News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

नेपालमा छापा माध्यमको इतिहास

नेपालमा छापा माध्यमको इतिहासलाई हेर्ने हो भने मोतिराम भट्टले वि.सं १९४३ (आमसंचार र पत्रकारिता अध्ययन, भानुभक्त आचार्य) मा नेपाली भाषामा प्रकाशन गरेको पहिलो पत्रिका ’गोर्खा भारत जीवन’ पाइन्छ । यो पत्रिका भारतको बनारसबाट प्रकाशन भएको थियो । नेपालमा पहिले साहित्यिक पत्रिकाबाट नै पत्रकारिताको पाइला अघि बढेको पाइन्छ । साहित्यकार भट्टकै पहलमा वि.सं. १९५५ मा नेपालकै पहिलो पत्रिकाको रुपमा ’सुधासागर’ को प्रकाशन भएको हो । यो पछि मात्र समाचारमूलक अखवार ’गोर्खापत्र’ वि.सं.१९५८ वैशाख २४ गते प्रकाशनमा आउन थालेको थियो । अझ नेपालमा छापा माध्यमको विकासलाई हेर्दा जंग बहादुर राणाले बेलायत भ्रमण सकेर फर्कदा वि.सं. १९०८ मा लिएर आएको प्रेसबाट शुरु भएको पाइन्छ । उनले ल्याएको प्रेसको टाउकोमा पखेटा फिजाएको गिद्धको आकृति भएकाले त्यसलाई ’गिद्धे प्रेस’ भनिने गरिन्थ्यो । यसै हाते मेशिनलाई पछि टाइप छापाखानाको नामले चिनेको पाइन्छ । यो मेशिन ल्याएको करीव ५० वर्षपछि मात्र गोरखापत्र प्रकाशन भएको थियो । यसको पहिलो व्यवस्थापक पण्डित नरदेव पाण्डे थिए । गोर्खापत्र वि.सं. १९८३ देखि गोरखापत्र भएको थियो ।

वि.सं.१९९१ सालमा ’शारदा’ साहित्यिक मासिक प्रकाशनमा आयो । जसको प्रकाशन ऋद्धिबहादुर मल्लले गरेका थिए । मोहनशमशेरको प्रधानमन्त्रित्व कालमा पहिलो पटक वि.संं.२००५ मा ’छापाखाना र प्रकाशनसम्वन्धी ऐन’ जारी भएको देखिन्छ । यसले भर्खरै मात्र प्रजातान्त्रिक परिवेशमा फस्टाउन थालेको पत्रकारिता जगतलाई अंकुश लगाउने प्रयास गरेको थियो । राणा शासनकोेेेेेेे अन्त्यपछि २००७ सालको प्रजातान्त्रिक संविधानले मौलिक अधिकारका रुपमा वाक् तथा प्रकाशन स्वतन्त्रतालाई मान्यता दिएपछि छापा माध्यमको प्रकाशनले तीव्रता पाएका थिए । वि.सं.२००७ सालमा रेडियो नेपालको स्थापना भयो । मुलुकका विभिन्न भाषामा पत्रपत्रिकाहरुको प्रकाशन भयो । २००७ देखि २०१७ सम्मका पत्रपत्रिकाहरुलाई समाचार, समिक्षा, पार्टीगत मुखपत्र, शिक्षा, लोक जागृति र साहित्यसँग सम्वन्धित नै बढी देखिन्छ ।

जव राजा महेन्द्रले प्रजातन्त्रलाई कु गरेर २०१७ सालमा पंचायती व्यवस्था मुलुकमा लादे यसपछि २०३६ सम्म पत्रकारिताको इतिहास स्वतन्त्रताका दृष्टिले कमजोर सावित रह्यो । वि.संं. २०१९ मा जारी भएको छापाखाना र प्रकाशनसम्वन्धि ऐनको उद्देश्य प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्नु थियो । पत्रिका प्रकाशनमा धेरै प्रतिवन्ध हुँदाहुँदै पनि यो कालखण्डमा पत्रकारितासम्वन्धि केही संघसंगठनहरुले विकासका पूर्वाधार निर्माण गरेको पाइन्छ । नेपाल टेलिभिजनको स्थापना २०४१ मा भयो । यसै समयमा राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल, प्रेस क्लव, प्रेस पारिश्रमिक संघ, श्रमजीवी पत्रकार सभा, गोरखापत्र कर्पोरेशन लगायतका संस्थाहरुको स्थापनाले पत्रकारिताको विकासमा अहंम भूमिका खेले । पंचायती व्यवस्थाले वाक् स्वतन्त्रतामा कडाइ गर्दागर्दै पनि यो अवधिमा पनि धेरै पत्रपत्रिकाहरु प्रकाशित भएको पाइन्छ । वि.सं. २०३४ देखि २०३५ मा मात्र ९४ वटा अखवारहरुप्रकाशित भएका थिए । यो अनुदार पंचायती कालखण्डमा पत्रकारको कारवाही र गिरप्तारीका घटनाहरु उल्लेख्य छन् ।

वि.सं. २०३६ सालमा जनमत संग्रहको घोषण भएपछि वाक् तथा प्रकाशन स्वतन्त्रतामा केही खुुकुलो वातावरण बनेको थियो । खासगरी वि.सं.२०३६ देखि २०४६ सम्मको समयावधिमा मिसन पत्रकारिता प्रभावकारी बन्यो । बहुदलीय र निर्दलीय दुई राजनीतिक धारको समर्थनमा पत्रकारिता जगत बांडिएको थियो । २०४६ सालको आन्दोलनमा नेपाली मिडियाको भूमिका महत्वपूर्ण रह्यो । यो आन्दोलनको सफलता र मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि पत्रकारिताले औधोगिक रुप लिएको छ । यो समयपछि नै निजी क्षेत्रबाट ठुलो लगानीमा कान्तिपुर, द काठमाण्डु पोस्ट, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, राजधानी लगायतका दैनिक पत्रिका साथै साप्ताहिक र पाक्षिक पत्रिकाहरु संचालनमा छन् ।

द्धन्द्धकालीन अवस्थामा नेपाली मिडियाले अनेकौ समस्या झेल्दै गर्दा पनि आफ्‌नो भूमिकालाई कमजोर बन्न दिएका थिएनन् । वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले चालेको शाही कदमले नेपाली संचार जगत बेस्सरी प्रताडित हुन पुगे । राजाको प्रत्यक्ष शासन कालमा नेपाली मिडियाहरु सरकारी पक्षबाट नै लुटिन पुगेका थिए । २०६३ वैशाख ११ गते शाही सत्ता हटेर लोकतन्त्रको स्थापना भएपछि नेपाली मिडियामा सकारात्मक कार्यहरु हुन पुगेका छन् । सूचनाको हक, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐन जस्ता विषयले स्थान पाएका र पाउने क्रममा छन् । पत्रकारिता शिक्षाको अध्ययनमा सकारात्मक थालनी भएको छ । लोकतन्त्रपछि धेरै राम्रा कुराहरु संचार जगतमा देखा परे पनि अझैं केही समस्या र चुनौती भने नभएका हैनन । अझै पनि पत्रकारहरुले समाचार लेखेकै आधारमा असुरक्षा महसूस गर्नुपर्ने अवस्था हटेको छैन । नेपाली मिडिया जगतलाई व्यावसायिक र सुरक्षित बनाउन पहल गर्नुपर्ने कुरा धेरै छन् ।

पर्वतमा छापा माध्यमको इतिहास

पर्वतको छापा माध्यमको इतिहासलाई हेर्ने हो भने हस्त लिखित पत्रिका आँकुरा सम्म पुग्न सकिन्छ । यो पत्रिकालाई पर्वतका वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले वि.सं.२०१८ मा निकालेका हुन् । यो केही समय मात्र निकालिएको थियो । त्यतिवेला छापाखाना पर्वतमा थिएन । छापाखानाको अभाव भए पनि आफूले पत्रिकाको रुपमा साहित्यिक रचनाहरु कविता, केही विचारहरु हातले नै लेखेर निकाल्ने गरेको साहित्यकार श्रेष्ठ बताउँछन् । वि.सं. २०२१ सालतिर नै साहित्यकार श्रेष्ठकै सम्पादनमा पर्वत बुलेटिन प्रकाशन गरिएको थियो । यो बुलेटिनको प्रकाशन पंचायत विकास केन्द्रले गरेको थियो । बुलेटिन निकाल्नका लागि टाइपराइटरमा टाइप गर्ने र लिथो मेशीनबाट निकाल्ने गरिन्थ्यो । यो बुलेटिन १२ पेजसम्मको हुने सम्पादक श्रेष्ठ बताउँछन् । बुलेटिनमा विकास निर्माण, शिक्षा, विभिन्न सूचनाहरु प्रकाशन गरिन्थे । पर्वतकै साहित्यकार मोहन बहादुर मल्ल सम्पादक रहेर पर्वतमाला साहित्यिक पत्रिका वि.सं.२०२२ सालमा प्रकाशन भएको थियो । यसको सहसम्पादकमा शेर बहादुर गुरुङ, शान्तिनारायण श्रेष्ठ, श्यामानन्द पौडेल, पूर्णलाल श्रेष्ठ रहेका थिए । यो पत्रिका काठमाण्डौबाट प्रकाशन गरिएको थियो । जोर गणेश प्रेसमा यो पत्रिका छापिएको हो । अर्धवार्षिक यो पत्रिका दुई अंक मात्र छापिएको थियो ।

साप्ताहिक पत्रकारिताको विकासक्रम हेर्दा भने चालीस दशकको अन्तिम समयदेखि भएको पाइन्छ । सवैभन्दा पहिले साप्ताहिक पत्रिकाबाट पर्वतको पत्रकारिताको इतिहास शुरु भएको देखिन्छ । हरिहर पोख्रेलको सम्पादनमा पर्वतदूत साप्ताहिक प्रकाशन २०४९ सालमा भएको थियो । पर्वतमा छापाखाना नभएपछि यो पत्रिका बाग्लुङ जिल्लामा लगेर छापिएको थियो । यो पत्रिका केही समय प्रकाशन भएपछि बन्द भयो । पर्वतमा वि.सं. २०५२ मा हरि कर्माचार्यले छापाखाना संचालन गरे । उनको गुप्तेश्वर छापाखानाबाट पर्वतको पत्रकारिता क्षेत्रलाई अगाडि बढ्न सहयोग पुगेको थियो । यही छापाखानाबाट २०५४ सालमा कालिको सुसेली त्रैमासिक पत्रिका, सम्पादक इन्द्रकुमार विकल्प र सगुन, त्रैमासिक सम्पादक शान्तिनारायण श्रेष्ठ रहेका साहित्यिक पत्रिकाहरु प्रकाशनमा आए । कालीको सुसेली निरन्तर अहिलेसम्म प्रकाशनमा आइरहेको छ । त्यसैगरी राजेन्द्र पहाडीको सम्पादनमा त्रैमासिक पत्रिका समुदाय र सृजना प्रकाशनमा आइरहेको छ भने सरस्वती शर्मा जिज्ञासु सम्पादक रहेको माधुरी साहित्यिक पत्रिका समेत प्रकाशन हुँदै आएको छ । युवा साहित्यकार तथा स्वतन्त्र लेखकको रुपमा चिनिएका आरके अदिप्त गिरीले ऋतुरंग साहित्यिक पत्रिका २०५८ मा प्रकाशन गरेको थिए तर यसलाई उनले निरन्तरता दिन सकेनन् ।

पर्वतको पत्रकारिता जगतले पचासको दशकपछि तीव्र रुपमा फड्को मारेको छ । यो दशकमा साप्ताहिक पत्रिकाहरु धेरै प्रकाशनमा आएका छन् । पर्वत सन्देश, २०५७ सम्पादक सागरप्रसाद पाध्या, मोदिकाली, २०५८ सम्पादक हरिनारायण रेग्मी, निस्पक्ष अभिमत, २०५८ सम्पादक भोलानाथ शर्मा रहेर साप्ताहिक पत्रिका प्रकाशन भएका थिए । हाल जिल्लामा ११ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा छन् । सानो बजार र चर्को प्रतिस्पर्धाका विच पत्रपत्रिकाहरु गुज्रनु परेको छ । कतिपय पत्रिकाहरु स्थापना हुने र केही समय प्रकाशन भएपछि बन्द हुने प्रचलन जस्तो रहेको छ । जिल्लामा पहिलो पटक २०६३ मा स्थापना भैइ आएको अहिंसावादी रेडियो पर्वतसँगै अन्य एफएम रेडियोहरु पनि स्थापना र संचालनमा छन् । जिल्लामा दैनिक पत्रिकाको सवालमा हेर्दा तीनवटा पत्रिकाहरु कालीगण्डकी दैनिक २०६८, सम्पादक भोलानाथ शर्मा, सहारा न्यूज दैनिक २०६८, सम्पादक प्रनिश गिरी र भवानीप्रसाद शर्माको सम्पादनमा धौलागिरि पोष्ट २०७२ संचालनमा रहेको भए पनि हाल कालीगण्डकी दैनिक पत्रिका मात्र निरन्तर प्रकाशनमा छ ।
जिल्लाको मिडिया क्षेत्रले सूचना, समाचार र विचारको संम्प्रषण मार्फत् पर्वतबासी जनतालाई सचेत र जागरुक बनाउन ठुलो योगदान पुराउदै आएका छन् ।

प्रतिक्रिया