News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कृषि समाचार समाज

पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ

दक्षिणी भेगमा पर्ने बाच्छा गाउँमा रोपाइँ गर्दै कृषक ।

 

पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये साउनको दोस्रो सातासम्म करिब ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा यस वर्ष ७ हजार १६० हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य राखिएको छ । अनुमानित धान खेतीयोग्य क्षेत्रमध्ये हालसम्म जिल्लाभर ५ हजार ७ सय २८ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । पालिकागत विवरणअनुसार जलजला गाउँपालिकामा सबैभन्दा बढी ९०.७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जलजलामा ६ सय १८ हेक्टरमध्ये ६ सय १३ हेक्टर क्षेत्रमा रापाइँ गरिएको छ भने सवैभन्दा कम विहादी गाउँपालिकामा ४.१५ प्रतिशत र महाशिला गाउँपालिकामा ५.०४ प्रतिशत मात्र रापाइँ भएको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षभन्दा यस वर्ष पर्याप्त वर्षा नभएको र केही क्षेत्रमा विउको व्याडमा रोग देखिएको कारण उत्पादन समेत गतवर्ष प्रति हेक्टर २६ हजार ८ सय ३९ मेट्रिक टन भन्दा कम हुने आँकलन गरिएको कृषि प्राविधिक मनिषा कुमालले बताउनुभयो ।
जिल्लामा धान खेतीका प्रमुख क्षेत्रहरुमा कुश्मा नगरपालिकाका वडा नं.११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा नं.३, ६, ७, र ८, मोदी गाउँपालिकाका वडा नं.२ र ५, जलजला गाउँपालिकाका वडा नं.४, ६, र ७, महाशिला गाउँपालिकाका वडा नं.२ र ५ र विहादी गाउँपालिकाका वडा नं.१, २, र ३, त्यसैगरी पैयुँ गाउँपालिकाका वडा नं.२, ४, ५ र ७ रहेका छन् । सिँचाई सुविधाको अभाव र प्रयाप्त वर्षा हुन नसक्दा कतिपय खेतीयोग्य जमिन समेत अझै बाँझो परेको स्थानीय किसानको गुनासो छ ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा गुडुरा, पोखरेली जेठोबुढो, गोरिया, एक्ले, अनदी, विरफुली, उषा–३१२, च्याम्पियन र ६४४४ लगायतका धानका जातको खेती भइरहेको छ । समयमै पर्याप्त वर्षा भएमा आगामी साताहरुमा रोपाइँले थप गति लिने र लक्ष्यअनुसार धान खेती सम्पन्न हुने कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया