News Portal

ताजा शिर्षकहरु

समाचार समाज

कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे

जलजला गाउँपालिकास्थित कालीगण्डकीय तटिय क्षेत्रमा पर्ने फर्से बस्ती ।

कालीगण्डकी नदीको बहाब बढेर बस्तीमा पानी पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् । बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका र बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विजय यादवका अनुसार शनिवार विहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा घरहरु बगाएको हो । घटनामा मानवीय क्षति भने भएको छैन ।
बाढीको जोखिम बढेपछि फर्से बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको डिएसपी यादवले बताउनुभयो । नदीको बहाव अझै बढ्न सक्ने तथा बस्तीमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा राखिएको हो । घटनास्थलतर्फ जाने बाटोमा पहिरो गएको कारण तत्काल प्रहरी टोली पुग्न नसकेको प्रहरीले जनाएको छ । फर्से बस्ती मिलनचोक प्रहरी चौकीबाट करिव ६ किलोमिटर पूर्वमा पर्छ ।
बाढीका कारण घर तथा अन्य भौतिक संंरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भए पनि क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी तथा स्थानीय तहको समन्वयमा थप विवरण संकलन र उद्धारको प्रयास भइरहेको वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।
कालीगण्डकी नदीमा पानीको बहाव बढेसँगै पोखरा–बाग्लुङ राजमार्गको सहस्रधारा सडकखण्डमा बाढीले क्षति पुराएको छ भने नदी आसपासका क्रसर उद्योगहरुमा समेत क्षति पुगेको छ । स्थानीय प्रशासनले नदी आसपासका बस्तीमा जोखिम बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

 

प्रतिक्रिया