News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन समाचार समाज

नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र

गुप्तेश्वर गुफा परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिदै ।

धार्मिक तथा पर्यटकीय विकास संस्था गुप्तेश्वर गुफामा नयाँ कार्यसमिति गठन भएसँगै संस्थाका गतिविधिले तीव्रता पाएका छन् ।
हालै सम्पन्न संस्थाको अधिवेशनबाट अध्यक्षमा सन्तु गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि गुफाको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवद्र्धनसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो । नवनिर्वाचित कार्यसमितिले गुफा परिसरको नियमित सरसफाइ, आगन्तुकका लागि आवश्यक सेवासुविधा विस्तार, सुरक्षा व्यवस्थापन सुदृढीकरण तथा प्रचारप्रसारका कार्यक्रम संचालन सुरु गरेको जनाएको छ ।
गुफाको मौलिकता संरक्षण गर्दै धार्मिक तथा पर्यटकीय आकर्षण बढाउने उद्देश्यले अल्पकालीन र दीर्घकालीन योजना तयार गरी कार्यान्वयन थालिएको अध्यक्ष सन्तु गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार गुफा परिसरको सौन्दर्र्यीकरण, प्रकाश व्यवस्थापन, सूचना सामग्रीको व्यवस्था, धार्मिक तथा सांस्कृतिक कार्यक्रम संचालन र विभिन्न निकायसँग समन्वय गरी आवश्यक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइनेछ ।
साउनमा शिव आराधना गरौं, धर्म, संस्कृति र आस्थाको संरक्षणमा सवै मिलेर सहभागी बनौं भनी गुप्तेश्वर गुफामा पवित्र साउन महिनाको अवसरमा श्री गुप्तेश्वर महादेवको विशेष पूजा–आराधना, जलाभिषेक, रुद्राभिषेक तथा दर्शन कार्यक्रमको आयोजना गरिने भएको छ ।
गुफालाई देशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र तथा स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
गुफा परिसरको सरसफाइ र सौन्दर्यकरणका लागि लायन्स क्लव अफ पर्वत मोदीकाली, लायन्स क्लव अफ पर्वत कुश्मा सिटी लगायत स्थानीय सामाजिक संघसंस्थाले सहयोग गरेका छन् । सामाजिक संस्थाहरुको सक्रियतामा गुफा परिसरमा सरसफाइ तथा वृक्षारोपण गर्ने काम भएको छ भने गमलामा फूल समेत रोेपिएका छन् ।
स्थानीयवासीले नयाँ नेतृत्वबाट गुप्तेश्वर गुफाको संरक्षण, व्यवस्थित संचालन तथा पर्यटकमैत्री वातावरण निर्माणमा उल्लेखनीय काम हुने अपेक्षा गरेका छन् । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सात तले गुप्तेश्वर गुफा पर्वत जिल्लाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एका मानिन्छ ।

प्रतिक्रिया