News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जलजला समाचार समाज

चोरीका घटना बढेपछि प्रहरी चौकीको माग

प्रभावकारी सुरक्षा व्यवस्थाको माग गर्दै प्रजिअ लक्ष्मी प्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउदै स्थानीय प्रतिनिधि ।

पर्वतको जलजला गाउँपालिकास्थित मल्लाज गाउँमा एकपछि अर्को चोरीका घटना बढेपछि स्थानीय नागरिकले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी चौकीको माग गरेका छन् । चोरी र लुटपाटका घटना दिनप्रति दिन बढेपछि गाउँमा त्रास र भय फैलिएको स्थानीयबासीको गुनासो छ ।
पछिल्लो पटक जलजला गाउँपालिका ३ मल्लाजस्थित मल्लाज साना किसान कृषि सहकारी संस्थामा चोरीको प्रयास भएको थियो । जलजला गाउँपालिका वडा ४ का वडा अध्यक्ष भरत बहादुर क्षेत्रीले सहकारीमा भएको चोरी प्रयासको घटनालाई सामान्य चोरीको घटनाका रुपमा मात्र नलिई स्थानीय क्षेत्रको शान्तिसुरक्षा तथा नागरिकको जीउधन र वित्तीय संस्थाको सुरक्षासँग जोडिएको सार्वजनिक सरोकारको विषयका रुपमा लिन आग्रह गर्नुभयो ।
विगतमा जलजला गाउँपालिका वडा नं.२ मा भएको एक वृद्ध दम्पतिको दुःखद हत्याको घटनाले दिएको त्रास अझै कायमै रहेको बेला लगातार भइरहेको चोरीका प्रयासले स्थानीय जनतामा थप भय पैदा गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
स्थानीयबासीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रका साउन २ गते राती सहकारी संस्थामा भएको चोरी प्रयासको घटनाले मल्लाज क्षेत्रका नागरिकमा चिन्ता, त्रास र असुरक्षाको भावना बढेको उल्लेख छ । स्थानीय नागरिकले जलजला गाउँपालिकाका वडा नं.२, ३, र ४ मा जनघनत्व तथा आर्थिक गतिविधि बढ्दै गएको अवस्थामा हत्या, चोरी लगायत अपराधिक गतिविधि रोक्न स्थायी र प्रभावकारी सुरक्षा व्यवस्थाको आवश्यकता रहेको बताएका छन् ।
मल्लाज क्षेत्रको सुरक्षाको विषयमा स्थानीय जनप्रतिनिधि, संचारमाध्यम तथा नागरिकले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि पर्याप्त सुरक्षा व्यवस्था हुन नसकेको स्थानीयबासीको गुनासो छ ।
सहकारी संस्थामा भएको चोरी प्रयासको घटनास्थलबाट सीसीटीभी फुटेज, घटनास्थलमा भेटिएका सम्भावित औजार, चोरीको प्रयास गर्ने व्यक्तिको हुलिया तथा अन्य प्रमाण उपलब्ध रहेको जनाइएको छ । उपलब्ध प्रमाणको वैज्ञानिक परीक्षण तथा निस्पक्ष अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग छ । सहकारी, वैक तथा वित्तीय संस्था, पसल, व्यवसायिक क्षेत्र र अन्य संवेदनशील स्थानमा नियमित प्रहरी गस्ती तथा सुरक्षा निगरानी बढाउन माग गरिएको छ ।
जलजला गाउँपालिका वडा २, ३ र ४ को सुरक्षा आवश्यकतालाई धानमा राखी स्थायी प्रहरी चौकीको स्थापना गर्न पनि स्थानीयबासीले आग्रह गरेको वडा २ का अध्यक्ष प्रकाश जिसीले बताउनुभयो । त्यसैगरी लागूऔषधको प्रयोग तथा अवैध बिक्री–वितरण नियन्त्रणका लागि विशेष अभियान संचालन गर्ने, प्रहरी र नागरिक बिच समन्वय बढाउन समेत स्थानीयबासीले सुझाएका छन् ।

प्रतिक्रिया