News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहारापाटी विशेष

संरक्षण रणनीति नहुँदा वन्यजन्तुको अस्तित्व खतरामा

पर्वत जिल्लामा वन्यजन्तु संरक्षण रणनीतिको अभावका कारण जैविक विविधता नष्ट हुने खतरा देखा परेको छ । राज्यले वन्यजन्तु संरक्षणको लागि नीति, योजना र कार्यक्रम बनाउन नसकेपछि जैविक विविधताले सम्पन्न पर्वत जिल्लामा संकट देखा परेको हो ।
ंपर्वतको उत्तरी भेग खासगरी ३१०० मीटर उचाईमा रहेका हपाल, लेसपार्क लगायतका स्थानहरुमा डाँफे, मुनाल, ठुलो गिद्ध, जंगली भैसी प्रजातिको थार, काँठेभ्याकुर लगायतका वन्यजन्तुहरु कम संख्यामा देखिन थालेको स्थानीयहरुको गुनासो छ । जिल्लाको उत्तरीभेगमा रहेको खर्सुवास सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नरसिंह पुनले केही दशक अगाडिसम्म प्रशस्तै देखिने डाँफे, मुनाल, ठुलो गिद्ध यतिखेर कम संख्यामा मात्रै देखिने बताउनुभयो । उत्तरी भेगमा घोरल, थार, मृग, वन खरायो, मृग, भालु चितुवा लगायतका वन्यजन्तु पाइन्छन् ।
जैविक विविधताले सम्पन्न पर्वत जिल्लामा पाइने विविध प्रकृतिका वन्यजन्तुको अध्ययन र संरक्षणका लागि राज्यको ध्यान पुग्न सकेको छैन भने स्थानीय सरकारले समेत कुनै महत्व दिएको पाइदैन ।
पर्वतमा लोपोन्मुख प्रजातिका वन्यजन्तुहरु चितुवा, घोरल, लंगुर, धुँवा बाँदर, मृग, गिद्धहरु हिमाली गिद्ध, सेतो आदि पाइन्छन् । संकटापन्न सूचीमा पर्ने वन्यजन्तु प्रजातिको रेड पाण्डा समेत पर्वतमा पाइन्छ । यी लगायत रातो बाँदर, वन भैसी, वन सुँगुर, स्याल, भालु, वन विरालो, वन कालिज लगायत प्रजातिका वन्यजन्तु जिल्लाको विभिन्न राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पाइन्छन् । विभिन्न प्रजातिका जंगली जनावरको विस्तृत र नियमित अध्ययन नहुँदा संरक्षण, विकास र नीति निर्माण लगायतका सवै पक्षमा बाधा पुगेको जिल्ला वन डिभिजन कार्यालयको गुनासो छ ।
जिल्लामा पाइने कुन प्रजातिका वन्यजन्तु संकटग्रस्त छन्, कति संख्या र कस्तो अवस्थामा छन् भन्ने बारेमा वैज्ञानिक अनुसन्धान र खोजी हुन नसक्दा भएकै छैन । वन्यजन्तुको वासस्थान कहाँ र कस्तो स्थितिमा छ भन्नेबारे पत्तो छैन । जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत राम विकका अनुसार कार्यालयसँग जिल्लामा पाइने वन्यजन्तु कुन क्षेत्रमा कति संख्यामा रहेका छन् भन्ने एकीन जानकारी नहुँदा अवैद्य चोरीसिकारी र तस्करीको सम्भावना छ ।
वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जिल्लामा वन्यजन्तुको अवस्थाबारे अनुसन्धान गर्ने कार्य आफ्नो कार्यालयको नभई वन अनुसन्धान तथा प्रशिक्षण कैन्द्र पोखराको बताउनुहुन्छ । प्रमुख न्यौपानेका अनुसार जिल्ला डिभिजन वन कार्यालयले वन्यजन्तुको अवस्थाबारे विस्तृत अध्ययन र खोजी गर्दैन । जिल्लामा वन्यजन्तुको वासस्थानमा अध्ययन, निगरानी र संरक्षणमा आवश्यक पहल नहुँदा मानव–वन्यजन्तु द्धन्द्ध बढ्दो छ । वन्यजन्तुले खेतीवाली नोक्सान गर्ने, गाईवस्तुलाई आक्रमण गर्ने र वन्यजन्तुको पनि मृत्यु हुने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७७⁄०७८ देखि २०८०⁄०८१ को असार मसान्तसम्मको अवधि हेर्दा मात्रै ३३ वटा चितुवा मृत भेटिए भने ५ वटाको उद्धार गरिएको वन डिभिजन कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५ देखि यता वन्यजन्तु खासगरी चितुवाले ५२९ वटा आक्रमण गरेकोमा ५७९ वटा गाईवस्तु मारिएका छन् । पशुधन राहत वापत राज्यले ६१ लाख ४० हजार भन्दा बढी रकम वितरण गरेको छ ।
वन कार्यालयको अनुसार आर्थिक वर्ष २०७९⁄०८० मा मात्रै ९ वटा चितुवा मरेको अवस्थामा भेटिएका थिए । मृत भेटिएका धेरैजसो चितुवाले विष सेवन गरेको पाइएको छ । वर्षेनी मृत फेला पर्ने गरेका अन्य वन्यजन्तुहरुमा राजवंशी लोखर्के, पलसाप्रो, निरविरालो, रतुवा मृग लगायत छन् ।
जिल्लामा विकासका लागि सडक, बाँध, पर्यटन पूर्वाधार निर्माण गर्दा वन्यजन्तुको वासस्थान नष्ट हुने खतरा छ भने विकास परियोजना वातावरण मैत्री हुन सकेका छैनन् ।
जिल्लाको उत्तरी भेग खासगरी जलजला, बुढीगाउँ, देउराली, काँफलडाँडा, ठाना, लामघुर लगायतका वन क्षेत्रमा लोपोन्मुख प्रजातिका धेरै वन्यजन्तुहरु पाइने गरेको बताइन्छ भने लोपोन्मुख प्रजातिमा पर्ने घोरल पर्वतको बुढीगाउँ र पकुवा डाँडाको वन क्षेत्रमा पाइन्छन् ।

प्रतिक्रिया