News Portal

ताजा शिर्षकहरु

समाचार समाज

धार्मिक सद्भाव र कानूनी शासन कायम गर्न पर्वतका नागरिक संस्थाहरुको अपिल

संयुक्त अपिल ।

पर्वतका विभिन्न नागरिक तथा पेशागत संस्थाहरुले देशका विभिन्न स्थानमा धार्मिक आस्था तथा सामाजिक विषयसँग सम्वन्धित विवाद र तनावका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संस्थाहरुले सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।
विहिबार जारी संयुक्त अपिलमा साउन १० गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा भएको झडप तथा गोली चलेको घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
अपिलमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र विश्वास स्वतन्त्र रुपमा अवलम्वन, अभ्यास र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै लोकतान्त्रिक समाजमा मतभिन्नता स्वाभाविक भए पनि कुनै पनि विवादको समाधान हिंसा, उत्तेजना वा कानुन हातमा लिएर नभई संवाद र विधिको शासनमार्फत् हुनुपर्नेमा जोड दिइएको छ ।
यस्ता घटनाले सामाजिक सद्भाव, पारिस्परिक विश्वास र राष्ट्रिय एकतामा प्रतिकुल प्रभाव पार्ने भएकाले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचारकर्मी तथा आम नागरिकलाई संयम अपनाउन, अपुष्ट तथा भ्रामक सूचना प्रसारण नगर्न र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भुमिका निर्वाह गर्न अपिल गरिएको छ ।
संयुक्त अपिलमा नेपाल बार एसोसिएसन पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा पर्वत, नागरिक समाज सञ्जाल पर्वत, मानव अधिकार संगठन पर्वत तथा शिक्षाका लागि राष्ट्रिय अभियान-एनसीई) नेपाल पर्वत लगायतका संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया