News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized कृषि समाचार समाज

एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल

आफ्नो बारीमा लगाएको अकबरे खुर्सानी टिप्दै पर्वत वहाँकी ठाँटीका कृषक ज्ञानप्रसाद भुषाल ।

पर्वत जिल्लाको वहाँकी ठाँटी गाउँका एक कृषकले व्यावसायिक रुपमा लगाएको अकबरे खुर्सानीबाट मनग्ये उत्पादन लिन थालेपछि उत्साहित भएका छन् । एक–एक बोटबाट एकै पटकमा दुई दाना मात्रै टिप्दा पनि आफूले लगाएको ३ हजार बोटबाट करिब ६० किलो खुर्सानी संकलन हुने कृषक ज्ञान प्रसाद भुषालले बताउनुभयो ।
जिल्लाको विहादी गाउँपालिका वडा ४ वहाँकी ठाटी लिङसिङ लामाखर्कका ३४ वर्षे युवा कृषक भुषालले करीव ५ रोपनी जग्गामा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आउनु भएको छ । कृषक भुषालका अनुसार बोटमा एकैपटक धेरै फल लाग्ने भएकाले सबै खुर्सानी एकैचोटि टिपिदैन । पाकेका दुई–दुई वटा दाना मात्रै टिप्दै जाँदा पनि एकपटकमा करिब ६० किलो उत्पादन संकलन हुने गरेको उहाँले बताउनुभयो । यसले बोटमा रहेका अन्य फललाई थप वृद्धि र परिपक्व हुन समय मिल्ने भएकाले उत्पादन अवधि पनि लामो हुने गरेको उहाँको अनुभव छ ।
यो सिजनको पहिलो चरणको खुर्सानी टिप्दा हप्ताभित्रमा करीव एक लाख मूल्य बराबरको खुर्सानी विक्री गरिने कृषक भुषालको भनाई छ । स्थानीय बजारका साथै पर्वत सदरमुकाम कुश्मा र पोखरामा समेत अकबरे खुर्सानीको माग उच्च रहेकाले अहिलेसम्म बिक्रीमा समस्या नभएको कृषक भुषालले बताउनुभयो । उचित हावापानी, समयमै मलखाद, उपयुक्त वर्षात् र रोग–कीरा व्यवस्थापनका कारण यस वर्ष उत्पादन निकै राम्रो भएकाले आफू निकै उत्साहि रहेको भुषालको भनाई छ । यसवर्ष वार्षिक १० लाख मूल्य बराबरको खुर्सानी विक्री गर्ने लक्ष्य राख्नु भएको भुषालले अर्को वर्ष थप ३ हजार बोट थप लगाएर वार्षिक २० लाख आम्दानी गर्ने योजना रहेको बताउनुभयो ।
कृषक भुषालका अनुसार कृषि विकास कार्यालय पर्वतले तरकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत प्राविधिक सेवा सहयोग गर्नुका साथै विउ, मर्चिङ प्लाष्टिक, मल र हाते ट्याक्टर गरी करीव ५० हजार मूल्य बराबरको अनुदान उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँकै अर्गानिक गोठे मलखादको प्रयोग गरिएको छ । कृषक भुषालले गत वैशाखको पहिलो महिना लगाएको अकबरे खुर्सानी असारको तेस्रो हप्तातिरबाट करीव ३ महिनाभित्रै टिप्न थालेको बताउनुभयो ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोेपाल लामिछानेले पर्वतको हावापानी र माटो अकबरे खुर्सानीका लागि उपयुक्त भएकाले आधुनिक प्रविधि अपनाएर खेती गरे कम क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिने हुँदा कृषकहरुले उत्पादनसँगै प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अकबरे खुर्सानी पर्वतका किसानको आयको महत्पूर्ण स्रोत बन्न सक्ने बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार अकबरे खुर्सानी पोषणको स्रोत मानिन्छ । यसमा भिटामिन सी, भिटामिन ए लगायत पोटासियम तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ भने पाचन प्रक्रियामा सहयोग गर्ने क्याप्साइसिन तत्व पाइन्छ । अकबरे खुर्सानीमा पाइने औषधीय गुणले रक्तसंचार सुधार गर्ने र शरीरको दुखाइ कम गर्न मद्दत मिल्छ ।

प्रतिक्रिया