News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विहादी समाचार समाज सहारापाटी विशेष

सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन आधारभूत अस्पतालको अलपत्र भवन ।

 

 

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पतालको भवन निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । ठेकेदारको ढिलासुस्तीले निर्माणको करिब ५० प्रतिशत काम पूरा भइसके पनि बाँकी काम कहिले सम्पन्न हुने र अस्पताल कहिलेदेखि संचालनमा आउने भन्ने टुंगो छैन ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अस्पतालको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा छ । अस्पताल निर्माणका लागि स्थानीयबासीले ९ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । गाउँमै अस्पताल बनेपछि सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने सोचले कृषि उब्जाउ जग्गा दान गर्ने स्थानीय कृषकहरु अहिले निराश छन् ।

बर्राचौर वडा २ का पुर्व अध्यक्ष रहिसक्नु भएका स्थानीय ओम कुँवर गुनासो पोख्दै भन्नुभयो–अस्पताल बनेर स्वास्थ्य सेवा पाइएला भन्ने पनि लाग्न छोडिसकेको छ । अस्पताल भवन बनाउने बेला भत्किएको कुलो लामो समय नबनेपछि कृषकले सास्ती व्यहोर्नु परेको छ । अस्पतालको पर्खाल बनेपछि ठेकेदारले पर्खाल माथि र तलबाट धान खेतमा पानी लैजाने कुलो बनाउने भन्ने थियो । तल्लो बर्राचौरका धेरै जग्गा बाँझो पल्टिन पुगेको छ । अस्पताल भवन कहिले बन्ने नै टुंगो छैन ।

स्थानीय जग्गादाता समेत रहनुभएका बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र पौडेल भन्नुहुन्छ–अस्पतालको निर्माण कार्य लामो समयसम्म रोकिदा राज्यको ठूलो लगानी जोखिममा परेको र निर्माण पुरा भइसकेका संरचना समेत लामो समय प्रयोगविहीन हुँदा थप जीर्ण बन्न सक्ने जोखिम छ । अस्पताल संचालनका लागि आवश्यक जनशक्ति, उपकरण, विद्युत, खानेपानी, फर्निचर लगायतका पूर्वाधारको व्यवस्थापन समेत चुनौती बन्ने देखिएको छ ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर योगेन्द्र बस्तोकोटीका अनुसार संघीय सरकारको योजनाअन्तर्गत निर्माण सुरु गरिएको अस्पताल २०७७ मंसिरमा भ्याली बाबुरत्न जेभीले ठेक्का लिएको थियो । करिब ६ करोड रुपैयाँ लागतमा निर्माण थालिएको अस्पताल १७ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो । कुल ११ हजार ७८० वर्ग फिट क्षेत्रफलको एकतले पक्की अस्पताल भवन निर्माणको काम अहिलेसम्म ५० प्रतिशत मात्रै पुरा भएको छ ।

निर्माणाधीन अस्पताल भवनको साइट इन्जिनियर समेत रहनुभएका बस्ताकोटीका अनुसार ठेकेदारले भवन निर्माणमा ढिलाई गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा पुगेको भएपनि सरकारको पछिल्लो निर्णय अनुसार निर्माण सम्झौता अवधि थप गर्न लागिएको छ ।

बिहादी गाउँपालिकाका प्रशासकीय अधिकृत थमन रेश्मीले केन्द्रिय योजना अन्तर्गत निर्माण हुन लागेको हुँदा अस्पतालको अलपत्र अवस्था, ठेक्का सम्झौताको अवधि, हालसम्म भएको भुक्तानी तथा बाँकी कामका विषयबारे आफूलाई विस्तृतमा जानकारी नभएको बताउनुभयो । स्थानीय तहको प्रमुख स्वास्थ्य पूर्वाधारका रुपमा रहेको आयोजनाको निर्माण प्रगतिबारे सम्वन्धि अधिकारीसँग समेत पूर्ण विवरण नरहनुले आयोजना कार्यान्वयनको अवस्था माथि प्रश्न उठाएको छ ।

 

प्रतिक्रिया