News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

आध्यात्मिक यात्राको पहिलो झलक आँसु

आध्यात्मिक यात्राको पहिलो झलक आँसु हो । पहिलो झलक आँसु भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । यो स्वभाविकै हो । मानिसको नयनबाट झर्ने आँसुको बडो गजब कथाव्यथा हुन्छ । आँसु झर्ने तरीका र लय फरक फरक हुन्छ । दुई थोपा आँसु सिधासिधै व्यक्तिको भावसँग जोडिएको हुन्छ । आँसु भावनाको समग्र रुप पनि हो । तिमीले तिम्रो आँसुलाई असली मित्रको रुपमा समेत लिन सक्छौ । दुई थोपा आँसु झरेसँगै तिमीले भावना पोखिएको बोध गर्नेछौ । भावना सुखद पनि हुन्छ र दुखदायी पनि हुनसक्छ । यहाँ भने यी दुवै कुरा उल्लेख गर्न नभई करुणाको आँसुबारे बोल्न खोजिदै छ । जुन आध्यात्मिक यात्राको एक यात्रीसँग जोडिन्छ ।
करुणाको आँसु आध्यात्मिक यात्राको पहिलो झलक हो । करुणाको आँसु जोकोहीमा रसाउन सक्दैन । करुणाको आँसु रसाउनका लागि बुद्धि भन्दा पर मुन्छेको मन हुत्तिएको हुनुपर्छ । मान्छे स्वभाविकै परपीडक मनोदशाबाट ग्रसित छ । अर्कोको दुःखमा रमाउने मान्छेको मनमा करुणाको जागृति हुनु मरुभूमिमा शीतल एक मुठी जलको खोजी गरे जस्तै हो । मनमा करुणा जगाउन मात्रै पनि एक व्यक्तिलाई वर्षौको त्याग, तपस्या र साधनाको आवश्यक पर्छ । त्यो भन्दा पनि बढी अझ भन्नुपर्दा गुरुको आर्शीवादको खाँचो पर्दछ ।
मान्छेले हरपल सुखबोध गर्न चाहन्छ । भौतिक सुखको खोजमा उ तड्पिन्छ । सुखको खोजीमा अनेकौ फन्का मार्छ । बत्तीको पुतली जस्तै भौतिक सुखको खोजमा व्यक्तिले इहलिला समाप्त गर्छ तर अन्त्यमा हात लाग्यो शुन्य भइरहेको हुन्छ । मुन्छेलाई भौतिक सुख र आध्यात्मिक गहन सुखको अन्तर नै पत्तो हुँदैन । भौतिक क्षणभंगुर सुखलाई नै सत्य सुख ठान्ने भ्रंम पालेको हुन्छ । सुखको खोजमा भौतिक वस्तुको संग्रहमा सारा उर्जा सकाउने मान्छे भनेको उही कुकुरले हड्डी चपाएजस्तै हुन् ।
मान्छेको नयनबाट करुणाको आँसु झर्न नसकेसम्म साँचो सुख कहिल्यै पनि हात पर्न सक्दैन । फेरि प्रश्न उठ्न सक्छ कि यो करुणाको आँसु के हो ? कसरी झर्छ ? मनमा करुणाको वृक्ष हुर्काउन पर्छ । यसका लागि तिमीले आफ्नै मनलाई मलजल गर्नुपर्छ । मलजल भनेको ज्ञान हो । मनलाई ज्ञानले सिञ्चित गर्नु हो । शिक्षा आर्जन गर्नु र ज्ञान लिनु भन्नु पनि फरक कुरा हो । शिक्षा आर्जन गर्ने मान्छेको मन ज्ञानी हुन्छ भन्नु पनि भ्रंम हो । यो बडो गजबको कुरा छ । शिक्षा आर्जन गर्ने मान्छे ज्ञानी भइदिने भए यो समाजमा भ्रष्ट किन हुन्थे र ? पढेलेखेका सरकारी सेवाको उच्च पदाधिकारी भइसकेका व्यक्तिले झन् बढी भ्रष्टचार गरेका उदाहरण देख्दा मानिसहरु दिक्क छन् ।
रजनीश ओशोले भने जस्तै जब बुद्धिले काम गर्न छोड्छ । बुद्धि भन्दा पारको विषयबाट आध्यात्मिकता सुरु हुन्छ । बुद्धिकै कसरतमा रमाउने मान्छेको आध्यात्मिक यात्रा धेरै टाढाको कुरा हो । धेरै मान्छेको जिन्दगी दैनिक नाफाघाटाको हिसाबकितावमा अल्झिएर जान्छ । आध्यात्मिक यात्राको प्रारम्भ तब मुन्छेले गर्न खोज्दछ जब उसले आफूले आफैलाई जीवनजगतको गहन वास्तविक तर नबुझ्ने बेलासम्मको भ्रंमबारे बुझाएको हुन्छ । भ्रंमको पर्दा च्यातच्यूत भई भौतिक संसारदेखि आध्यात्मिकतातर्फको यात्रामा आँसु एक उर्जा जस्तै बनिदिन्छ । भौतिक संसारमा दुई थोपा आँसु कहिकतै कम मूल्यको सावित होला तर त्यही आँसु आध्यात्मिक साधनातर्फ अगाडि बढेपछि अमूल्य भइदिन्छ । हल्का नभई ग¥हौ हुनपुग्छ ।
आँसु केवल तरल पदार्थ मात्रै रहदैन । आँसु एक आध्यात्मिक बोध हो । करुणा हो । जागरण हो । दुखसुख र हाँसोरोदनमा झर्ने आँसुलाई आध्यात्मिक रुपान्तरणको आँसुमा रुपान्तरण गर्नु नै वास्तविक क्रान्ति हो । आँसुको आध्यात्मिक क्रान्तिकारी रुपान्तरणले मात्रै मानिस वास्तविक स्वतन्त्र बन्छ । आँसुको बोध हुनु भनेको आफू आफैभित्र फर्कनु हो । आफ्नो वास्तविकतालाई बुझ्नु नै आँसुको मर्म हो । भौतिक संसारको दुखसुखमा झर्ने आँसु र आध्यात्मिक यात्रातर्फको आँसुको मर्म नै फरक छ ।
भौतिक संसारमा पनि मानिसले यसै आँसु बगाएको हुँदैन । आँसु बग्न पनि खास अर्थ र मर्म लुकेको हुन्छ । विना कारण अनायाशै आँसु बग्दैन । अझ छोरा मान्छे रुनु हुन्न भन्ने भाष्य छ । रुनु हुन्नको मतलब छोरा मान्छेको आँखाबाट आँसु बग्न सक्दैन भन्ने होला । के छोरा मान्छे जड हो ? आँखाबाट आँसु नै नबग्ने । यहाँनेर पनि अचम्मको कुरा के छ भने आँसु झर्ने भनेको मनको कमजोर मान्छे हुन्छ जस्तो भनाई राखिन्छ । यो कुरा गलत हो । मानिस मन, बुद्धि, विवेक र भावनाको समस्टि रुप हो । यी सप्पै कुराको सार आँसु हो ।
आकाशबाट जल वर्षिन पनि प्रकृतिको आफ्नै लय र प्रक्रिया पुरा गरेको हुनुपर्छ । प्रकृतिले जलचक्र बनाइदिएको छ । प्रकृतिमा जलचक्र पुरा गरी वर्षिने जलको जति महत्व छ उति नै मानव जीवनमा आँसुको महत्व छ । जलले माटोलाई जीवन दिए जस्तै आँसुले मानिसलाई जीवनबोध दिएको हुन्छ । मानिस पंचतत्वकै उपज हो । मानिस मृत्यु पश्चात पंचतत्वमै विलिन हुने हो । मानिसलाई आँसुले मात्रै पंचतत्वको बोध दिलाइ दिएको हुन्छ । पंचतत्वको वास्तविक बोधका लागि पनि आध्यात्मिकता अति आवश्यक छ ।
मानिसले प्रेम, विछोड, प्राप्ति, सुख, दुख, सफलता, असफलता अनेक अनेक परिस्थिति र घटनामा आँसु बगाउँछ । मानिसले बगाउने आँसु चाहे पीडाको होस् या हर्षका नै किन नहोस् । भौतिक जगतमा बग्ने आँसुको भौतिक शरीरसँगै अर्थ रहन्छ । आध्यात्मिक मार्गमा हाम फालिसकेको मुन्छेको आँसुले हरेक पल जीवनको गहन सुख र शान्ति तर्फ रुपान्तरण गराइदिन्छ । भौतिक संसारमा भौतिक वस्तु पाउनु र गुमाउनुले दिने आँसु भौतिक चीज जस्तै अल्पकालीन हुन्छ भने आध्यात्मिक पथमा मिल्ने आँसुले गहन सुख र शान्तितर्फ मान्छेको भाव रुपान्तरण गर्दै लैजान्छ ।
हिजोआज मान्छे आँसुको भाका र मर्म बुझ्न असमर्थ बन्दै गएको छ । यसो किन भएको छ भने कतिपयले आँसुको पनि झुठो खेती गरिरहेका हुन्छन् । व्यक्तिगत र सीमित स्वार्थ सिद्धिका लागि आँसुको व्यापार गर्न मुन्छेले खोज्दछ । आफ्नो खुशीका आँसुका लागि अर्कोको खुशीको आँसु बढाउन सक्नुपर्छ तर यहाँनेर ठीक आफ्नो खुशीका लागि अर्कोको खुशी खोस्न लालायित भइरहेको देखिन्छ । अर्कोको खुशीको आँसु खोस्नु भनेको आफू आफैबाट डिभोर्सी हुनु हो ।
आफ्नो आत्माबाट आफै मानिस डिभोर्स भइरहेको छ । भौतिक जगतमा अहिले श्रीमानश्रीमतीको डिभोर्स भइरहेको घटना बढ्दो सुनिन्छ । यसको खास कारण आफूभित्रको मबाट डिभोर्स भइसक्नु प्रमुख कारण हो । आफूले आफैलाई मानिसले चिन्न, बुझ्न र प्रेम गर्न भुलिसकेको छ । आफूलाई विर्सनु भनेको नै असली डिभोर्स हो । आफूभित्रको परमतत्व अर्थात म भन्ने तत्वलाई भुल्नुको परिणाम आज मान्छेले आँसु समेत डुप्लिकेट झराल्न खोज्दैछ । गोहीको आँसु भन्छ नि आज धेरै मानिसहरु अर्कोको दुखमा देखावटी आँसु झरालिरहेको हुन्छ । गोहीको आँसु भनेजस्तै मानिसले आँसु झराल्नु भनेको मानिसले आफ्नो सतोगुण गुमाइसकेको छ ।
मानिस गोहीको आँसु बगाउदा बगाउदै आफूलाई बढी भन्दा बढी पीडा र दुखको भवसागरमा कहिल्यै उम्कन नसकिने गरी डुबाउदै छ । यो गलत दिशा र खतरनाक मोडबाट आजको मानिसलाई कसरी रुपान्तरण गरी आध्यात्मिक पथमा ल्याउने भन्ने विषय अहंम हो । मानिसको मन उजाड र बञ्जर बन्दै गइरहेको छ । यसलाई पुराका पुरा बदल्नुपर्छ । मानिसको मन बदल्ने भन्ने कुरा पक्कै पनि सजिलो छैन । शरीरको कुनै भागमा लागेको क्यान्सर बरु मेटाउन अहिलेको विकसित चिकित्सकीय विज्ञानबाट सजिलो होला तर मान्छेको मनलाई बदल्नु सजिलो छैन । अझै आध्यात्मिक पथमा रुपान्तरण गर्नु थप कठिन छ ।
आध्यात्मिक पथको पहिलो शर्त नै मानिसको आँशुमा पवित्रता हुनुपर्छ । मानिसले निकाल्ने र खसाल्ने गोहीको आँसुको आध्यात्मिक यात्रामा कुनै मूल्य छैन । निर्मल, कञ्चन, पवित्र, प्रेमिल, निस्वार्थ मनको भवसागरबाट निस्कने आँसु नै आध्यात्मिक पथको सच्चा प्रमाण हो । नजिकै कोही मान्छे विमार भइ तड्पिएको छ । कोही भोकले तड्पिएको छ । कोही शोकले तड्पिएको छ । दुखमा रोइरहेको मान्छेको आँसु देखेर मन नरुने मानिस कसरी असल मानिस हुन्छ ? आपत र विपतमा पर्दै छट्पटिएको एक मानव आत्माको दुःखमा पनि करुणाको आँसु नबग्ने व्यक्ति आध्यात्मिक हुन कदापि सक्दैन । आध्यात्मिक हुनुको पहिलो शर्त नै करुणाको आँसु नयनमा छचल्किन सकोस् । अर्कोको दुःखले आफ्नो मनलाई पनि छोएको होस् । मनमा करुणा, दया, प्रेम, निश्छलता नभएको मान्छे आध्यात्मिक व्यक्तित्व हुँदै होइन ।
मनमा दया, करुणा, शान्ति, सद्भाव, निश्छलताले भरिभराउ हुनु नै आध्यात्मिक व्यक्तिको असली पहिचान हो । तिमीसँग लाखौ र करोडौ रुपैया हुनुपर्छ भन्ने छैन । तिमीले करोडौ रकम दान दिएको हुनुपर्छ भन्ने पनि छैन तर तिमीमा दोस्रोको दुखमा त्यो नयनबाट निश्छल आँसु बग्दै शुभभाव व्यक्त गर्दछौ भने पनि तिमी आध्यात्मिक पथिक बन्न सक्छौ ।
आध्यात्मिक पथिक बन्नका लागि दोस्रोलाई शुभभाव राख्न सक्नुपर्छ । जब तिमी अर्को मानिस प्रति शुभभाव दर्शाउँछौ भने तिमीभित्रको परमात्माले तिमीलाई शुभभाव दर्शाउँछ । जव तिमीभित्रको परमात्माले शुभभाव दर्शाउँन थाल्छ तव परमतत्व यानेकि शिवतत्वले पनि तिमीलाई सुख, आनन्द र शान्तिको वर्षा दिलाइदिन्छ । तिमीमा सुखका आँसु वर्षिने छन् अनि तिमी आध्यात्मिक यात्राको असली यात्रीको हकदार हुनेछौ । शिवतत्वको लयमा ध्यानसाधना मार्फत् मग्न हुँदै आनन्दविभोर भई झर्ने सुखबोधको आँसु कस्तो होला ? यो पलको बोध त एक सच्चा साधकलाई नै पत्तो होला ।
ओम् ।
–लेखक प्रनिश गिरी साहारापाटी डटकम अनलाइन पत्रिकाको सम्पादक हुनुहुन्छ ।

 

प्रतिक्रिया