News Portal

ताजा शिर्षकहरु

समाचार समाज

पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै

तस्विरहरु–राजु सुवेदी, नेपाल फोटो सर्भिस ।

नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भिरमा जमिनमुनिबाट लगातार निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्याँस रहेको पुष्टि भएको छ । जमिनमुनिबाट लगातार धुवाँ निस्कनुको खास कारण भने खोजिदै छ ।
खानी तथा भूगर्भ विभागका प्रतिनिधिले स्थलगत अध्ययनका क्रममा धुवाँ निस्किनुको कारणबारे थप अध्ययन गर्न विभागको टोलीले घटनास्थलबाट माटो, ढुंगा तथा धुवाँका अवशेषका नमूना संकलन गरेको छ । अध्ययनको अन्तिम निस्कर्ष भने आउन बाँकी छ । खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान-नास्ट)सँग सम्वन्धित विज्ञहरुको टोलीले घटनास्थल पुगेर धुँवा निस्किएको क्षेत्रको अवलोकन तथा प्रारम्भिक अध्ययन गरेको हो ।
स्थलगत अध्ययनका क्रममा चट्टानमा रहेको कार्बनयुक्त पदार्थका कारण भूमिगत रुपमा ताप उत्पन्न भई धुवाँ निस्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि यसलाई अन्तिम वैज्ञानिक निष्कर्ष मान्न नसकिने विज्ञहरुले बताएका छन् ।
प्रारम्भिक स्थलगत अध्ययनबाट तत्काल ठूलो विस्फोटको जोखिम देखिएको छैन । तर घटनास्थलको प्रकृति र धुवाँ निरन्तर निस्किरहेको अवस्थालाई ध्यानमा राख्दै स्थानीयबासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ । भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार कार्वनको मात्रा बढी भएको भए आगो लाग्न सक्ने भए पनि अहिलेको अवस्थामा त्यसले धुवाँ उत्पन्न गरिरहेको हुन सक्ने देखिएको छ ।
अनुसन्धान टोलीले घाँगी भिरबाट बग्ने यत्ले खोलाको पानीमा निरीक्षणको क्रममा अम्लीयपन देखिएकोले प्रयोग नगर्न स्थानीयलाई सुझाव दिएको छ । धुवाँ निस्कने स्थानमा नजान र त्यहाँ दाउरा काठ नहाल्न पनि आग्रह गरिएको छ । स्थानीयका अनुसार यस क्षेत्रमा विगतमा पनि फरकफरक स्थानबाट धुवाँ निस्कने गरेको थियो । अहिले भने पछिल्ला महिनामा धुवाँ बाक्लो भएपछि विषय गम्भीर रुपमा उठेको हो ।
तस्विरहरु–राजु सुवेदी, नेपाल फोटो सर्भिस ।

प्रतिक्रिया