News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता

बाढी प्रभावित रसुवा क्षेत्रको तस्वीरसँगै जेसीज को आर्थिक सहयोग भौचर ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिका क्षति पु¥यापछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ ।
बुधबार १० गते आएको आकस्मिक बाढीले रसुवाको नेपाल–चीन सीमा क्षेत्रदेखि भोटेकोशी नदी आसपासका बस्ती, सडक, दर्जनौ पुल, जलविद्युत् आयोजना तथा व्यापारिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेसी लगायतका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ ।
बाढीमा परी ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने सयौ अझै सम्पर्कविहीन छन् । सरकारी पछिल्लो आधिकारिक विवरणअुनसार मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने र खोजी तथा पहिचानको काम जारी रहेको अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार खोज तथा उद्धारमा १५,४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५, र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी–त्रिशुली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन् । हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ जसमा जलविद्युत सुरुङबाट उद्धार गरिएका ५१७ जना समेत छन् । नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएका छन् भने हालसम्म ९९ हवाई उडान भएका छन् ।
उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा रु.१.९ अर्वभन्दा बढी रकम संकलन भएको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा थप जोखिमको सम्भावना रहेकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । तिब्बततर्फ बनेको जलाशय तथा थप पानीको बहावका कारण भोटेकोशी र त्यससँग जोडिएका नदीमा पुनः बाढी आउन सक्ने जोखिमप्रति समेत सुरक्षा निकायले निगरानी बढाएका छन् ।
बाढीले सडक तथा यातायात संरचनामा क्षति पु¥याउँदा उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याउन समेत कठिनाइ भइरहेको छ । विपद्को प्रभाव रसुवासँगै नुवाकोट, धादिङ लगायतका जिल्लामासम्म परेको छ ।
सरकारले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, घाइतेको उपचार तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउने काम भइरहेका गृहमन्त्री सुधन गुरुङको भनाई छ ।
बाढी पीडितको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक तथा विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुले स्वतःफूर्त आर्थिक सहयोग जुटाइ मानवताको उच्च उदाहरण देखाइरहेका छन् ।  अध्यक्ष शर्मिला शर्मा नेतृत्वको पर्वत जेसीजले प्रधानमन्त्री राहत कोषमा रसुवा बाढी पीडितका लागि जेसीजको केन्द्रले गरेको नगद १० लाख सहयोगमा आफ्नो तर्फबाट पनि योगदान गरेको छ भने सामाजिक अभियन्ता तथा युवा व्यवसायी विप्लब हमालले १ लाख बढी रकम सहयोग प्रदान गर्नुभएको छ ।

 

प्रतिक्रिया