News Portal

ताजा शिर्षकहरु

समाचार समाज सहारापाटी विशेष

यसपाली दशैंलाई फर्केर हेर्दा…

दशैं २०८३ मा टिका ग्रहण पश्चात सामुहिक तस्वीरमा कुश्मा–६ माझगाउँ गिरी परिवार ।

दशैं नेपालीको महान चाड हो । दशैं नेपाली समाजको सांस्कृतिक विरासत हो । यसले आफूभन्दा ठुलाबडाको सम्मान गर्न सिकाउँछ । शुभभावना सहित आज्ञाकारिता र अनुशासन सिकाउँछ । संस्कृतिले मानवमा दया, करुणा, सद्भाव, सकारात्मक सोच र सामूहिक हितलाई बढावा दिन झकझकाउँछ ।
चाडवाडले एकले अर्को प्रति सकारात्मक चेतले हेर्ने प्रवृत्तिलाई आत्मसात गरौं भन्ने सन्देश दिन्छ । सारमा चाडवाडले हामीलाई प्रेम, विश्वास र सद्भावको विउ रोप्न अनि असल संस्कार र सभ्य घरसंसार निर्माण गर्न बल दिन्छन् । यदि यसो हैन भने चाडवाडको कुनै तुक छैन ।
नेपाली समाज सांस्कृतिक पाटोबाट हेर्ने हो भने अति नै सुसंस्कृत र सभ्य अनि धनाढ्य समाज हो । विश्वमा आज आधुनिकताको रापले चिन्ता, भय, डिप्रेसन लगायतका मानसिक अशान्तिका कारण फैलिने रोग बढ्दै गइरहेका बेला हामीलाई हाम्रा चाडवाडले सधै शान्त, सकारात्मक र परोपकारी चिन्तन राख्न सिकाइरहेका छन् । हामीले हाम्रो सांस्कृतिक विरासतको मर्मलाई आत्मसात गर्न सक्यौ भने हामी दुःखी कदापि हुने छैनौ ।
भौतिक विकास हुनुपर्छ तर भौतिक समृद्धि मात्रै विकासको मापदण्ड कदापि हैन । मानसिक शान्ति र प्रेमिल भाव भन्ने कुरा मानिसका अन्तरनिहित कुरा हुन् । हामीलाई हाम्रा चाडवाडले जीवन जिउने कला सिकाइरहेका छन् । बदलिदो समय र परिस्थिति अनुसार कतिपय कुरामा परिमार्जन गर्नुपर्ने केही कुरा होलान् तर हाम्रो संस्कृतिले दिने सांस्कृतिक भाव र सन्देश कदापि गलत छैन ।
आधुनिकतासँगै हाम्रो संस्कृतिमा पनि अनेक विसंगति र विकृत प्रभाव समेत पर्दै गएको हो कि भन्ने देखिन्छ । हामीले हाम्रो संस्कृतिसँगै अपनाउन पर्ने कला, सीप, साधनस्रोत विस्थापित हुन जाने त हैनन् भन्ने आशंका समेत छ । धेरै युवाहरू रोजीरोटी र शिक्षाका खातिर घरगाउँ छोडेर विदेश हानिदै गर्दा हाम्रा सांस्कृतिक विरासतको निरन्तरता र अस्तित्व कतै संकटतिर जान खोजेका त हैनन् भन्ने प्रश्न उव्जिएको पनि छ ।
हाम्रो परम्परा, रितीथिती, चालनचलन, भेषभुषा, धर्मसंस्कृति लगायतमा जलवायु परिवर्तन र खुला विश्व अर्थराजनीतिको प्रभाव समेत उत्तिकै देखा पर्दैछ । भोटकोशी लगायत बाढीपहिरोले धेरै नेपालीले जिउधन गुुमाउनुको पीडाका कारण यसपालीको दशै समेत अलि रमाइलो लाग्न सकेन । धेरै युवाहरू विभिन्न उद्देश्यले परदेश जाँदा पनि घरगाउँ केही दशक पहिलेजस्तो रमाइलो अहिले लाग्दैन ।
हाम्रा चाडवाडलाई साच्चिकै आनंदी, खुशी र रमाइलो गरी मनाउन पनि सवैभन्दा पहिलो हामी नेपालीले आत्मनिर्भर अर्थतन्त्र निर्माणतिर गम्भीर भइ लाग्नुपर्ने यसपालीको दशैको सन्देश मान्न सकिन्छ ।

 

प्रतिक्रिया