पर्वत जिल्लाको ऐतिहासिक महत्व रहेको बान्द्रेविडी चौर अव्यवस्थित र कुरुप बन्दै गएपछि स्थानीय युवाहरु चिन्तित छन् । संरक्षणमा कसैको ध्यान नपुग्दा कुनैबेलाको हरियाली सुन्दर चौर यतिखेर फोहोरजन्य पदार्थ मिल्काउने डम्पिङसाइट जस्तै बनेको छ ।
बाल्यकाल बान्द्रेविडी चौरमा खेल्दै विताएका स्थानीय युवाहरु अहिले जनश्रमदान मार्फत् संरक्षणमा जुट्ने भएका छन् । स्थानीय युवाहरुले चौरको कुरुप अवस्था देखेपछि मनमा पीडा भएको दुःखेसो गरेका छन् ।
जिल्लामा हुने खुला राजनीतिक आमसभाको आयोजना बान्द्रेविडी चौरमा हुने गर्दथ्यो । कुश्मा नगरपालिका वडा ६ मा पर्ने बान्द्रेविडी चौर पुर्खाले संरक्षण गरी राखेको शिवालय गुठी अन्तर्गत पर्दछ । बान्द्रेविडीको खुला चौरको मञ्चबाट जिल्लादेखि राष्ट्रिय तहका राजनीतिक नेताहरुले भाषण गरिसकेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुश्मामा केही वर्ष भित्रै रेलवे स्टेशन बन्ने भनी भाषण गरेको पनि बान्द्रेविडी चौरको मञ्चबाट हो ।
नेपाली दिदीवैनीहरुले मनाउने तीज पर्व, मेला र महोत्सव समेत २० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको बान्द्रेविडी चौरमा हुन्थे । पितापुर्खाले गुठीको रुपमा संरक्षण गर्दै आएको बहुआयामिक महत्वको बान्द्रेविडी चौर केही वर्ष यता संकटमा छ ।
संरक्षणमा अभियानमा लागेका स्थानीय युवा संविधान गिरीले भन्नुभयो–ूचौरमा हरियाली देखिने दुबो छैन । गिटी र ढुंगा थुपारिएको छ । ठेकेदारले मनलाग्दो गरी जथाभावी थुपारेको गिटी र ढुंगाबारे वडा ६ का जनप्रतिनिधि मौन छन् । फोहोरजन्य पदार्थ फालिएको छ । युवा संरक्षणमा नजुटेमा भएको जग्गा पनि हडपेर सकिने खतरा भएपछि हामी संरक्षणमा जुटेका छौं ।ू
खुला चौरमा जोकोही स्वच्छन्द घुम्ने र बस्ने वातावरण छैन । वरिपरि ठुला कंक्रीटका पर्खाल लगाइएको छ । चौरमा रहेको सयौं वर्ष पुरानो विशाल समीको रुखका हाँगा काटेर ठुटो बनाइदा कुरुप देखिएको छ । सरोकारवाला पक्षसँग चौरको संरक्षण गर्न आवाज उठाउदा कतैबाट सुनुवाई र सहयोग नभएपछि आफुहरु जनश्रमदान मार्फत् भए पनि लागि पर्ने स्थानीय युुवा अभिलाष गिरीको भनाई छ ।
चौरसँगै रहेका खुला मञ्च र चिनिएका चौतारी लगायतका भौतिक संरचनाहरुको समेत उचित संरक्षण नभएको स्थानीय युवाहरुको गुनासो छ । सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटकीय आकर्षणको केन्द्रको रुपमा अगाडि बढाइने योजना स्थानीय युवाहरुको छ ।
दशकौ पहिले स्थानीयले गाईवस्तु चराउने र गाईवस्तुलाई आहाल राख्ने सुविधा समेत चौरमा थियो । बान्द्रेविडी चौर सवैको साझा थलो हो । केही वर्ष अघिसम्म हरियाली देखिने चौर मैदान, चौरमा रहेका चिटिक्क परेका वरपीपलका चौतारी, चौतारीमा खेल्ने स्थानीय बालबालिकाको निश्छल हाउभावले सवैलाई आनन्दी तुल्याउने स्थानीय सम्झिछन् ।
स्थानीयका अनुसार पर्वतको पूर्व क्षेत्रमा पर्ने राम्जा, सिल्मीदेखि मोदीगाउँपालिका साथै कास्कीबाट अन्तिम संस्कारका लागि मोदीवेणी घाटसम्म शव लिएर आउने मलामीहरु आराम गर्ने र काँध फेर्ने थलो समेत बान्द्रेविडी चौर हो । चौर अव्यवस्थित बनेपछि मलामीले शव विसाउन समेत नपाएको स्थानीय गुनासो छ ।
प्रतिक्रिया