News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाज सहारापाटी विशेष

ग्रामीण बस्तीका सामुदायिक विद्युतीय सेवा संकटमा

पर्वतका ग्रामीणबस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले संचालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय विभिन्न चुनौतीका कारण संकटमा पर्न गएका छन् । संचालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत चुहावट तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युतीय संस्थाहरुको अवस्था जटिल बनेको हो ।
जिल्लाको बाच्छा सामुदायिक विद्युत उपभोक्ता समितिलाई विद्युत सेवा दिलाउन हम्मेहम्मे परेको छ । समितिका सचिव डम्मर कार्कीका अनुसार समितिले ७ लाख रकम नोक्सानी व्यहोर्नु परेको छ । मीटर रिडिङ र लाइन मर्मत गर्ने दुई जना कर्मचारीलाई तलब दिन सकेको छैन । विहादी गाउँपालिकास्थित वडा १ बाच्छाका अध्यक्ष चित्र बहादुर गुरुङ समितिलाई विद्युत प्राधिकरणमा हस्तान्तरण गर्न खोज्दा पनि नसकेको बताउनुहुन्छ । अध्यक्ष गुरुङ भन्नुहुन्छर्–विगत १५ वर्षदेखि संस्थाको लेखापरीक्षण र नविकरण भएको छैन । वैधानिकता नभएको भनी विद्युत प्राधिकरणले हस्तान्तरण गर्न खोज्दा मान्दैन । व्याजमा रकम खोजेर विद्युत महसुल भुक्तानी गरिएको छ । गाउँका ८० जना उपभोक्ताले घरमा मिटर जडान नगरी विद्युत उपभोग गरेका छन् । प्रति ग्राहक एक सय रकम विद्युत उपभोग वापत लिने गरिएको छ ।Ú
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार जिल्लामा सामुदायिक थोक उपभोक्ता समितिको संख्या २४ वटा रहेको छ भने सामुदायिक ग्राहक संख्या १३ हजार ४९० रहेको छ । उपभोक्ता समिति मातहतका विद्युत ग्राहकहरुले मासिक कुल ३ लाख ६६ हजार ७३८ युनिट विद्युत खपत गर्दै आएका छन् । केन्द्रले सामुदायिक विद्युत संस्थाबाट असुल गर्न पर्ने बक्यौता रकम हालसम्म करीव ५ लाख रहेको जनाएको छ । जिल्लामा रहेका अधिकांश सामुदायिक विद्युत उपभोक्ता संस्थाहरु संकटमा परेपछि विद्युत प्राधिकरण केन्द्रलाई आफ्नो स्वामित्व हस्तान्तरण गर्न चाहेका छन् । शुरुवाती चरणमा संस्था संचालनमा लिइएको ऋण र प्राधिकारणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकमका कारण चाहेर पनि अधिकांश विद्युत उपभोक्ता समितिहरुले स्वामित्व हस्तान्तरण गर्न सकेका छैनन् ।
सामुदायिक विद्युत सेवाबाट अपेक्षाअनुसार गुणस्तरीय सेवा नपाएको भनी उपभोक्ताले गुनासो गरेका छन् । विद्युत आपूर्ति नियमित नहुने, बारम्बार लाइन अवरुद्ध हुने तथा सेवाको गुणस्तर कमजोर रहे पनि महंगो शुल्क तिर्नु परेकोमा उपभोक्ताहरु असन्तुष्टि छ ।
सामुदायिक विद्युत उपभोक्ता समितिले सेवा प्रभावकारी बनाउन भन्दा मासिक शुल्क तथा अन्य सेवा शुल्क महंगो लिनमा तल्लीन रहेको बाच्छा गाउँका शिव कुमार क्षेत्रीको गुनासो छ । उपभोक्ताहरुका अनुसार विद्युत अवरुद्ध हुँदा लामो समयसम्म मर्मत नहुने, भोल्टेज घटबढ भइरहने तथा प्राविधिक समस्या समाधानमा ढिलाइ हुने गरेको छ । गाउँमा विद्युत नहुँदा सुगरका विरामीहरुले औषधि चिस्याउन पाएका छैनन् ।
पैयुँक्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद काफ्लेका अनुसार संस्थाले स्थापनाको शुरुवाती अवस्थामा लिएको ऋण लगायत बाँकी अन्य बक्यौता रकम गरी ६० लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने छ । सो उपभोक्ता समिति मार्फत् विद्युत उपभोग गर्ने घरधुरी संख्या ३२ सय रहेको छ । अध्यक्ष काफ्ले भन्नुहुन्छर्–संस्थाको आफ्नै चुनौती र दायित्वका कारण भर्खरै प्राधिकरणलाई स्वामित्व हस्तान्तरण गर्ने अवस्था रहेको छैन । संस्था संचालनमा धेरै चुनौतीहरु छन् । खासगरी हावाहुरी र बतास चल्दा बाँस लगायतका रुखहरुले विद्युत अवरुद्ध हुने गर्दछन् । समय अनुकूल भएसँगै संस्थाको स्वामित्वको हस्तान्तरण विद्युत प्राधिकरण केन्द्रलाई गर्नेछौ ।Ú
प्राधिकरण केन्द्र पर्वतकी प्रमुख यमकुमारी गुरुङका अनुसार हालसम्म प्राधिकरणलाई स्वामित्व हस्तान्तरण गर्ने प्रक्रियामा तीन वटा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिहरु छन् । स्वामित्व हस्तान्तरण गर्न इच्छुक समितिहरुमा बर्राचौर सामुदायिक, फलामखानी सामुदायिक, बाँखखर्क सामुदायिक छन् । हस्तान्तरणका लागि आएका सामुदायिक संस्थासँग शुरुवाती अवस्थामा लाइनमा विद्युत विस्तार गरिसकेपछि सम्वन्धित ठेकेदार कम्पनीले दिनुपर्ने कार्यसम्पादन पत्र नहुँदा प्रक्रिया रोकिएको छ ।

प्रतिक्रिया