कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रले भरिएको मालढुंगा नामक शीला गमक्क परेर बसेको झैं विचित्र देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुंगा क्षेत्रमा रहेको मालढुंगा नामक शीला भरि विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुदिएका छन् । धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरोपहेलो रंग जस्तो देखिने शीला मालढुंगा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडा १ मा पर्ने मालढुंगा शीलामा हल्का पहेलो रंगले पोतिएको माला जस्तै आकृति देख्न पाइन्छ । मालढुंगा आसपासका अन्य शीला भन्दा रंगरुप र आकारमा फरक छ । मालढुंगा शीलाको नामबाट नै मालढुंगा बजारको नाम रहेको हो । मालढुंगा शीलाको पुर्वपश्चिम तिर माझी र बोटेबस्ती रहेको छ भने पश्चिमपट्टि पोखरा–बाग्लुङ राजमार्गसँगै मालढुंगा बजार छ । मालढुंगा बजारदेखि उत्तरतर्फ रहेको मालढुंगा शीलालाई मालढुंगा–वेनी राजमार्गबाट सजिलै देख्न सकिन्छ ।
स्थानीय बोटे र माझी समुदायका स्थानीय अगुवाका अनुसार शीलामा देखिने माला आकारको पोतिएको चित्रका कारण मालढुंगा भनिदै आएको हो । विशाल र चिल्लो ढुंगामा सिपालु चित्रकारले कुदेर बनाएको जस्तो लाग्ने अनेकौं प्रकारका आकृतिले पनि मालढुंगालाई रहस्यमीय बनाएको छ । मालढुंगाको वरिपरि घुम्दै हेर्दा देखिने अनकौ देवीदेवताको स्वरुप, चक्र, गौंमुख, हात्तीको पाइला, सूर्यचन्द्रमा, माछा, आँखा, हात्तीको पाइला, विच्छी लगायत देख्दा जसकसैले चित्र प्रदर्शनी कक्षको अवलोकन गरेजस्तै महसुस गर्दछ । माझी समाजका अध्यक्ष मान बहादुर बोटेले मालढुंगालाई आफूहरुले शिवको स्वरुप मानेर पुजा गर्ने बताउनुहुन्छ । अध्यक्ष बोटेका अनुसार मालढुंगा शीलाको माथिल्लो भागमा कमलको पूmलको चित्र प्रष्ट देख्न सकिन्छ भने भगवानको हातले आर्शीवाद दिएको जस्तै लाग्ने चित्र कुँदिएको देखिन्छ ।
मानिसहरु त्यतिबेला अचम्म हुन्छन् जव मालढुंगाकै पुर्वपट्टिको भित्तामा पाँच खण्डमा रहेको गजुर सहितको मन्दिर आकारमा देखिने चित्र देख्दछन् । माझी समुदायका ३८ वर्षे युवा गणेश माझीका अनुसार मालढुंगाको अन्य भागमा लेउ लाग्ने गरेको भए पनि यो मन्दिर आकारको देखिने चित्रमा भने कहिले पनि नलागेको र स्वरुप उस्तै रहेको पाइन्छ ।
धार्मिक पर्यटकीय महत्वको मालढुंगाको महत्व उजागर हुन नसकेकोमा बोटे र माझी समुदाय अगुवाहरुको गुनासो छ । कुश्मा नगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले धार्मिक महत्वको मालढुंगा संरक्षण र प्रवद्र्धन हुन नसकेको स्वीकार गर्दै भन्नुभयो–ूमालढुंगाको धार्मिक र ऐतिहासिक महत्वलाई जनमानससम्म पुराउन अव लाग्नुपर्छ । यसपाली मालढुंगाको संरक्षणका लागि २ लाख रकम विनियोजन गरिएको छ ।
मालढुंगा पहिले मालढुंगाकै माथिल्लो भाग पाङमा रहेको र पछि पहिरो जाँदा तल कालीगण्डकी तटमा खसेको कुरा आफ्ना बाबुबाजेबाट सुन्दै आएको वडा अध्यक्ष पौडेलको भनाई छ । माझी समुदायका अगुवा ७० वर्षे याम बहादुर माझीले आफ्ना पुर्खाहरुबाट सुन्दै आएको मालढुंगा शीलाबारेको किम्वदन्ती यसरी बताउनुहुन्छ–ूमालढुंगा माथि पाङबाट खसेको थियो । खसेर कालीगण्डकी किनारको पारीपट्टि रहेको मालढुंगा शिवस्वरुप शक्ति हो । पारी रहँदा कालिका भगवतीसँग कुनै कुरामा मतभेद भएपछि पुनः वारी आएर बसेका हुन् ।
अगुवा माझीबोटेका अनुसार माझीबोटे वस्तीमा अनुसार पहिले बंगुर पाल्ने र फोहोर रहेको हुँदा मालढुंगामा भक्तजन आउने नगरेको भएपनि अहिले सरसफाइ गर्दै जाँदा सवै आउन थालेका छन् । मालढुंगा माथि लक्ष्मीनारायणको सानो आकारको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर बोटेमाझीकै पहलमा निर्माण भएको हो । वर्षमा एकपटक पुजा हुने मन्दिरको पुजारी बोटे रहेका छन् ।
प्रतिक्रिया