पर्यटकीय जिल्लाको रुपमा चिनिदै गएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सा लगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो छ । जिल्लाका स्थानीय पालिकाहरुले फोहोरलाई मोहोर बनाउने भनी आश्वासन बाँडेको वर्षौ वितिसक्दा समेत माखो मार्ने काम गरेका छैनन् ।
जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिका सहित पाँच गाउँपालिकाहरु गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसंख्या र बजारीकरणसँगै फोहोर उत्पादनको मात्रा बढ्दो छ ।
पालिकाहरुमा बजारीकरण हुँदा फोहोर व्यवस्थापनको चुनौती थपिएको हो । पोखरा–बाग्लुङ पृथ्वीराजमार्गसँगै सटेको डिमुवा र पातीचौर बजार मोदिगाउँपालिका पर्दछ । पालिकाले वर्षेनी तयार पार्ने नीति र कार्यक्रममा फोहोरलाई मोहोर बनाउने भनिए पनि कार्यान्वयन भने गर्न सकेको छैन । मोदीगाउँपालिकाको केन्द्र पातीचौर बजारबाट दैनिकजसो उत्पादन हुने एक ट्याक्टर फोहोर व्यवस्थापनको चुनौती पालिकालाई थपिएको छ ।
मोदी गाउँपालिकाले मोदीखोला नजिकै नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको जग्गामा डम्पिङ साइट बनाएर फोहोर फाल्ने गरेको छ । गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार प्राधिकरणले हटाउन ताकेता गरेको पनि वर्ष वितिसकेको छ तर उपयुक्त जग्गा र प्रविधिको खोजी पालिकाले गर्दैछ । यसअघि पालिकासहित बजार क्षेत्रको फोहोर पोखरा–बाग्लुङ राजमार्गसँगै मोदीखोलाको किनार महभीर साइडमा फालिने गरिन्थ्यो । जिल्लामा कुनै पनि स्थानीय निकायले फोहोर व्यवस्थापनको दिगो तरिकाहरु फोहोरबाट उर्जा रुपान्तरण गर्ने, फोहोर घटाउने, रिसाइकल गर्ने काम गरेका छैनन् ।
फोहोरजन्य पदार्थहरु प्लाष्टिक, बोतल, कागज, शीशा, गिलास, इलेक्ट्रिक फोहोर, चिकित्सक फोहोर, धातुलाई खोल्साखोल्सी, भिर, नदी, घाट, सामुदायिक वन लगायतका क्षेत्रमा अव्यवस्थित तरीकाबाट फालिएको देखिन्छ । प्रदेश अस्पताल पर्वतले चिकित्सा फोहोर आफैले आधुनिक प्रविधिको प्रयोग मार्फत् व्यवस्थापन गर्दै आएको अस्पताल संचालक समितिका निवर्तमान अध्यक्ष शंकर गिरी बताउनुहुन्छ । फोहोरको यत्रतत्र अवैद्य डम्पिङ साइट बनाइदा वातावरणीय प्रभाव र जनस्वास्थ्यको चिन्ता स्थानीयलाई छ ।
जिल्लाको सदरमुकाम बजार रहेको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड) नामक गै¥हसरकारी संस्थालाई सुम्पेर फोहोर व्यवस्थापनको सम्झौता आर्थिक वर्ष २०७५÷०७६ मा ५ वर्षलाई गरिएको थियो । सम्झौता अनुसार उक्त संस्थाले फोहोर व्यवस्थापनबाट नगरपालिकालाई पाँच वर्षमा हुने आम्दानी भनी १ करोड ९१ लाख ५० हजार उल्लेख गरेको भए पनि विचमै संस्थाको पदाधिकारी संम्पर्कविहीन भएपछि नगरपालिकालाई लाखौ रकम नोक्सानी भएको छ । नगरपालिकाले संस्थालाई ल्याण्डफिल र ट्रिपर उपलब्ध गराएको थियो ।
नगरपालिकाले स्थानीयबासीसँग शुल्क लिएर फोहोरको व्यवस्थापन गरेको छ । सामुदायिक जंगल क्षेत्रभित्र डम्पिङ साइट निर्माण गरेको कुश्मा नगरपालिकाले व्यवस्थित तरीकाले फोहोरको विसर्जन गर्न सकेको छैन । फोहोरमैला कामदारले आफूहरुलाई स्वास्थ्य जोखिम रहेको गुनासो गरेका छन् ।
जलजला गाउँपालिकाले पनि फोहोर व्ववस्थापन व्यवस्थित गर्न सकेको छैन । पालिकाको केन्द्र रहेको बजार क्षेत्रबाट उत्पादन हुने फोहोरको व्यवस्थापन व्यवस्थित डम्पिङ साइटमा हुन नसकेको र कालीगण्डकी नदी किनारमा फोहोर फाल्दा नदी प्रदुषित बन्दै गएको स्थानीयको गुनासो छ ।
पर्वतको कालीगण्डकी किनारमा रहेको मालढुंगा बजार क्षेत्र साथै सहस्रधारा आसपासका व्यवसायी र स्थानीयबासीले नदी किनारमा नै फोहोर फालिदिदा नदी क्षेत्र प्रदुषित बन्दै छन् भने वन्यजन्तुलाई समेत जोखिम छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने फलेवास नगरपालिकाको फलेवास बजार, विहादी गाउँपालिका लगायत महाशीला गाउँपालिका क्षेत्रमा पनि व्यवस्थित डम्पिङ साइटको निर्माण हुन सकेको छैन ।
पैयुँ गाउँपालिकाका अनुसार भुर्तेलथाके खोलाखर्कमा १ करोड ३० लाख खर्चिएर फोहोर व्यवस्थापन केन्द्रको निर्माण गरिएको छ । वालिङ नगरपालिकासँग फोहोर व्यवस्थापनका लागि सहकार्य गरेको पैयुँ गाउँपालिकाले फोहोर विक्रीबाट वर्षमा ३ देखि ४ लाख आम्दानी गरेको जनाएको छ ।
स्वच्छ र दिगो वातावरण कायम गर्न फोहोर व्यवस्थापन गर्नु पर्ने हुन्छ भने फोहोर व्यवस्थापन गर्नु स्थानीय निकायको महत्वपूर्ण कार्य भए पनि महत्व दिएको पाइदैन ।
प्रतिक्रिया