नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैली उन्मादको भरमा चलेकाले त्यसविरुद्ध अब चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विपक्षी दलनिकट ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार एकपछि अर्को गर्दै सबैतिर हस्तक्षेप गर्ने र राज्यसत्ता कब्जा गरेर लोकतन्त्र मास्न उद्दत भएकाले आन्दोलनको विकल्प नभएको बताए ।

उनले संवैधानिक परिषद्का निर्णय, अनुसन्धान विभागलगायतका निकाय प्रधानमन्त्री मातहत राख्ने काम, सुरक्षा परिषद्को निर्णयबेगर सेना परिचालन गर्ने विषयले सरकारको अलोकतान्त्रिक चरित्र नांगो भएको बताए । सभापति देउवाले प्रधानमन्त्रीको इच्छाको भरमा सेना परिचालन गर्ने कुरा कुनै हालतमा मान्न नसकिने प्रस्ट पारे ।

उनले महँगी, भ्रष्टाचारजस्ता क्रियाकलापमा सरकारले सीमा नाघेको आरोप लगाए । आफूहरु एक वर्षसम्म सरकारको कामको मूल्यांकनमा भएपनि अब कुर्नसक्ने अवस्थै नरहेको उनले बताए । जताततै कर बढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम नै ‘करप्रसाद ओली’ बनाइसकेको सभापति देउवाको भनाइ छ ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तत्काल हिंसात्मक गतिविधि छाडेर वार्तामार्फत् समाधान खोज्न आग्रहसमेत गरे ।  कार्यक्रममा राजपा नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध तत्काल आन्दोलन थालेर ठेगानमा ल्याउनुपर्ने बताए ।

 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा महासचिव सीपी मैनालीलगायतले वर्तमान सरकार फाँसीवादी र दलाल चरित्रको भएको भन्दै देशव्यापी आन्दोलनका लागि कांग्रेसलाई नेतृत्व लिन आग्रह गरेका थिए । कार्यक्रममा चन्द नेतृत्वको नेकपाको शुभकामना सन्देशसमेत पढेर सुनाइएको थियो

प्रतिकृया दिनुहोस्