दिवस गुरागाईं/रामजी बलामी

नयाँ उत्साह, उमंग, जोश जाँगर र नयाँ लक्ष्यका साथ हामी नयाँ बर्ष २०७६ मा प्रवेश गर्दैछौ । नयाँ बर्षको योजना र लक्ष्यहरु निर्धारण गर्नुअघि बितेको बर्ष २०७५ को समीक्षा गर्नु उपयुक्त हुन्छ । यही कुरालाई मध्यनजर गर्दै हामीले बर्ष २०७५ का बर्ष व्यक्तिहरुको बारेमा यो सामाग्री तयार पारेका छौ । व्यक्तिगत सफलतासँगै मुलुकलाई पुर्याएको योगदान, चर्चा, जनधारणा र मार्गदर्शनमा आधारित रहेर विभिन्न सम्बद्ध व्यक्तिहरुको सल्लाह र सुझावका आधारमा यो सामाग्री तयार पारेका हौ ।

१०) विष्णु माझी

कला क्षेत्रबाट बर्ष व्यक्ति बनेका छन् गायिका विष्णु माझी । सर्वाधिक चर्चित र सर्वाधिक खोजी सेलिब्रेटीकारुपमा लिइने बिष्णु माझी यो बर्ष पनि निकै चर्चामा आइन् । उनको खोजीका लागि उनका अभिभावकले नै प्रहरी कार्यालयमा निवेदन दिएपछि उनी एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालयमा पनि उपस्थित भएकी थिइन् । उनका विषयमा विभिन्न खालका टिका टिप्पणी र बहसहरु समेत भएका थिए ।

नम्वर एक गायिकाको ट्याग भिर्न सफल माझीको पारिश्रमिक एक गीत बराबर ४० हजार रहेको गीतका प्रोड्यूसरहरु बताउँछन् । आधुनिक समाजबाट गुमनाम रहेकी गायिका माझीको अहिलेसम्म जम्माजम्मी ३ वटा फोटो मात्रै सार्वजनिक भएको छ । स्याङजाको रत्नपुर गाविस–६ चापाकोटकी विष्णु माझी अहिले काठमाडौंमा नै बस्छिन् । उनले गाएको ‘सालको पात टपरी हुने’ बोलको गीतको भ्यूज झण्डै ४ करोड पुग्न लागेको छ ।

९) बिनोद चौधरी

नेपालका एकमात्र अर्बपति विनोद चौधरीले २०७५ सालमा मात्रै २२ अर्ब ६१ करोड ८० लाख रुपैयाँको सम्पत्ति जोडेका छन् । फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । उनी १३४९ औं स्थानमा रहन सफल भएका छन् । चौधरी ग्रुपका प्रमुख चौधरीले नबिल बैंकसहित होटल, हाउजिङ, जलविद्युत, चाउचाउ, स्वास्थ्य तथा अन्य उत्पादनका क्षेत्रमा लगानी गर्दै आएका छन् ।

८) प्रेमकुमार सञ्जेल

उप सचिव प्रेमकुमार सञ्जेलले यो बर्ष भ्रष्टाचार विरोधी कर्मचारीको उपमा पाए । सञ्जेलले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा तहल्का मच्चिएको थियो । उनले नियम विपरित सरुवा भएर अन्यत्र जानु परे जागीरबाटै राजीनामा दिने बताएका थिए । उनले आफू भ्रष्टाचारविरोधी भएकै कारण निजामती कर्मचारी ऐन विपरित ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट अन्यत्र सरुवा गरिएको र तलव समेत रोक्का गरेको भन्दै अदालत पुगेका थिए । अदालतले उनलाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उनले श्रम कार्यालयमा हालेको मुद्धा छिन्ने, आपूmले निरीक्षण गरेका कामको अनुगमन गर्ने, भ्रष्टाचार रोक्ने कामलाई प्राथमिकता दिँदै आएका छन् ।

७) करिश्मा मानन्धर

बर्षको अन्त्यतिर अभिनेत्री करिश्मा मानन्धर निकै चर्चामा आइन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी करिश्माले आपूm एसईई परीक्षामा सहभागि हुन लागेको कुरा सार्वजनिक गरेपछि उनी एकाएक चर्चामा आइन् । उनी धेरैका लागि प्रेरणाकी पात्र बनिन् । उनी ४७ वर्षको उमेरमा एसईई परीक्षामा सामेल भएर उमेरले पढाइलाई छेक्दैन भन्ने सन्देश समाजमा दिन सफल भइन् । त्यसकारण पनि उनी बर्ष ०७५ को बर्ष व्यक्तिको सुचिमा सुचिकृत भएकी हुन् । उनले विजय स्मारक विद्यालय डिल्लीबजार केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

१४ वर्षको उमेरमा सात कक्षा पढ्दापढ्दै चलचित्र क्षेत्रमा लागेपछि करिश्माको अध्ययन त्यतिमै सिमित भएको थियो । उनले २०७२ मा काठमाडौंको एउटा निजी विद्यालयमा ८ कक्षामा भर्ना भएर अध्ययन थालेकी थिइन् । करिश्माले ‘सन्तान’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । उनले मायालु, ट्रक ड्राइभर, बसन्ती, ढुकढुकी, भाउजु, मायालु, जिद्धी, मायाजबार, बाबुसाहेव, जात्रै जात्रालगायतका थुपै्र चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । करिश्मासँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले पनि एसईई परीक्षा दिएकी थिइन् ।

६) कुलमान घिसिङ

कुशल व्यवस्थापकको पहिचान स्थापित गर्न सफल नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ बर्ष ०७५ मा पनि बर्ष व्यक्तिको रुपमा सुचिकृत भएका छन् । नेपालमा लोडसेडिङ अन्त्य गरेर ‘छलाङ’ मारेका कुलमानलाई ०७५ मा सरकारले ‘सुप्रबल जनसेवा श्री’ मान पदवी प्रदान गरेको थियो । यसका साथै कुलमानले बेस्ट सिइओ अफ पब्लिक सेक्टर, सर्वाधिक लोकप्रिय सिइओको अवार्ड, बेष्ट मेनेजर अवार्ड, कान्तिपुर आइकन २०७५ लगायत थुप्रै मान सम्मान र अवार्डहरु प्राप्त गरेका छन् । गत बर्ष तिहारमा जत्तिसक्दो बत्ती बाल्न आग्रह गरेपछि उनको वाहवाही भएको थियो ।

त्यस्तै उनले नेपाल विद्युत प्राधिकरणको आन्तरिक व्यवस्थापन सुधार, सात दिनभित्र नयाँ मिटरको व्यवस्था, जनगुनासो व्यवस्थापन इकाइ सञ्चालन, मोबाइल एप्लिकेशन र अनलाइन पेयमेन्ट सुविधा, ट्रान्सफर्मर जडान, सबस्टेसनको क्षमता अभिवृद्धि, प्रसारण लाइन विस्तार, सुकुम्वासीलाई मिटर, चुहावत नियन्त्रण लगायतका प्रभावकारी कदमका कारण बर्ष ०७५ भरी नै उनी चर्चामा रहे । वि.सं. २०५१ मा नेपाल विद्युत प्राधिकरणमा सातौ तहका इञ्जिनियरकारुपमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी अधिकृतका रुपमा नियुक्ति भएका थिए ।

५) आभास मास्के/हरिराम श्रेष्ठ

२०७५ को बर्ष व्यक्तिका रुपमा सूचिकृत भएका छन् आभास मास्के र हरिराम श्रेष्ठ । श्रेष्ठ, इलेक्टिकल र कम्युनिकेशन इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्के, स्पेस टेक्नोलोजी इञ्जिनियरिङमा विद्यावारिधी गरिरहेका छन् । उनीहरुले पहिलो पटक ‘नेपाली स्याट १’ भूउपग्रह बनाएका छन् । यही बैशाख ४ गते राति २ बजे अमेरिकाको भजिर्नियाबाट प्रक्षेपण गर्न लागिएको यो भूउपग्रहका लागि इन्टरनेशनल स्पेस स्टेशनसँग सहमति भैसकेको छ ।

१० सेन्टिमिटर लम्बाइ, १० सेन्टिमिटर चौडाइ र १० सेन्टिमिटर उचाई रहेको यो भूउपग्रह १३ सय ३० ग्राम तौलको छ । ०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग सम्झौता भएपछि यो भूउपग्रह निर्माण शुरु भएको थियो । यो भूउपग्रह बनाउन एक करोड ५० लाख जापानी यान खर्च भएको छ । जापानस्थित इन्स्टिच्युट अफ टेक्नोलोजीको प्रयोगशालामा बनाइएको चन्द्र सूर्य अंकित यो भूउपग्रहको भाइब्रेसन र भ्याकुम परिक्षण सफल भएको छ । पृथ्वीभन्दा ४ सय किमीमाथि रहने यो भूउपग्रहले प्रत्येक डेढ घण्टामा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ । यसले नेपालको आकाशमा दैनिक चार फन्को लगाउने बताइएको छ ।

४) महेश महर्जन

एकाएक चर्चामा आएर बर्ष व्यक्ति बन्न सफल व्यक्ति हुन् महेश महर्जन । बडि बिल्डर महर्जनले थाइल्याण्डमा सम्पन्न बडि बिल्डिङ एण्ड फिजिक स्पोर्टसमा ७५ केजी तौल समूहमा विश्व च्याम्पियनको उपाधि हात पारेका थिए । विश्व च्याम्पियनको उपाधि जित्ने महर्जन नै पहिलो नेपाली हुन् । यसअघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्न सकेको थिएन ।

विश्वस्तरको यो प्रतियोगता जितेपछि अब उनले ‘मिस्टर यूनिभर्स’मा प्रतिस्पर्धा गर्ने बताएका छन् । त्यस्तै अजित यादवले पहिलो युथ एसियाली स्वर्ण दिलाएका छन् । १७ बर्षे अजितले हङकङमा भएको ३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेन्डमा पूरा गरेका थिए ।

३) श्रृंखला खतिवडा

बर्ष २०७५ मा नेपाललाई बिश्वभर चिनाउन सफल व्यक्ति हुन् मिस नेपाल श्रृंंखला खतिवडा । नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय मिस नेपाल श्रृंखलाले मिस वल्र्ड प्रतियोगितामा सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ हात पारेकी थिइन् । २२ बर्षिय श्रृंखला मिस वल्र्ड २०१८ मा दुई वटा अवार्ड जित्ने एकमात्र प्रतियोगी हुन् ।

विश्वभरका ११८ सुन्दरीलाई पछि पार्दै श्रृंखला उत्कृष्ट १२ मा पर्न सफल भएकी थिईन् । बर्ष २०१८ मा उनलाई विश्वका २६ वटा देशबाट सर्वाधिक खोजी गरिएको थियो । श्रृंखलाका हजुरबुवा बद्री प्रसाद खतिवडा, बुबा बिरोध खतिवडा र आमा मुनु सिग्देल कम्युनिष्ट राजनीतिज्ञ हुन् । उनका बुवा बिरोध खतिवडा अहिले प्रतिनिधि सभाका सांसद छन् भने आमा सिग्देल ३ नम्वर प्रदेशका सांसद छन् ।

आर्किटेकको विद्यार्थी उनी कलेज टपर समेत हुन् । श्रृंखला सामाजिक कार्य अन्तर्गत मकवानपुरको विकट क्षेत्रस्थित चेपाङवस्तीमा हेल्थपोष्ट बनाई दिएकी छन् । आफ्नो ईन्ट्रेष्टले गरेको काममा मात्रै उचित सफलता पाउन सकिन्छ भन्ने धारणा लिएकी उनले मिस नेपालको ताजलाई प्रयोग गरेर सामाजिक कार्यमा लाग्ने सोच बनाएकी छन् ।

२) केपी शर्मा ओली

ईतिहासमै सर्वाधिक बलियो (७५.६३ प्रतिशत समर्थन प्राप्त) सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली ०७५ को बर्ष व्यक्ति बन्न सफल भएका छन् । करिव ६ दशकपछि तीन चौथाइ भन्दा बढी जन निर्वाचित सांसदको बिश्वासको मत जित्न सफल प्रधानमन्त्री ओलीले ०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । ठूलो जनअपेक्षासहित प्रधानमन्त्री बनेका नेकपाका अध्यक्ष ओलीले बर्ष ०७५ मा थुप्रै नयाँ महत्वाकांक्षी अभियानहरु घोषणा गरे ।

ओली नेतृत्वको सरकारले एक बर्षमा मौलिक हक कार्यान्वयन सम्बन्धी १६ वटा कानून बनायो भने २५ वटा कानून संघीय संसदबाट पारित गराए । यिनै कानूनहरुका कारण थुप्रै बहसहरु सिर्जना भए । प्रधानमन्त्री ओलीको एक बर्षे कार्यकालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २ पटक नेपालको भ्रमणमा आए । प्रधानमन्त्री ओलीले पनि भारतको भ्रमण गरेर विभिन्न सम्झौताहरु गरे । विराटनगरको भारतीय फिल्ड अफिस बन्द गर्नेदेखि १९५० को सन्धी लगायतका विषयमा प्रधानमन्त्री ओलीको अडानमा जनसमर्थन प्राप्त भयो । त्यसैगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौतापछि नेपाल भूपरिवेष्ठित अवस्थाबाट भूजडित अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना, पानीजहाज कार्यालय उद्घाटन, प्रधानमन्त्री रोजगार कार्यक्रम, जनताको जलविद्युत कार्यक्रम जस्ता आकर्षक र महत्वाकांक्षी कार्यक्रमहरुको उद्घोष गरे । त्यस्तै विद्यार्थी भर्ना अभियान, सहुलियत ऋणको व्यवस्थादेखि साना किसानहरुको ऋण मिनाहासम्मका कामहरु गरे । त्यस्तै गरेर ओली नेतृत्वको सरकारले श्रम स्विकृतिको सहज व्यवस्थाका साथै कर्मचारीको समायोजनको काम समेत टुंग्याएको छ ।

यसका साथै प्रधानमन्त्री ओलीले मन्त्रालयहरुको कामलाई प्रभावकारी बनाउनका लागि बिशेष सप्mटवेयर नै बनाएर नियमन गरिरहेका छन् । बर्षको अन्त्यमा प्रधानमन्त्री ओलीले बिखण्डनको राजनीति गरिरहेका तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई मूलधारको राजनीतिमा ल्याएका छन् ।

०७५ साल जेठ ३ गते तत्कालिन नेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । झण्डै ५५ बर्षसम्म फरक राजनीतिमा रहेका दुई ठूला कम्युष्टि पार्टी बीचको यो एकताले ठूलै तरंग पैदा गरायो । यो एकताका लागि पनि ओलीको नेतृत्वदायी भूमिका रह्यो ।

१) सन्दीप लामिछाने

बर्ष व्यक्तिको पहिलो स्थानमा रहन सफल भएका छन् युवा लेग स्पिनर सन्दीप लामिछाने । १८ बर्षिय सन्दीपले बिश्वमा नेपालको नाम मात्रै चम्काएनन् नेपालको स्थानलाई समेत उच्च बनाई दिए । बर्षको उत्कृष्ट खेलाडीको अवार्ड समेत हात पारेका सन्दीपले यस बर्ष थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लोभलाग्दो प्रदर्शन गरे ।

उनी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । प्रतियोगितामा उनले सर्वाधिक १७ विकेट लिएका थिए । नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामेवियाविरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानविरुद्ध २ तथा तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै युएईसँग भएको फाइनलमा उनले १ विकेट लिएका थिए ।

सन्दीपले क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिगमा पनि उत्कृष्ट प्रदर्शन गरे । मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । त्यस्तै सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पनि शानदार प्रदर्शन गरे । सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका थिए । उनले गुयाना अमेजन वारियरविरुद्ध २ विकेट, ट्रिनबागोविरुद्ध एक विकेट, जमैका तल्लावाहाविरुद्ध २ विकेट, सेन्ट स्टार्स लुसियाका २ विकेट लिएका थिए । प्रतियोगितामा उनी उत्कृष्ट इकोनोमी रेटका बलरहरुको सूचीमा शीर्ष स्थानमा कायम भएका थिए ।

त्यस्तै लामिछानेले मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा पाँच खेल खेलेका लामिछानेले १४ विकेट लिएका थिए । पाँच खेल मध्ये ३ खेलमा पराजय बेहोरेको नेपाल उपाधि होडबाट बाहिरिए पनि सन्दिप लामिछाने भने एसिया कप छनोट प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको सुचिमा दोस्रो भएका थिए । सन्दिपले युएइविरुद्ध भएको खेलमा ४ विकेट, मलेसियाविरुद्ध तेस्रो खेलमा २, सिङ्गापुर बिरुद्ध ३ विकेट, हङकङविरुद्ध ५ विकेट लिएका थिए ।

त्यस्तै गरेर उनले विश्व चर्चित बिग बास टी–२० क्रिकेट प्रतियोगितामा विदेशी खेलाडीहरुलाई समेत अचम्मित तुल्याई दिए । मेलबर्न स्टारसँग आबद्ध सन्दीपले सिड्नी सिक्सरविरुद्ध २ विकेट लिएपछि त्यहाँको मिडियामा समेत चर्चित बनेका थिए । उनी सर्वाधिक विकेट लिने बलरका रूपमा शीर्ष स्थानमा रहन सफल भएका थिए  । सन्दीपले ३ खेलमै ७ विकेट हात पारेका थिए । त्यहाँ उनले थन्डरका कप्तान सेन वाट्सन, होवर्टका वाडे र सिड्नीका कप्तान म्याक हेन्रिकलाई आउट गर्न सफल भए  ।

त्यस्तै यूएईको सारजहाँमा सम्पन्न टी–१० लिगमा सन्दीपले केरलाबाट ३ विकेटसहित म्यान अफ दी म्याच उपाधि जितेका थिए । सन्दीपले बंगलादेश प्रिमियर लिगमा पनि बबाल मच्चाए । बिपिएलमा सन्दीपले पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर सोएब मलिक र बंगलादेशका टेस्ट खेलाडी अनामुल हकको विकेट लिएका थिए । अहिले सन्दीप आइपीएलमा दिल्ली क्यापिटलबाट खेलिरहेका छन् ।

उनले बर्ष २०७५ मा झण्डै ५ करोड रुपैँया आम्दानी गरेका छन् । उनको राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगिता तथा ब्राण्ड एम्बासडरसहित गरी उक्त रकम कमाउन सफल भएका हुन् । उनी सानिमा बैंक, टाटा मोटर्स, जेभियर कलेज तथा एनसेलका ब्रान्ड एम्बासडर हुन् । उनको पारिश्रमिक पाकिस्तान सुपर लिग (पिसीएल) मा सन्दिप – ६० हजार अमेरिकी डलर, अफगान प्रिमियर लिगमा १५ हजार डलर, टी–१० लिगको सिजन २ मा ३० हजार डलर, आइपीएलमा २० हजार डलर, ग्लोबल टी–२० लिगमा ४० हजार डलर, सीपीएलमा ५ हजार डलर, बिगबासवाट ६८ लाख रुपैंयामा आबद्ध भएर खेलेका थिए ।

यो सामाग्री तयार पार्दासम्म सन्दीप सन् २०१९ को अहिलेसम्मकै सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका छन् ।

प्रतिकृया दिनुहोस्