News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी

नागपञ्चमीको पूजा गर्दै स्थानीय धार्मिक गुरु कृष्णप्रसाद आचार्य

हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व नागपञ्चमी आज देशभर परम्परागत रुपमा नागको पूजा–आराधना गरी मनाइदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूलढोका माथि नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।
नागपञ्चमीका अवसरमा नागको चित्रमा दूघ, दही, अक्षता, फूल, दुबो लगायतका सामग्री चढाएर पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि नागको चित्र घरको मूलढोकामा टाँस्ने परम्परा रहेको छ । यसरी नागको चित्र टाँस्दा वर्षभर सर्प तथा अन्य घस्रने जीवबाट दुःख नहुने तथा आगलागी, चट्याङ र प्राकृतिक विपत्तिबाट सुरक्षा हुने धार्मिक विश्वास छ ।
वैदिककालदेखि नै नागपूजाको परम्परा रहेको धार्मिक मान्यता छ । नागलाई सर्पको राजा तथा पानी र सहकालसँग जोडेर हेर्ने कुश्मा नगरपालिका ५ का स्थानीय धर्मगुरु कृष्णप्रसाद आचार्य बताउनुहुन्छ । नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंङ्ख गरी अष्टनागको पूजा गर्ने परम्परा रहेको छ ।
नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घस्रने जीवलाई मार्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता पनि छ । यसले प्रकृति र जीवजन्तु प्रति सम्मान गर्ने नेपाली संस्कृतिको पक्षलाई समेत उजागर गर्छ ।
धार्मिक आास्थासँगै नागपञ्चमीलाई पर्यावरण संरक्षणसँग पनि जोडेर हेर्न थालिएको छ । सर्पले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नागपूजाले सर्प तथा अन्य जीवजन्तुको संरक्षण सम्वन्धी जनचेतना बढाउन सहयोग पुग्ने युवा सामाजिक व्यक्तित्व शंकर गिरी बताउँनुुहुन्छ ।
पर्वका अवसरमा विभिन्न नागस्थान, नागपोखरी, शिवालय तथा अन्य धार्मिकस्थलमा समेत विशेष पूजाआजा गर्ने गरिन्छ । नागपञ्चमीले धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृति प्रतिको सम्मानलाई एकैसाथ जोड्ने पर्वका रुपमा निरन्तरता पाउँदै आएको भन्ने उद्योगवाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष व्यवसायी व्यक्तित्व होमनारायण श्रेष्ठको धारणा छ ।

प्रतिक्रिया