– श्रीकृष्ण अधिकारी ‘विवेक’

नेपाली राजनीतिमा यतिबेला क. प्रचण्ड सर्वाधिक आशा, भरोसा, विरोध र आलोचनाको शिखरमा हुनुहुन्छ। त्यसो त क. प्रचण्ड हरेक परिघटनाको सुरूवातमा आलोचना र त्यसपछि समर्थन र प्रशंसाको भागिदार पनि हुँदै आउनुभएको छ। किन हुन्छ पटकपटक प्रचण्डमाथि आलोचना ? यसबारे अलिकति विमर्श गरौं।

यसपटक पार्टी एकताको पूर्णता, संविधानले निर्धारण गरेका हक अधिकारको कार्यान्वयनका लागि कानूनहरूको निर्माण र जीवन संगिनी क. सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणको पेरिफेरिबाट प्रचण्डमाथि टीकाटिप्पणी र प्रायोजित आलोचना सुरू भयो। प्रचण्डविरोधी प्रायोजित डिजाइनको पहिलो भागमा पत्रकार रवि लामिछाने, डा. तिलक श्रेष्ठ र डा. गोविन्द केसी एकैपटक देखा परे।

विरोधको शैली र स्तरलाई हेर्दा न कुनै तथ्य छ, न कुनै आधार र अनुसन्धानमा टेकिएको छ। राजनीतिक मर्यादा र संस्कारको त कुरै छोडौं। आरोप न न्यायसंगत छ, न, प्रमाण नै छ। आलोचनाको छेउ कता हो, टुप्पो कता हो, आकार प्रकार के हो ? थाहा छैन, हचुवामा बर्बराएको छ। एकतिरबाट आलोचना हुँदा अर्को तर्फबाट खण्डन हुनपर्ने हो। तर, सर्वहाराका पक्षधर हौं भन्नेहरूबाट पनि र पूँजीपति वर्गका पक्षधरबाट पनि निशाना प्रचण्डमा साधेको देखियो। मेरो अनुभवमा प्रचण्ड सफलताको द्योतक हो। उनीहरू कम्युनिष्ट एकता भाँड्न चाहन्थे।

तर, एकता सफलताउन्मूख देखियो। सरकार असफल होस् र कोर्ष बदल्न पाइयोस् भन्दै गर्दा कानूनहरू निर्माण भएर विकासले गति लिन थाल्ने र स्थायित्व सुदृढ हुने अवस्था सिर्जना हुँदै गएको देखियो। अन्तर्यमा यी सबैको कारण प्रचण्ड नै हो। प्रचण्डलाई कमजोर पार्न नसक्दासम्म स्थिति बिग्रिएर धमिलो पानीमा माछा मार्न नपाइने भयो। स्थिति सप्रदै जाने देखिँदैपछि प्रचण्डमाथि निशाना साँध्ने प्रायोजित अभियानको सुरूवात भयो।

युद्धका पक्षपाती सतहमा विप्लव देखाएर विप्लवको काँधमा बन्दुक राखेर पड्काउने दाउमा कतिपय अदृश्य तत्वहरू सलबलाइरहेका छन्। सरकार कमजोर होस्, शान्ति, स्थिरता भाँडियोस्, द्वन्द्वमा मलजल गर्न पाइयोस् र शान्तिको नाममा युद्धको व्यापार गरेर त्यसको कमिशनको दाउ हेरेर बसेका कथित शान्तिवादी, डलरवादीहरु अदृश्य कुनामा जोखना हेरर बसेका छन् भन्ने बुझ्न कठिन छैन। हात्तीको चपाउने र देखाउने दाँत फरक भएजस्तै, साम्राज्यवादी, बिस्तारवादी, संशोधनवादी, नवसंशोधनवादी र तिनका बिरोधीहरू सबैको निशाना प्रचण्डतिरै सोझिनु अनौठो कुरा होइन र ?

डा. तिलक श्रेष्ठ, डा. गोविन्द केसी, रवीन्द्र मिश्र, रवि लामिछाने लगायतको मुखाकृतिबाट विप्लव साक्षात भगवान् र प्रचण्ड चाहिँ घोर अपराधी एवं राक्षसका भएकाले सर्वनाश गर्नुपर्ने भन्दै भ्रम दिन कोशिस गरियो। प्रचण्ड बारा पर्साको प्राकृतिक प्रकोपमा परी पीडामा परेका जनताको घरघरमा राहतको प्याकेज लिएर जाँदा रवि लामिछाने प्रवृत्तिका मिडियाले वास्तै गर्दैनन् किन ? सकारात्मक कुरा जनतामा जान बन्देज गर्नु र नकारात्मक कुरा उराल्नु नयाँ खेल भने होइन। कम्युनिष्टविरोधीको नीति नै हो, योजनावद्ध रूपमा ‘हजारौं भ्रम सिर्जना गर र नेतृत्वलाई जनताबाट अलगाबमा पार’ भन्ने रणनीतिक कुरा नै हो।

प्रचण्ड मक्सद चाहिँ जनतालाई धोका दिएर मर्नु छैन। प्रचण्ड नियत भनेको बाँचुञ्जेल राष्ट्र र जनताप्रति बफादार सिपाही भएर काम गर्ने छ। २४ घण्टामा १८/१९ घण्टा राष्ट्र र जनताको काममा मेसिनजस्तै खट्ने गरेको देखेकै छौं। दुई दिन प्रचण्ड देशभित्र नहुँदा हामीलाई शुन्यताको महशुस हुन्छ। जनताको तहबाट चाहिँ प्रचण्ड बिग्रने पो हो कि भन्ने डरमा चिन्तापूर्ण तरिकावाट रचनात्मक आलोचना हुने गरेको छ, जुन सकरात्मक पक्ष हो।

कस्तो हुन्छ विचार र नेतृत्वको सम्बन्ध ?

लेनिनले रूसमा समाजवादी क्रान्तिको तयारीका सन्दर्भमा रूसी क्रान्तिको प्रकृति र चरित्रका बारेमा कुरा गर्दै अन्तरविरोधको विशेषताअनुरूप क्रान्ति आफ्नै मौलिकतामा सम्पन्न हुने कुरा गर्नुभयो। चीनमा माओले चिनियाँ वर्ग समाजको अन्तरविरोध हेरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी शान्तिपूर्ण रूपले समाजवादमा संक्रमण गर्ने मौलिक नीति लिनुभयो।

नेपालको कम्युनिष्ट आन्दोलनको आफ्नै मौलिकता छ। नेपालमा हतियार २००७ मा उठ्यो, २०२८ सालमा पनि उढ्यो । नेपाली समाजको वगविश्लेषणका आधारमा प्रचण्डको नेतृत्वमा २०५२ सालमा जनयुद्धको सुरू भयो। त्यो कुनै यान्त्रिक नक्कलका आधारमा गरिएको थिएन, आफ्नै मौलिकता र नियन्त्रणमा आधारित थियो। राजनीतिक विचारले बन्दुक उठाइएको थियो। तत्कालीन शाही सेना र माओवादी आमनेसामने हुँदै राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, शान्ति, संविधान हुँदै मौलिक रुपमै समाजवादको यात्रामा छ।

पेरिस कम्युन लगायत असफलताबाट शिक्षा लिएका पार्टीहरु नै सफलतामा पुगेका नजिर हाम्रासामू छन्। विश्वका कतिपय देशमा किताबी अनुभव र अन्धनक्कलमा हाम्फालेका कम्युनिष्ट पार्टीहरु पराजित भए, क्रान्तिले धक्का खाए। सन् १९२८ देखि १९४० सम्म चिनियाँ क्रान्तिको नेतृत्वमा अति वाम र अति दक्षिण प्रवृत्ति हावी हुँदा क्रान्तिले ठूलो क्षति बेहोर्‍यो। माओ भाग्दै येनानसम्म पुग्नुपरेको थियो। यदि, युद्ध र शान्तिको कौशलता र सुझबुझ माओमा हुँदैनथ्यो भने हतियारवद्ध रूपमा चीन र माओलाई निल्न आएको जापानी र अमेरिकी साम्राज्यवादलाई पराजित गरेर चिनियाँ क्रान्तिले विजय हासिल गर्न सम्भव थिएन।

अलवानिया, पेरू, टर्की, बर्मा, मलाया, फिलिपिन्स र भारतका कम्युनिष्ट आन्दोलनहरूको अवस्था के थियो, आज के छ ? ती देशका कम्युनिष्ट पार्टी र नेतारूको अवस्था आज कस्तो छ ? प्रविधियुक्त गुगलाइज दुनियाँमा कम्युनिष्ट आन्दोलनमा चासो राख्नेहरूलाई जान्न चाहँदा थाहा नहुने कुरा भएन। विजयको सन्निकट पुगेर पनि कार्यनीति चालहरू चाल्न नजान्दा, बाम अति र दक्षिण अतिमा नेतृत्व फस्दा कम्युनिष्ट आन्दोलनले ठूलठूला पराजय र क्षतिको दुर्दशा बेहोर्नुपर्‍यो।

अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर नेपाली पूँजीवादी जनवादी क्रान्तिका उपलब्धिलाई जोगाउँदै, एकतावद्ध र शक्तिशाली पार्टी बनाएर समाजवादी क्रान्तिको आधार तयार पार्ने ठाउँसम्म आइपुग्ने कुरा कुनै धोकाधडी र केटाकेटी खेल होइन। विचारको परिपक्वता, कार्यनीतिको मौलिकता लिडरसीपको दुरदर्शिता र इमान्दार प्रयत्नले हामी यो ठाँउमा आउन सफल भएका हौं।

सन् १८४८ मा कार्ल माक्सले कम्युनिष्ट घोषणापत्र लेख्दै गर्दा पूँजी, चेतना र प्रविधिको स्तर कहाँ थियो ? पेरिस क्रान्ति अगाडि काल मार्क्सको सुझाव के थियो, क्रान्तिपछि के थियो ? त्यो तथ्य हामी सबैलाई थाहा छ। परिपक्व र इमान्दार नेतृत्वले वस्तुगत परिस्थितिलाई बुझेर कार्यनीति चाल चाल्न पेरिस क्रान्तिको अनुभवले राम्रो शिक्षा दिएको छ। पेरिसमा विद्रोह अगाडि कार्ल मार्क्सले हतारमा क्रान्ति हुँदैन भन्नु र विद्रोहपछि कम्युनको पक्षमा उभिनु नेतृत्वको दुरदर्शिता थियो।

सन् १९०५ मा रूसको असफल क्रान्तिपछि लेनिनले लिनुभएको शिक्षालाई हामीले कसरी हेर्ने ? लेनिनको पालासम्म आउँदा प्रगतिशील राष्ट्रिय औद्योगिक पूँजीवादको चरित्र बदलिएर एकाधिकार पूँजीवाद अर्थात् साम्राज्यवादको चरित्र धारणा ग¥यो। साम्राज्यवादी हस्तक्षेप र भू–जारशाही प्रथा भएको रूसमा लेनिनले युद्ध र शान्तिको मौलिक क्षमतामा त्यसलाई परास्त गर्दै अक्टोवर समाजवादी क्रान्ति गर्नुभयो। ट्राटस्कीलाई महान नेता भन्नु, दुमामा भाग लिनु, शान्ति, जमिन र रोटीको नारा दिनु र शान्ति वार्तामा एउटा भू–भाग नै जर्मनलाई बुझाउनुुजस्ता पक्षलाई मात्र हेर्दा लेनिनलाई कम्युनिष्ट भन्न मिल्छ ? वर्ग र राष्ट्रप्रति विश्वासघात गर्ने घोर गद्दार नेता ठहरिन जाँदैन र ? तर, त्यो बिल्कुल होइन। लेनिन वर्ग र राष्ट्रप्रति प्रतिवद्ध, दुरदर्शी, ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरी पहलकदमी लिनसक्ने असाधारण प्रतिभा भएका महान क्रान्तिकारी नेता हुनुहुन्थ्यो।

माओले च्याङ्काइसेकसँग शान्ति सम्झौता गर्दा सशस्त्र सङ्घर्षका धेरै मान्यताहरू छोड्नुभएको छ। पछि च्याङकाइसेकले शान्ति सम्झौतामा धोका नदिएको भए संयुक्त सरकार बन्थ्यो, चुनाव हुन्थ्यो, सेना मर्ज हुन्थ्यो र शान्तिपूर्ण ढंगले चीनमा पूँजीवादी जनवादी क्रान्ति हुने सम्भावना थियो। के माओले नकार्नुहुन्थ्यो होला ? यसो गर्दा चीनमा कम क्षतिमा क्रान्ति सम्पन्न हुन्थ्यो। माओ विश्वासघाती हुनुहुन्थ्यो त ? होइन, उहाँ त महान्, इमान्दार र क्रान्तिकारी नेता हुनुहुन्थ्यो।

भियतनाममा पराजय भएपछि साम्राज्यवादले कम्युनिष्टविरुद्ध बिभिन्न रणनीति अपनाउँदै आएको छ। आजको साम्राज्यवाद धेरै नै चतुर छ। कम्युनिष्ट लिडरसीपको महत्व धेरै माथिबाट बुझेको छ। मार्क्स, लेनिन, माओबाट उसले पनि सिकेको छ। श्रोत–साधन, श्रम र पूँजी, सीप र क्षमता, सिर्जना र गति, विज्ञान र प्रविधिमा एकाधिकार जमाइराख्न आजको साम्राज्यवादले धेरै चातुर्य कुटनीति र बहुकला अपनाइरहेको छ। माओले भनेजस्तै ऊ मुस्कुराएर आइरहेको छ। अल्पविकसित देशहरूमा विभिन्न प्रलोभनमा पारी बौद्धिक क्षमतालाई आफ्नो दलाली गर्नमा घुमाएर प्रयोग गरिरहेको छ। दक्ष श्रमशक्ति सस्तो मूल्यमा कब्जा गर्ने र बाँकीलाई लम्पट बनाउन पेरित गर्ने कला प्रयोग गरिरहेको छ।

डा. गोविन्द केसी, रवीन्द्र मिश्र, डा. तिलक श्रेष्ठ रवि लामिछानेजस्ता टिपिकल पात्रहरू जान अन्जानमा साम्राज्यवादको हतियार भएर प्रयोग भइरहेका छन्। दुनियाँबाट कम्युनिष्टहरू समाप्त परियो भनेर खुसीको केक र स्याप्पेनको बोत्तल रित्तिन नपाउँदै नेपालमा कम्युनिष्टको दुईतिहाईको सरकार बन्नु, कम्युनिष्ट पार्टी एकता भएर दक्षिण एसियाकै ठूलो पार्टी बनेको परिघटनाले ऊ जिल्लिएको मात्र छैन, भित्रभित्रै कुँडिएर छटपटाएको छ। कम्युनिष्ट नेतृत्व कमजोर पार्न आज खुद्रामा होइन, थोकमा प्रहारका लागि विभिन्न स्वार्थ, पात्र र प्रवृत्तिलाई एउटै कडीमा जोड्न पेचकिला कस्ने प्रयत्न भएको छ। यति पनि बुझ्न सक्दैनौं भने हामी आफूलाई २१ औं शताब्दीका कम्युनिष्ट भन्न सुहाउँछ ?

कस्तो छ विश्व परिस्थिति ?

हामीले दुनियाँभरिका सर्वहारा क्रान्तिका सफल र असफल अनुभव हेरेका छौं। प्रविधि, चेतना र पूँजीमा साम्राज्यवादी एकाधिकारका लागि उसले अपनाउँदै आएको विधि र कला पनि बुझेका छौं। कच्चामाल, श्रम, पूँजी र सूचना–प्रविधिमा एकाधिकारका लागि रणनीति र कार्यनीति चाल, चातुर्यता नजिकैबाट नियालिरहेका छौं। तोप, गोली मेसिनगन मात्र होइन, रकेट र आणविक बमसम्मका हतियारमा नियन्त्रणको होड हेरेका छौं।

२०औं शताब्दीका कम्युनिष्ट आन्दोलनको नियन्त्रणपछि उसको टाउको दुख्ने अर्को विषय विज्ञान र प्रविधिमा आएको असाधारण विकास नै हो। सूचनाको साम्राज्यमा इन्टरनेट आजको अत्यन्तै शक्तिशाली हतियार हो। सूचना छिपाएर नसक्ने विषय भएको छ, उसको नियन्त्रणभन्दा बाहिर छ। चाहेर पनि उसले यसलाई नियन्त्रण गर्न सक्दैन, किनकि ऊ आफै सूचनाबाट बञ्चित हुनपर्ने हुन्छ। प्रविधिको विकासबाट सूचनामा वर्ग उन्मुलन गरिदिएको छ। साइबर क्राइम अस्वभाविक रूपमा बढेको छ। गोलीभन्दा छिटो असाधारण क्षति पुर्‍याउन सक्ने गरी कम्प्युटर भाइरस विकास भइरहेका छन्।

विज्ञान र प्रविधि विकासबाट नयाँ–नयाँ ज्ञान, सीप, क्षमताको अभिवृद्धि भइरहेको छ। मानव चेतनामा दिनानुदिन विकास भइरहेको छ। मानवको सिर्जनशील क्षमता रोक्न सक्ने कुरा होइन, अब यो साम्राज्यवादको बशमा पनि छैन। प्रथम र द्वितीय विश्वयुद्धजस्तो दुनियाँ अब रहेन। अन्तरविरोधको प्रकृति नयाँ ठाउँमा पुगेको छ। विश्व बजारमा एकाधिकार जमाएर महाशक्ति बन्ने होड पश्चिमबाट क्रमशः पूर्वतिर सरिरहेको छ। सर्वाधिक शक्तिशाली राष्ट्र पनि सम्वाद र सहकार्य बिना निरपेक्ष बल प्रयोगले मात्र बजार बिस्तार गर्नसक्ने ठाउँमा छैनन्।

भित्र जतिसुकै कपट भए पनि बाहिर शान्तिको पक्षमा उभिनुपर्ने बाध्यता छ। शान्तिका लागि समानता अनिवार्य छ। प्रविधिको विकासले सूचनामा वर्ग उल्मुलन भएकाले हिजोजस्तो सूचना लुकाउन सकिँदैन। श्रमजीवी वर्ग सचेत मात्र होइन, दक्ष पनि छ। उसलाई पनि थाहा छ शान्तिको भाषा। श्रमजीवी वर्गका अधिकारमा बढोत्तरी नगरीकन शान्ति हुँदैन। सामाजिक न्यायसहितको समृद्धि र समानताको आधारमा उत्पादक शक्तिको वृद्धि भएर दरिलो राष्ट्रिय पूँजीको जगमा वैज्ञानिक समाजवाद निर्माण हुन्छ भन्ने कुरामा श्रमिक वर्ग दृढ छ।

ट्रम्प–किम वार्ता गर्नुपर्ने ठाउँमा आइपुगेका छन्, यो परिस्थितिको बदलाव नै हो। तेश्रो विश्वयुद्ध भइहालेमा त्यो नितान्त भिन्न र मौलिक प्रकृतिको हुनेछ। त्यतिबेला अहिले हामीले कल्पना गरेभन्दा फरक ढंगले देश, वर्ग, समाजको ध्रुवीकरण हुनेछ। हामी नयाँ ठाउँमा पुग्छौं। विकास, सामाजिक न्याय, समृद्धि, समानता र समाजवादको नाराले उचाई हासिल गर्छ। विश्वको अन्तरविरोध नयाँ ठाउँमा आइपुगेको छ। पूरानो सोच, शैली र तरिकाले न विचार र लिडरसीपको रक्षा हुन सक्छ, न हाम्रा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ। यहाँसम्मको अनुभवले हामी खारिँदै आएका छौं। नेपालीमा एउटा उखान छ, ‘जसले हान्यो, उसले जान्यो।’ सुन्दा अप्रियजस्तो लाग्छ। तर, सत्य यही हो, धर्मराएर खुट्टा अगाडि जाँदैन।

अब हामीले समृद्धिका लागि पाइला चाल्नैपर्छ। खुल्ला र स्पष्टसाथ प्राविधिक शिक्षा, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्छ। कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ। भ्रष्टाचार, तस्करी, माफिया, बिचौलिया प्रवृत्तिलाई कडाइपूर्वक नियन्त्रण गर्नुपर्छ। कृषि, उर्जा र पर्यटन उद्योगको बिस्तार गर्नुपर्छ । निजि, सार्वजनिक सहकारी र सरकारी तिनखम्बे अर्थनीतिको सन्तुलित विकास गर्नुपर्छ। दक्ष जनशक्तिको उत्पादन र रोजगारी सिर्जनाले राष्ट्रिय अर्थतन्त्रको जग हाल्नुपर्छ। र, वैज्ञानिक समाजवादको आधार खडा गर्नुपर्छ। हामीसँग योभन्दा अर्को बाटो छैन। रणनीतिका साथ मुस्कुराएर आएकासँग मुस्कुराएरै कुटनीतिक कौशलताले पराजित गर्नुपर्छ।

कम्युनिष्ट आन्दोलनमा प्रचण्डको भूमिका के ?

नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो चार दशकको इतिहासमा विचार निर्माण, जनयुद्ध, जनआन्दोलन, शान्ति र संविधान निर्माणमा प्रचण्डले खेलेको भूमिकालाई समष्टिमा हेरिनुपर्दछ। कम्युनिष्ट एकता, चुनाव, राज्यको संघीय संरचना र कानूनहरू निर्माणमा प्रचण्डकै दुरदर्शिता छ। अको यात्रा विकास, समृद्धि, समानता र सामाजिक न्याय हुँदै समाजवादमा पुग्नु हो। यसका लागि प्रचण्ड दृढ हुनुहुन्छ।

शान्ति हेर्दा युद्ध भुल्ने र युद्ध हेर्दा शान्ति भुल्ने, आन्दोलनका स्वरूपहरू नबुझ्ने, ध्वंशपछि निर्माणको अपरिहार्यता नबुझ्ने, विचार सङ्घर्ष, वर्ग सङ्घर्ष, शान्ति र संविधान निर्माणको सङ्घर्ष, विकास, सामजिक न्याय, समृद्धि र समाजवाद निर्माणका लागि सङ्घर्षको महत्वलाई अलगथलग बुझ्ने, विषयको एउटा पाटोलाई पकडेर साङ्गोपाङ्गो अध्ययनबिना प्रचण्डको विरोध ध्वंशात्मक प्रवृत्ति मात्र हुन्छ। सिकारु पौडीवाज छिपछिपे पानीमा एकदुई घुड्का पानी निल्दै बाहिर निस्किएर म समुन्द्रको पिँधमा पुगेर आएको भन्नु र बहुक्षमताको एउटा कमजोर अंश समातेर प्रचण्डको आलोचना गर्नु उस्तै हो। यो आत्मरति हो, लघुताभास हो, अल्पवुद्धि हो।

ध्वंशबिना आजको निर्माण सम्भव थिएन। जनयुुद्धबाट डलरवादीहरुले हिजो पनि नाजायज फाइदा उठाए, आज पनि उठाउने कोशिस हुँदैछ। त्यसमा बहस गर्दै जाउँला। महान बलिदानको जगमा नयाँ युगको सुत्रपात भएको छ, जनअधिकार स्थापित भएका छन्। अब प्रचण्ड सिध्याउने सपना र चिन्तन अग्रगामी परिवर्तनमा विश्वास गर्ने विवेकशील प्राणीले देख्नसक्ने कुरा होइन। मानिसले कल्पना गरेजस्तो फिल्मी शैलीमा रातारात नेता जन्मदैन।

विचार विज्ञान हो। नेतृत्व विचार विज्ञानको समूचित कला हो। विचारसहितको नेतृत्व रेडीमेट मालजस्तो हुँदैन। त्यसका लागि लामो र कष्टसाध्य अध्याय पूरा गर्नुपर्छ। दुरदर्शी र कुशल नेतृत्वले टाढासम्मको दृश्य देख्दछ। असल नेतृत्वले आफूलाई नाफा र घाटा हेर्दैन। जनयुद्ध र जनआन्दोलनका उपलब्धि गणतन्त्र, शान्ति र संविधानको जगमा समाजवादी क्रान्तिका लागि कम्युनिष्ट एकता आवश्यक थियो। विद्यमान जटिलताको समाधान गर्दै विकास, समृद्धि, सामाजिक न्याय, समतामूलक समाज हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्न नेकपा निर्माण गरियो। यो ऐतिहासिक आवश्यकता नै थियो।

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताबिना संविधान कार्यान्वयनका लागि दुईतिहाई बहुमतको वामपन्थी सरकार बन्न सम्भव थिएन। प्रधानमन्त्री ओली र प्रचण्डले नचाहेको भए यो एकता सम्भव थिएन। अनेकताभित्र एकता खोज्ने, मिल्न नसक्नेका बीचमा मिलनको बिन्दु खोज्ने, प्रतिकुलताभित्र अनुकुलता देख्ने र चुनौतिभित्र सम्भावना देख्ने र त्यसलाई अवसरमा बदल्न सक्ने प्रचण्ड क्षमता हो। बर्तमान परिस्थितिबाट पैदा भएका नयाँ अन्तरविरोधको समाधान खोज्ने नेतृत्वको नाम हो प्रचण्ड। तसर्थ, प्रचण्डको विरोध आफ्नै भविष्य र गन्तव्यमाथि प्रहार हो।

प्रतिकृया दिनुहोस्