने र ठूलो परिमाणमा एउटै वस्तु उत्पादन गर्ने विधिमा जानुपर्छ । नत्रभने हाम्रो निर्यात पनि हुन सक्दैन र कुनै नमुनायोग्य विकास पनि गर्न सकिँदैन ।

हाम्रो टुक्रिएको जमिन बाधा छ । त्यसकारण हामीले सहकारीको बाटो लिनुपर्छ । कृषिको क्षेत्रमा सबभन्दा बढी सहकारी आवश्यक छ । अब हामीले यस प्रशंगमा सरकारका प्रयासहरु, किसानका प्रयास र निजी क्षेत्रकै प्रयास हो । त्यसमा पनि निजी उद्यमी व्यवसायीहरुको समेत संलग्नता र प्रयोग उद्योगमा मात्रै होइन, कृषिको आधुनिकीकरण र कृषिजन्य औद्योकीकरण गर्न सकिन्छ । साना स्टोरमा कृषि सामाग्रीहरु राख्ने, चिस्यान केन्द्रहरु, कृषि सुरक्षा गर्ने–सुरक्षित भण्डारण गर्ने स्थलहरु, अथवा कृषि प्रशोधन गर्ने थलोहरु बनाउन सकिन्छ । जहाँ एउटै प्रकारको ठूलो परिमाणमा एउटै प्रकारको कृषि प्रतिफल लिन्छौँ । त्यो चिज भएपछि मात्रै हामी त्यसको प्रशोधन कारखाना बनाउन सक्छौँ ।

सानो स्केलमा, एउटा आँपको रुख छ भनेदेखि प्रशोधन कारखाना कसरी खोल्न सकिन्छ ? ठूलो बगंैचा भयो भने प्रशोधन कारखाना हुन्छ । प्रशोधन कारखानाका लागि एक ठाउँमा एकै प्रकारको वाली उत्पादन गर्न जरुरी छ । यसलाई योजनावद्ध विकास कसरी गर्ने ? हाम्रो योजनाले हाम्रा आंकाक्षाहरुलाई कसरी पछ्याउने ? यस योजनामा त्यही आंकाक्षाहरु पछ्याउने प्रयास गरिएको छ ।

हामी पर्यटन व्यवसाय या पूर्वाधारका क्षेत्रमा कसरी जान सक्छौँ ? बाटाहरुको सन्दर्भमा कति बाटा, कति वर्षमा हामीले कसरी बनाउने हो ? अहिलेका मलाई लाग्छ अझ बढी महात्वाकांक्षी बनाउनुपर्छ । र, केही बुटको तरिकाले, केही तरक्कीको हिसाबले, केही अरु हिसाबले कामहरु गर्नुपर्छ । विकास सम्भव छ, यसमा कुनै दुविधा छैन । गर्न सक्छौँ कि सक्दैनौँ, कसो होला भन्ने त्यो दुविधा छैन ।

तीन तहका सरकारवीच समन्यवय आवश्यक

हाम्रो विधि के हुन्छ भन्दा हाम्रो संविधानले तीन तहको सरकार बनाएको छ । यी तीन तहका सरकारका बीचमा तालमेल, समन्वय उचित ढंगले हुन जरुरी छ । काम, जिम्मेवारी र स्रोत साधनको बाँडफाँट लडाईको विषय होइन । मैले पहिले पनि भन्ने गरेको छु, राष्ट्रको विकासको प्रश्न छ, यो लडाइँको विषय होइन । यो तानातानको विषय होइन । यसमा हामीले सहजताका साथ एक वर्ष सम्पन्न गरेका पनि छौँ ।

अब स्थानीय तहका सरकारहरु, प्रदेश सरकार र संघीय सरकारका बीचमा समन्वयात्मक तालमेल गर्न जरुरी छ । राजनीतिक दलहरुभित्र राम्रो समझदारी र एकता हुन जरुरी छ । अब कुनै दलले फेद न टुप्पोका विरोध बोकेर, उछालेर हिँडेर कहीँ गन्तव्यमा पुग्छु भन्ने ठान्छ भने त्यो भूल हुनेछ । त्यो बेकार हो ।

हामी स्वस्थ प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यताभित्रका प्रतिस्पर्धा, सत्यमा आधारित, गुण र दोषमा आधारित समर्थन, विरोध र टिप्पणी यी अभ्यासहरुमा हामी जानुपर्छ । त्यसो भयो भने जनताले विश्वास गर्ने वातावरण बन्छ ।

अधिनायकवादको हौवा !

उहिले पनि अनेकथरीका हल्ला चलेकै हो । हल्ला त धेरै प्रकारका चले । ६० वर्षभन्दा माथिकालाई गोली हान्छ, मार्छ भनेपछि हामी त बाँकी नै रहदैनथ्यौैँ । कम्युनिष्टको सरकार बनाएपछि पेस्तोल आफैंतिर फर्कायो, किन त ६० वर्ष माथिकालाई मार्नुपर्‍यो । ड्यामड्यामती पहिला आफूलाई दियो, गर्नुपर्‍यो । यस्ता हल्ला पनि हामीले सुनेर आयौँ । मैले मात्र सुनेको होइन होला, अरुले पनि सुन्नुभएकै होला । यस्तो राजनीतिचाहिँ गर्नुहुँदैन ।

आज पनि अब अधिनायकवादको हौवा देखाउने र अधिनायकवादतिर गयो भनेर बेकार जनतामा त्रास फैलाउने, अनुचित प्रकारका आशंका बढाउने, यो कुनै जरुरी छैन । त्यस्तो अवस्था हुन पनि होइन र त्यो हुन पनि सक्दैन । म कारण चुनौतीका साथ भन्छु, कसैले ल्याइदिएको डेमोक्रेसी किस्तीमा हालेर दिएको होइन, हामीले लडेर लिएका हौँ । हामीले जिन्दगी समर्पित गरेर लिएका हौँ डेमोक्रेसी । गणतन्त्र हामीले ल्याएका हौँ । यो व्यवस्था हामीले बलिदान दिएर, साह्रै चर्को मूल्यमा प्राप्त गरेका हौं । यति महङ्गो मूल्य केहीलाई पनि पर्दैन, जो संघीय लोकतान्त्रिक गणतन्त्रलाई परेको छ । र, हामीले तिरेका छौँ यसका लागि । त्यस कारण यसको रक्षा हामी गर्छौँ ।

यो कुरा थाहा नभएर होइन, थाहा भई भइकन फेरि पनि अधिनायकवादतर्फ जाँदैछ भनेर जनतालाई तर्साउने । यस्तो झुठो खेती राम्रो होइन । किनभने हामी राष्ट्र निर्माणको अभियानमा छौं । एकजनाको विषय होइन, यो राष्ट्र निर्माणको अभियान हो । विकासको अभियान हो । समृद्धिको यात्रा हो यो । यस महाअभियानमा सबै सरिक हौँ ।

कहाँनेरि मिल्दैन, त्यहाँ भनौँ न नमिल्या ठाउँमा । अनि, जनताले पनि पत्याउछन् नि यहाँचाहि मिलेन हैँ भन्दा । तर अधिनायकवादतिर गयो जस्ता कुराहरुको केही अर्थ छैन । आज अधिनायकवादतिर होइन, समाजवादतिर अगाडि बढ्दै छ देश । अझ बडी लोकतन्त्रतर्फ अगाडि बढ्दैछ देश । राजनीतिक स्वतन्त्रता मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, समृद्धिसहितको समातामूलक समाजको निर्माणतर्फ तीव्र गतिका साथ अगाडि बढ्दैछ मुलुक । यस्तो बेलामा यस अवसरलाई हामी कसैले पनि तल–माथि गर्नुहुँदैन ।

मलाई लाग्छ, राष्ट्रिय योजना आयोगले यस पूर्णबैठकबाट व्यापक छलफल गरेर त्यसलाई अन्तिम रुप दिन्छ र त्यो मन्त्रिपरिषदमा जान्छ । मन्त्रिपरिषदले त्यसलाई योजनाका रुपमा अगाडि बढाउँछ । हामीसँग छलफल, सुधारका सम्भावनाहरु छन् ।

अव्यवस्थितलाई व्यवस्थित बनाउने ठाउँ छन् । अपुगलाई पूरा गर्ने ठाउँ छ । छुटलाई थप्ने ठाउँ छ । अनावश्यकलाई हटाउने ठाउँ छ । अहिले पर्याप्त ठाउँ छ । त्यसकारण एकदमै परिस्कृत, समयानुकुल, वैज्ञानिक, उपयुक्त दस्तावेजका रुपमा यसलाई अगाडि बढाउँ । जसले आगामी १ वर्षका लागि, आगामी ५ वर्षका लागि, आगामी २५ वर्षका लागि हामीलाई मार्गदर्शन गरोस् ।

मैले डिक्लियर गरेको छु, कोही पनि भोकै मर्दैन

एक वर्षमा हामीले आधार वर्षको रुपमा तयार गरिसक्यौँ । अब आउँदो वर्ष हामी विकासको रफतारलाई अगाडि बढाउछौँ । गति दिन्छौँ । बढी व्यवस्थित ढंगले अगाडि बढाउछौँ विकासको गतिलाई । र, ५ वर्षभित्र, यस पञ्चवर्षीय योजनाभित्र देशका तथ्य–तथ्याङ्क आजका मान्छेले सम्झिन पनि चाहँदैनन् । त्यस विन्दुमा देश पुग्नेछ ।

मैले अघि नै भनें, कोही पनि, मैले डिक्लियर गरेको छु, कोही पनि भोकै पर्दैन यस देशमा । कोही भोकले मर्दैन । भोकमरी कहाँबाट आयो ? अब भोकमरी समाप्त । कोही भोकले मर्दैन । गरिबी छ, त्यसलाई केही वर्षभित्र हामी समाप्त पार्छौँ । अशिक्षा छ, त्यसलाई केही वर्षभित्र समाप्त पार्छौँ ।

प्रचण्डज्यूले भनेजस्तै एकैछिनमा कुनै जादुले हुने कुरा होइन । त्यसका लागि अलिकति समय लाग्छ । तर, त्यो अनावश्यक समय हामी लिइराखेका छौँ कि ? या लिन्छौँ कि ? अनिवार्य रुपमा लाग्ने समय हामी खर्च गरिराखेका छौँ ? त्यो कुरा हामीले हेर्नुपर्छ । हामी अनिवार्य रुपमा कुनै पनि हिसावले तर्किन नसकिने गरी लाग्ने समय नै लिन्छौँ । त्यसभन्दा बढी सयम लिएर हामी समय बर्वाद गर्ने, समय खेर फाल्ने गर्दैनौँ । विकासको गतिलाई तीव्र ढंगले अगाडि बढाउछौँ ।

अहिलेको समीक्षाहरु गर्दा यतिबेर आधार वर्षका रुपमा, कानुन निर्माणको रुपमा, संरचना तयार गर्ने रुपमा वर्ष बिताए पनि हामीले प्राप्त गरेका उपलब्धिहरुले बोल्नेछन् । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धहरुले बोल्ने छन् । हाम्रा मित्रहरुले बोलिरहेका छन् । अरुले मूल्यांकन गरिरहेका छन् । नेपाल के गर्दै छ ? कता जाँदैछ ? हाम्राप्रतिको विश्वको मूल्याङ्कन के छ ? त्यो साथीभाइले भनिराखेका छन् ।

त्यसकारण, हामीले यस देशभित्रका जनताका विश्वास, बाहिरका हाम्रा मित्रहरुको विश्वास तलमाथि पर्न नदिएर विकासका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । यस १५औं योजनाको आधार पत्रले यसको आधारहरु प्रस्तुत गरेको छ । यसमा छलफल गरौँ र निश्कर्षहरु निकालौँ । हाम्रा सुझाव टिप्पणीहरुले मद्दत्त पुर्‍याउने छन् ।

म सबै साथीहरुलाई सुझाव, टिप्पणीका लागि हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।

OK

प्रतिकृया दिनुहोस्