पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधिन चिस्यान केन्द्र ९ वर्षदेखि अलपत्र छाडिएको छ । चिस्यान केन्द्रका लागि भनी राज्यको २० लाख भन्दा बढी खर्च गरी निर्माण गरिएको पक्की भवन अहिले प्रयोगविहिन रहेको छ ।
अर्थ मन्त्रालयबाट पातीचौरमा चिस्यान केन्द्र निर्माण गर्ने भनी २०७४ सालमा ५० लाख रकम विनियोजन भएकोमा तत्कालीन जिल्ला विकास समिति मार्फत् रकम प्राप्त गरी भवन निर्माणमा रकम खर्च गरिएको थियो । भवन निर्माणका लागि लाखौं रकम खर्च गरिएको भए पनि वर्षौ वितिसक्दा समेत ५० टन कृषि उत्पादन भण्डारण क्षमता रहेको चिस्यान केन्द्र निर्माणको काम भने पुरा हुन सकेको छैन ।
लाखौं खर्चिएको भवन वर्षौसम्म पनि व्यक्तिकै नामको जग्गामा रहेकोमा गतवर्ष मात्रै पालिकाको नाममा आएको पालिकाका सूचना अधिकारी प्रविन पोख्रेलको भनाई छ । गाउँपालिकाको वडा २ का स्थानीयबासी खेम बहादुर हमालको पातीखोला किनारको पाँच आना क्षेत्रफलको जग्गामा चिस्यान केन्द्रको लागि पक्की भवन निर्माण गरिएको हो । जग्गाधनी हमालसँग चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिले १३ लाख ५० हजारमा जग्गा खरीदको कागजी सम्झौता गरेको थियो । समितिले सम्झौता अनुसारको रकम भुक्तानी गर्न नसकेपछि चिस्यान केन्द्रको नाममा जग्गा नामसारी हुन समेत सकेको थिएन । समितिका अनुसार तीन वर्ष पहिले चिस्यान केन्द्र निर्माण गर्न भनी अर्थमन्त्रालयबाट ५५ लाख रकम विनियोजन भएको थियो तर काम भने हुन सकेन ।
उपभोक्ता समिति अध्यक्ष गंगा तिमिल्सिना चिस्यान केन्द्र निर्माणको कार्य अलपत्रबारे भन्नुहुन्छ–“स्थानीय कृषकहरुको चाहना र आवश्यकता अनुसार चिस्यान केन्द्र निर्माणका लागि पहल गरिएको हो । स्थानीयबासीको आमभेलाबाट सवै राजनीतिक दलका प्रतिनिधि सहभागी हुने गरी समिति गठन गरिएको थियो तर स्थानीय जनप्रतिनिधिको सक्रिय पहल र सहयोग हुन नसक्दा निर्माणको काम रोकिन पुग्यो ।” अध्यक्ष तिमिल्सिनाका अनुसार केन्द्रका लागि भनी आएको लाखौ रकम पटक पटक फ्रीज भैइ फिर्ता पठाइएको छ ।
पालिकाका सुचना अधिकारी पोख्रेलका अनुसार प्रदेश सरकारबाट यस आर्थिक वर्षमा विशेष अनुदान शीर्षकमा चिस्यान केन्द्रका लागि भनी ४० लाख रकम विजियोजन भएको छ । मोदी गाउँपालिकाको देउपुर क्षेत्रमा उत्पादित सुन्तला र नजिकैको बनौं, लेस्पार, देउराली, धिवराङ, भुक लगायत स्थानका कृषकहरुले उत्पादन गर्ने आलु भण्डारणका लागि लक्षित गरी पातीचौरमा चिस्यान केन्द्र निर्माण गर्न थालिएको हो । देउपुरबाट मात्रै वर्षेनी करोडौ रकम बराबरको सुन्तला उत्पादन हुँदै आएको छ भने त्यसैगरी वर्षेनी लाखौ रकम बराबरको आलुको उत्पादन बनौं र पालिकाका विभिन्न स्थानबाट हुने गर्दछ । पातीचौरमा चिस्यान केन्द्र निर्माण गरिदा आलु खेतीका लागि पकेट क्षेत्र मानिने बनौ र लेस्पारका कृषक साथै सुन्तला पकेट क्षेत्र देउपुरका कृषकलाई राम्रो लाभ मिल्ने स्थानीयको भनाई छ ।
वडा २ का अध्यक्ष बेल बहादुर कार्कीले कृषकहरुका लागि चिस्यान केन्द्र एकदमै आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो–“मोदी गाउँपालिका तरकारी र फलफूल उत्पादनका लागि अति उपयुक्त क्षेत्र भएको हुँदा उत्पादित फलफूल र तरकारीलाई केही समय भण्डारण गरी बेमौसममा विक्री गर्न सकेमा कृषकको आम्दानी राम्रो हुन्छ । यस आर्थिक वर्ष भित्र चिस्यान केन्द्र निर्माण सम्पन्न गर्ने भनी बजेट विनियोजन गरिएको हुँदा अव काम हुने विश्वास छ । यसअघिका जनप्रतिनिधिले ५ वर्षसम्म वेवास्ता गरे । व्यक्तिको जग्गा पालिकाको नाममा आइसकेको छ ।” स्थानीयबासीले भने राजनीतिक स्वार्थको खिचातानीका कारण चिस्यान केन्द्र निर्माणको कार्यलाई अलपत्र पारेको गुनासो गरेका छन् ।
प्रतिक्रिया