News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज सहारापाटी विशेष

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

जिल्लाको महाशिला गाउँपालिका ५ मा रहेको भोर्ले डाँडा भिरलीचौर सामुदायिक वनमा निर्मित पोखरी ।

वन क्षेत्रमा पानीको उपलब्धता बढाई वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुराउने उद्देश्यले डिभिजन वन कार्यालय पर्वतले जिल्लाका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण कार्य सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ । एक पोखरी निर्माणका लागि कार्यालयले कम्तिमा एक लाख खर्चिएको थियो भनी स्थानीय उपभोक्ताको श्रमदान जुटाइएको थियो । जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा ५ मा रहेको गिद्धेश्वर सामुदायिक वन उपभोक्ता समिति पोखरी निर्माण गरिएको छ । वन समितिका अध्यक्ष लाल बहादुर पौडेलले पोखरीमा रहेको पानी जंगलका जीवजन्तु र चराचुरुङ्गीलाई पिउनका लागि भएको बताउनुभयो ।
अध्यक्ष पौडेलका अनुसार स्थानीयबासीको श्रमदान र कार्यालयको दिएको १ लाख रकमबाट स्थानीय गाउँकै माटो र ढुंगाको प्रयोग गरी पोखरी निर्माण गरिएको हो । पोखरीको पानी जंगलका चरी बाघ, मृग, कालिज, खरायो लगायतका जंगली जनावरलाई पानी पिउन सजिलो हुनेछ ।
त्यसैगरी जिल्लाकै दक्षिणी भेगमा रहेको महाशीला गाउँपालिका वडा ५ स्थित भोर्ले डाँडा भिरलीचौर सामुदायिक वन, मोदी गाउँपालिकाको वडा ४ को जस्मे केदारे सामुदायिक वन, पैयुँ गाउँपालिका वडा ७ स्थित दाङसिङ पाखो सामुदायिक वन, कुश्मा नगरपालिका वडा १ पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा संरक्षण पोखरीहरु निर्माण गरिएका छन् ।
वन क्षेत्रमा वर्षायामको पानी संकलन गरी सुख्खा मौसममा वन्यजन्तुलाई पानी उपलब्ध गराउने, वनभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गर्न लागिएको वन कार्यालय प्रमुख हेमलाल न्यौपानेले बताउनुभयो ।
कार्यालयको वन अधिकृत भुवन थापाका अनुसार पोखरी निर्माणसँगै वन संरक्षणमा स्थानीय समुदायको सहभागीता अझ प्रभावकारी हुने विश्वास गरिएको छ । वन क्षेत्रको जलस्रोत संरक्षण, हरियाली प्रवद्र्धन तथा वन्यजन्तुको बासस्थान संरक्षणमा पनि पोखरी निर्माणले सकारात्मक योगदान पुराउने विश्वास गरिएको छ ।
पोखरी निर्माणपछि वन्यजन्तुलाई वर्षभरि पानीको सहज पहुँच हुने र वन क्षेत्रको पर्यावरणीय संरक्षण थप टेवा पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया