News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

आत्महत्या न्यूनीकरणका लागि संचारकर्मीसँग अन्तरक्रिया

जिल्लामा आत्महत्या गर्नेको संख्यामा बढोत्तरी हुँदै गर्दा न्यूनीकरणका लागि संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य कार्यलय पर्वतको आयोजनामा भएको कार्यक्रममा आत्महत्याका घटनाको संवेदशील रिपोर्टिङ, मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि तथा आत्महत्या न्यूनिकरणमा संचारकर्मीको भूमिकाबारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहजकर्ताहरुले आत्महत्याका समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकारहरुले जिम्मेवार र संवेदनशील ढंगले पस्किनुपर्ने सुझाइएको थियो । आत्महत्याको तरीका, स्थान र व्यक्तिगत विवरण खुलाउने गरी समाचार सम्प्रेषण गर्दा त्यसले नकारात्मक प्रभाव छोड्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड पालना गर्न पत्रकारहरुलाई आग्रह गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले पछिल्लो समय मानसिक तनाव, पारिवारिक समस्या, आर्थिक अभाव तथा सामाजिक दबाबका कारण आत्महत्याका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता घटना न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउनुभयो ।
पर्वतमा यस आर्थिक वर्ष मात्रै ३२ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको छ । नेपालमा वार्षिक आत्महत्याबाट मृत्यु हुनेको संख्या ७ हजार रहेको छ भने विश्वभर वार्षिक मृत्यु ७ लाख हुने गरेको छ । नेपालमा प्रतिदिन मृत्यु हुनेको संख्या १९ जना पाइन्छ । जिम्मेवार र संवेदनशील रिपोर्टिङले आत्महत्या रोकथाममा महत्वपूर्ण सकारात्मक भूमिका खेल्न सक्ने मानसिक स्वास्थ्य समस्यालाई लुकाएर राख्ने प्रवृत्ति अन्त्य गरी आवश्यक परामर्श तथा उपचार सेवामा पहुँच बढाउनुपर्ने धारणा स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेलले राख्नुभयो ।
कार्यक्रममा संचारकमाध्यमले आत्महत्या रोकथाम सम्वन्धी सकारात्मक सन्देश, सफल जीवनका उदाहरण तथा मानसिक स्वास्थ्य सेवासम्वन्धी जानकारी प्रवाह गरेर सकारात्मक योगदान दिन सक्ने प्रदेश अस्पताल पर्वतका मेडिकल अधिकृत डाक्टर सलिना पौडेलले धारणा राख्नुभएको थियो ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले आत्महत्या र सनसनीपूर्ण समाचारहरु सम्प्रेषण गर्ने कार्यमा धेरै कमी हुँदै आएको उल्लेख गर्दै आत्महत्या न्यूनीकरणका लागि संचार क्षेत्र र स्वास्थ्य क्षेत्र बीच थप सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकार, स्वास्थ्यकर्मी, मनोपरार्शदाता लगायतका प्रतिनिधिहरुको सहभागीता थियो ।

प्रतिक्रिया