News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कृषि समाचार समाज

केरा खेतीबाट मनग्ये आम्दानी गर्दै पर्वतका कृषकहरु

पर्वतका फलेवास १० कुर्घाका कृषक छविलाल पौडेलको केरा खेती ।

 

पर्वत जिल्लाका कृषकहरु व्यावसायिक रुपमा केरा खेतीतर्फ आकर्षित हुन थालेपछि यसबाट मनग्ये आम्दानी गर्न सफल भएका छन् । परम्परागत खेतीको तुलनामा कम समयमा राम्रो उत्पादन र बजारमा सहज बिक्री हुने भएकाले जिल्लामा विभिन्न पालिकाका किसानहरुले केरा खेतीको क्षेत्र विस्तार गर्दै गएका छन् ।
जिल्लाको खासगरी कुश्मा, फलेबास नगरपालिका, महाशिला र मोदी गाउँपालिकाका कृषकहरुले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया ५ वर्ष बसेर फर्केपछि केरा खेतीमा लाग्नु भएका फलेबास १० कुर्घाका ३९ वर्षीय कृषक छविलाल पौडेलले ७० रोपनी जग्गामा केरा खेती गर्दै आउनु भएको छ । केरा खेतीबाट वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सकेको बताउने कृषक पौडेल भन्नुहुन्छ–बाँदर लाग्ने र बाँझो पल्टिएको जग्गामा केरा खेती गरेको हो । बाँदरले अन्य बालीमा भन्दा केरा खेतीमा कम क्षति पुराउदो रहिछ । बिक्रीका लागि कुनै समस्या छैन । बारीबाटै एक दर्जन केरालाई सरदर १ सय १० रुपैयामा विक्री गरिएको छ ।
कृषक पौडेलले स्थानीय मालभोग र सेतो फुस्रो जातको केरा खेती सुरु गरेको दश वर्ष भइसकेको छ । केरा खेतीबाट उत्साहि रहनु भएका पौडेलले ट्याक्टर र गाडी खरीद गरिएको मूल्य सहित हिसाब गर्दा आफ्नो न्यू वगर कृषि फर्ममा ५० लाख बढी लगानी गरेको बताउनुभयो । उहाँ कालीगण्डकी तटीय क्षेत्र आसपासको थप २० रोपनी खेतीयोग्य जग्गामा खर्वुजा खेती गर्ने तयारीमा हुनुहुन्छ । अघिल्लो वर्ष परीक्षणको रुपमा लगाएको खर्बुजा खेतीले राम्रो उत्पादन दिएपछि कृषक पौडेलले खर्वुजा खेतीमा लाग्ने योजना बनाउनु भएको हो ।
प्रर्याप्त सिचाइँ र कृषि फर्मदेखि बजारसम्म जोड्ने राम्रो बाटोको राम्रो सुविधा नहुँदा थप खेती विस्तार गर्न कठिन रहेको पौडेलको दुखेसो छ । जलजला गाउँपालिका ७ केराबारीका ४९ वर्षीय खेम बहादुर केसी वैदेशिक रोजगारका लागि कतार, मलेसिया लगायतका मुलुकमा थुप्रै वर्ष विताउनु भयो । उहाँ गाउँ फर्किएर केरा खेतीमा लाग्नुभएको पनि वर्षौ भइसकेको छ । कृषक केसीले करीव ५० रोपनी जग्गामा स्थानीय हजारी जातको केरा लगाउनु भएको छ ।
व्यावसायिक केरा खेतीबाट मनग्ये आम्दानी गर्दै आउनुभएका केसी भन्नुहुन्छ,–पैसा कमाउनका लागि खाडी मुलुकमा पसीना बगाइयो । अहिले आफ्नै बारीको केरा बेचेर दुई–तिन दिन बिराई ४ देखि ७ हजारसम्म बुझ्न पाएको छु । आफ्नै परिवारका साथ बसेर आफ्नै बारीबाट केरा बेचेर वर्षको न्युनतम १० लाख कमाउदा बेस्सरी खुशी लागेको छ । यति रकम विदेश बसेर पनि वर्षभरिमा कमाइ थिएन ।
एल्भिन फलफूल फर्म संचालन गर्नु भएका कृषक केसीले परम्परागत खेती धान, गहुँ, मकै लगाउदा लागत बढी तर उत्पादन कम हुने र भिरपाखो जग्गामा केरा खेती नै उपयुक्त हुने हुँदा गाउँघरमा अन्य स्थानीय कृषकहरुले पनि केरा खेती गर्न लागेको बताउनुभयो । कुश्मा नगरपालिका १ टारका रामकृष्ण दास वैरागीले व्यावसायिक केरा खेती गर्न थालेको ५ वर्षभित्रमा नै राम्रो उत्पादन गर्न थाल्नुभएको छ । युवा कृषक वैरागीले १ सय ५० रोपनी रोपनी जग्गामा केरा खेती विस्तार गरेको बताउनुभयो । वैरागी मल्टिप्रपोज कम्पनि प्रा.लि.मार्फत् व्यवसायिक गाईभैसी पालन र केरा खेती गर्नुभएका वैरागीले गाउँमै बसेर वार्षिक लाखौको आम्दानी गर्दै आउनुभएको छ ।
कृषि विकास कार्यालय पर्वतका बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार केरा खेतीको व्यावसायिक विस्तार भइरहेको छ । केरा उत्पादन प्रति रोपनी ५४० केजी आंकलन छ । प्राविधिक सहयोग, रोग तथा कीरा नियन्त्रण, उन्नत जातको विरुवा र तालिम उपलब्ध गराइएकाले किसानहरु उत्साहित भएका छन् । जिल्लाको हावापानी र माटो केरा खेतीका लागि उपयुक्त भएकाले यसको सम्भावना अझै उच्च रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया