News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबाट पुरस्कार ग्रहण गर्दै कृषक शिवकुमार क्षेत्री । 

पर्वतको बाच्छा गाउँका एक युुवा कृषकलाई उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ । जिल्लाको विहादी गाउँपालिका वडा १ का ३९ वर्षे युवा कृषक शिवकुमार क्षेत्रीले राष्ट्रिय पुरस्कार हात पारेका छन् ।
कृषक क्षेत्रीलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच विहिबार पुरस्कृत गरेको हो । मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुको लागि राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत उद्यमी राष्ट्रिय पुरस्कार लागि गण्डकी प्रदेशबाट छनौट हुनुभएको थियो । देशभरबाट कृषक क्षेत्रीसहित पाँच जना उद्यमीहरुले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबाट पुरस्कार पाएका थिए ।
पुरस्कार हासिल गर्नु हुनेमा कोशी प्रदेशका कृषक मनिका राई, मधेश प्रदेशका देव लाल यादव, बागमती प्रदेशका यम कुमार गोले, सुदूर पश्चिम प्रदेशका कृषक कर्मराज मल्ल छन् । विदेश जाने सपना देख्ने युवाको संख्या बढिरहेका बेला पर्वत जिल्लाको बाच्छा गाउँका एक युवा कृषकले भने कृषि क्षेत्रमा ५० लाख रकम लगानी गरेर उदाहरणीय काम गरेका छन् । आधुनिक कृषि प्रविधि अपनाउदै उनले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय संचालन गरेका छन् ।
कृषक क्षेत्रीले केही वर्ष अघि दक्षिण कोरियाको वैदेशिक रोजगारी छोडेर गाउँमै कृषि उद्यम सुरु गरेका थिए । सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा विस्तार भएको छ । कृषक क्षेत्रीले करीव ९० रोपनी क्षेत्रफलको जग्गामा एस.के कृषि फार्मको नामबाट व्यावसायिक तरकारी खेती, फलफूल बगैचा तथा गाइभैंसीपालन संचालन गरिरहेका छन् । फार्ममा आधुनिक सिंचाई प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ ।

कृषक क्षेत्रीको फार्मबाट वार्षिक लाखौको रुपैयाँको तरकारी तथा भक्तपुरे रैथाने काक्राको विउ बजारमा बिक्री हुने गरेको छ । प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसानहरु पनि आधुनिक खेती प्रति आकर्षित भएका छन् ।
कृषक क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले व्यावसायिक रुपमा भक्तपुरे लोकल काक्राको विउ समेत उत्पादन गर्दै आएको छ । यस वर्ष १ हजार ४ सय केजी काक्राको समूूहगत बिउ उत्पादन हुने आंकलन गरेको छ । कृषक समूहमा ३२ जना सदस्यहरु समावेश छन् । कृषक समूहका अध्यक्ष क्षेत्रीका अनुसार यस वर्ष कृषक समूहको मात्रै उत्पादित काक्राको विउको मूल्य ८० लाख भन्दा बढी रकम हुन्छ ।

प्रतिक्रिया