विश्व २१ औं शताव्दीमा तिव्र रफ्तार लिइ रहेको छ । विज्ञान र प्रविधिमा भएको चमत्कारिक विकासका कारण सिंगो विश्व नै गाउँ जस्तो भएको छ । विश्वको कुनै एक स्थानमा घटित सामाजिक, आर्थिक र राजनीतिक घटनाक्रमले अर्कोको देशको कुनै कुनामा समेत तरंगित पार्न सक्छ ।
नेपाल जस्तो अल्पविकसित देशले पनि राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृति र भौतिक विकासमा केही दशक यता उल्लेखनीय प्रगति हासिल गरेको छ । बाटोघाटोले गाउँघरलाई जोडेको छ । शिक्षा र स्वास्थ्यको पहुँच गाउँघरसम्म पुगेको छ । गाउँमै बसेर पनि विद्यालयमा पठनपाठन गर्न सकिएको छ । अझ भन्नुपर्दा हाम्रो देशले राजनीतिक हिसावले आमूल परिवर्तन गरेको छ । मुलुक संवैधानिक राजतन्त्रात्मक र एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थामा बदलिएको छ । नेपाली समाजलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बदल्नका लागि पुरुषवर्गको जति भूमिका छ , नारीवर्गको पनि उति नै योगदान छ । नेपाली समाजको स्वतन्त्रता, समानता र न्यायका लागि महिलाको अतुलनीय बलिदानी रहेको छ । सामन्ती राज्यव्यवस्थामा नारीवर्गलाई चुल्हो र चौकामा नै सीमित राख्ने गरिन्थ्यो । नारीलाई दोस्रोदर्जाको नागरिक सरह व्यवहार हुने गर्दथ्यो ।
नारीवर्ग ममताकी खानी मात्रै नभई परेको बेला समाज बदल्न सक्ने अदम्य साहस र आँट राख्छिन् भन्ने कुरा सामन्ती राज्यसत्ताले बुझ्न खोज्ने विषय नै थिएन । हाम्रो मुलुकलाई हडप्न खोज्ने आधुनिक हतियार र गोलाबारुदले सुसज्जित साम्राज्यवादी अंग्रेज सेना विरुद्ध नालापानी किल्लामा खुँडा र खुकुरीको भरमा बहादुरीका साथ लडाई लड्ने नेपाली विरांगानाको इतिहास छ । नेपाली नारीहरु आर्थिक र भौतिक हिसावले पछि परेको भए पनि देशको परिवर्तन र विकासको पक्षमा सदैव अग्रमोर्चामा उभिदै आएका छन् । समाज र देशको सामाजिक र आर्थिक आमूल परिवर्तनका लागि महिलाको अहंम भूमिका रहन्छ । महिला शसक्तिकरण विना समाज विकासको गति अवरुद्ध हुन जान्छ भन्ने कुरा सामन्ती समाज र राज्यव्यवस्थाले बुझेर पनि नबुझे झैं गर्दछ । जसका कारण समाज हरेक पक्षबाट पछाडि पर्न जान्छ ।
केही दशक अगाडिसम्म नेपाली समाज आर्थिक र भौतिक हिसावले धेरै पछि परेको थियो । विकास निर्माणका पूर्वाधारहरु सडक, विद्युत, संचारको सुविधा थिएन । गाउँघरमा शिक्षा र स्वास्थ्यको सहजता थिएन । अझ भन्नुपर्दा छोरीले पढ्नुपर्छ भन्ने मानसिकता समेत सामन्ती राज्यव्यवस्थाले राख्ने थिएन । पराई घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने मानसिकता अभिभावकको थियो । मानवको ज्ञान, बुद्धि र विवेकको पर्दा खोल्ने भनेको शिक्षाले हो तर केही दशक अगाडिसम्म छोरीलाई पढाउनु पर्दैन भन्ने मानसिकता नेपाली समाजमा व्याप्त थियो । शिक्षामा पहुँच हुन नसक्दा नारीको शसक्तिकरण हुन सकेको थिएन । रुढीवादी, अन्धविश्वास र कुप्रथाबाट सवैभन्दा प्रभावित पनि नारी नै हुने गर्दथे । अझ एक शताव्दी पहिलाको कुरा गर्ने हो भने सतिप्रथा थियो । जहाँ आफ्नो श्रीमान्को मृत्यु हुँदा श्रीमती चितामा जिउँदै जलेर मर्नु पर्दथ्यो । नारीका लागि हिजोको जस्तो सांस्कृतिक रुपमा परपीडक समाज अहिले छैन ।
नारी आधा आकाश हुन् भन्ने महत्वपूर्ण भनाईको मर्म बुझ्न नसक्ने पछौटे समाजमा सामाजिक, आर्थिक र भौतिक विकासले गति पक्डन सक्दैन । सभ्य र सुसंस्कृत समाजको निर्माण तव हुनेछ जहाँ नारीको उचित सम्मान हुन्छ । लोकतान्त्रिक राज्यव्यवस्थामा सवै नागरिकलाई समान हकअधिकार सुनिश्चित गरिएको हुन्छ । नेपालको संविधानले नै महिलाका लागि हकअधिकारबारे प्रष्ट उल्लेख गरेको छ । केही दशक अगाडिसम्म नारीहरु शिक्षाबाट वञ्चित जस्तै थिए । नारीलाई शिक्षामा पहुँच नहुँदा उनीहरुले आफ्नो हकअधिकारका लागि शसक्त रुपमा आवाज उठाउन सक्ने अवस्था थिएन । राजनीतिक रुपमा नारीहरुलाई समाजले नै पछाडि पारेको थियो ।
केही दशक अगाडिसम्म हाम्रै आमा र हजुरआमाको दैनिक जीवन घरकै चुल्हो समाल्दा नै वित्ने गर्दथ्यो । विद्यालयको पहुँच हुन नसक्दा अक्षर पढ्ने क्षमता थिएन । आमाले प्रौढ शिक्षा मार्फत् अक्षरसम्म चिन्न सक्नुभएको थियो । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ६ स्थित माझगाउँ साविक शिवालय ४ बस्ने ७८ वर्षकी मेरी सासुआमा जमुना गिरी विगतको आफ्नो जीवन र भोगाईबारे स्मरण गर्दै भन्नुहुन्छ–ूम १३ वर्षकी छँदा विहे भएको हो । परिवार ठुलो थियो । सासुआमा र ससुराबाले जे भन्नुहुन्थ्यो सोही अनुसार घरको काम गर्नुपर्दथ्यो । विहानै उठ्न पर्दथ्यो । मकै, कोदो, गहुँ पिस्नका लागि जाँतो थियो । अहिले जस्तो मिल थिएन । ढिकी र जाँतो गर्दै विहान वित्ने गर्दथ्यो । पानीको सुविधा थिएन । धेरै पर रहेको इनारबाट घैटो र गाग्रीमा पिउने पानी ल्याउने गर्दथ्यौ । गाईभैसी, गोरु धेरै थिए । सवैको सेवा गर्नु बुहारीहरुको नै काम हुन्थ्यो । सासुआमाले विहानबेलुका खाना पकाउनु हुन्थ्यो । सरसफाइ र लिपपोतको काम समेत हामी बुहारीहरुले नै गर्नुपर्दथ्यो । घरभन्दा बाहिरको काम श्रीमान र ससुराबाको हुन्थ्यो ।
मेरो सासुआमाको आफ्नो जीवन भोगाइबाट नेपाली समाजमा महिलाको अवस्था हिजो कस्तो थियो भन्ने कुरा छर्लङग हुन्छ । साँच्चिकै केही दशक अगाडि सम्म नेपाली समाजमा महिलाको दैनिक जीवन कष्टकर र पीडादायी नै थियो । नारीको सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच थिएन । अधिकांश महिला साक्षर सम्म पनि थिएनन् । समाजमा बालविवाह प्रथा व्यापक थियो । बालविवाहका कारण महिलाको जीवन र स्वास्थ्य उच्च जोखिममा हुने गर्दथ्यो । महिला बच्चा जन्माउने, बच्चाको स्याहार गर्ने र हुर्काउने मेशीन जस्तै थिए । अहिले भने राजनीतिक, सामाजिक र आर्थिक रुपमा नारीहरुले पहुँच राख्ने हैसियत राख्छन् तर पहिले थिएन । सम्पत्तिमा समेत नारीहरुको पहुँच थिएन । घरको जग्गाजमिनको स्वामित्व सवै पुरुषहरुमा नै थियो । अझ भन्नुपर्दा नारी हकअधिकार र स्वतन्त्रता भन्ने कुरा कल्पना जस्तो थियो ।
साविक शिवालय ४ निवासी ८० वर्षे सीता लामगादे जो २३ वर्षेउमेरमै विधुवा हुनुभएको थियो । भारतको गुहाटी रोजीरोटीका लागि लागेका श्रीमान् दुर्घटना परेर ज्यान गुमाएपछि लामगादे आमा विधुवा हुनुभयो । उहाँका सन्तान पनि छैनन् । जव लामगादे आमा विधुवा हुनभयो । समाजले उहाँप्रति हेर्ने दृष्टिकोण सकारात्मक थिएन । समाजले जसरी हेरे पनि उहाँका सासुससुराले भने माया नै गर्नुभयो । ब्रम्हाण परिवारकी आमालाई उमेरमै विधुवा भएपछि कसैकसैले पुर्नविवाहको प्रस्ताव नजानिदो गरी सुनाएका थिए तर उहाँको फेरि अर्को विहे गर्ने मन आएन । विगतका दिनहरु सम्झिदै लामगादे आमा भन्नुहुन्छ–ू म १४ वर्षकी छँदा बाआमाले विहे गरिदिनु भयो । माइत केही टाढा थियो । माइत पनि बाआमा पढेलेखेका हुनुहुन्थेन । माइतघरमा पनि मेलापात गरेर नै बाल्यकाल वितेको थियो । गाउँमा स्कुल नै थिएन । विहान पिउने पानी लिनका लागि आमासँग कुवासम्म धाउनु पर्दथ्यो । विहे पछि कुश्मा आइयो । यहाँ पनि पिउने पानीकै समस्या थियो । मकै र कोदो फल्ने ठुला बारीहरु थिए । अहिले जस्तो मोटरबाटो थिएन । मिठो खान र लाउन उमेर छँदा कहिले जुरेन । मिठो खानेकुरा पाइने पसल पनि हुने थिएनन् । माइत जसरी घरको काम गरेर बाल्यकाल वितेको थियो । यता विहेपछि पनि उस्तै तर अझ बढी घरको काम गरेर नै जीवन वितेको छ । उमेरमै विधुवा भइयो । विहे गर्ने मन कहिले आएन । विहान गाईभैसीका लागि घाँस काट्न खरवारी जानुपर्दथ्यो । पहिले त अहिलेको जस्तो भाँडाकुडा पनि पाइने थिएनन् । पुरानो बजार पारीपट्टि कुमाल गाउँ थियो । कुमालहरुले माटाका भाँडाकुडा बनाउथे । त्यही भाँडाकुडा खाना पकाउन र पानी बोक्ने काम लाग्थे । घरकै कामका कारण भनेका बेला माइत जान पनि पाइदैन थियो ।
हाम्रो नेपाली समाज केही दशक पहिलेसम्म कस्तो अवस्थामा थियो भन्ने कुरा लामगादे आमाको भनाईबाट थप बढी प्रष्ट हुन्छ । वास्तवमा नेपाली समाज सामान्ती सोच, अन्धविश्वास, कुप्रथाबाट नराम्रो गरी जेलिएको थियो । त्यसमा पनि नारीवर्ग सवैखाले कुप्रथाबाट हेपिएका, चेपिएका र थला परेको अवस्थामा थिए । धार्मिक हवाला दिएर समेत कतिपय प्रसँगमा नारीलाई तल्लो वर्गको रुपमा हेय भावले व्यवहार गरिने हिजोको अवस्था थियो । नारी अधिकार र समानताका कुरा कोरा कल्पनाका कुरा थिए । आर्थिक रुपमा नारीहरु परनिर्भर थिए । मिठो खाने र राम्रो लाउने कुरा गरिवीका कारण धेरै टाढाको विषय थियो । अझ दलित, मुश्लिम, अल्पसंख्यक खासगरी गरीव परिवारका महिलाहरुको अवस्था झ्न बढी कष्टसाध्य थियो । बहुविवाह, दाइजोप्रथा लगायतका कुरीतिबाट महिलाहरु नै बढी प्रताडित थिए । यसरी हेर्दा केही दशक अघिसम्म हाम्रा आमा र हजुरआमाको पिढीका महिलाको अवस्था एकदमै कठिन र दयनीय देखिन्छ । त्यतिखेरको नेपाली समाज नै आर्थिक र भौतिक रुपमा पिछडिएको अवस्थामा थियो भने सोही पिछडिएको समाजमा नारीको अवस्था थप जर्जर थियो ।
नेपाली समाजलाई केही दशक पछाडि गएर हेर्दा महिलाहरुको जुन दयनीय र पीडादायी अवस्था थियो । अहिले नेपाली नारीवर्गको अवस्था तुलनात्मक हिसावले हेर्ने हो भने धेरै फरक भएको पाइन्छ । सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक लगायतका क्षेत्रमा नारीको पहुँच उल्लेखनीय रहेको छ । संविधानले नै नारीलाई राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नीति निर्माणको तहमा नारीहरुको पहुँच पुगेको छ । नारीहरु संविधानसभामा प्रतिनिधित्व गरेका थिए । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछन् । स्थानीय सरकारका जनप्रतिनिधिको भूमिकामा समेत नारीहरु छन् ।
अहिले छोरीहरुलाई पनि शिक्षा दिइनुपर्छ भन्ने मान्यता हरेक अभिभावकहरुमा छ । उच्च शिक्षा हासिल गर्ने नारीहरुको संख्या दिनानुदिन बढ्दो छ । नारीले उच्च शिक्षा हासिल गरेसँगै शिक्षा, स्वास्थ्य, निजामती, न्यायिक लगायतका सवै क्षेत्रमा नारीको प्रतिनिधित्व बढ्दो छ । जुन कुरा एक सभ्य र आधुनिक समाजका लागि गौरवको विषय हो । नेपाली नारीहरु स्वदेशमा मात्रै नभई विदेशमा समेत आफ्नो दक्षता र योग्यता प्रमाणित गर्न उच्च मनोवल र आत्मविश्वासका साथ सक्रिय छन् । यो सिंगो नेपाली समाजका लागि सुखद पक्ष हो । जवसम्म समाज र मुलुकमा नारीको उचित स्थान हुँदैन । तवसम्म समाज सभ्य र समतामुलक बन्न सक्दैन । आधा आकाश मानिने नारीलाई समान अवसर र न्यायको सुनिश्चितता हुँदैन । समाजले विकासको गति लिन कदापि सक्दैन । आधुनिक र शिक्षित समाजमा समेत नारीहरु घरेलुहिंसा, यौनहिंसा, दाइजोप्रथाबाट पीडित बन्न र बनाइएका समाचारहरु बेलाबेला सुन्नमा आइरहेको पाइन्छ । यो आफैमा लज्जास्पद र अमानवियताको प्रकाष्ठा हो ।
मुलुक राजनीतिक हिसावले गणतान्त्रिक राज्यव्यवस्थासम्म आइपुग्दा महिला हकअधिकार, समानताको विषय महत्वपूर्ण बन्न पुगेको छ । मुलुकको आर्थिक र भौतिक समृद्धिका लागि सुशासनको खाँचो पर्दछ । मुलुकको सुशासनका लागि महिलालाई नेतृत्वदायी भूमिकामा ल्याइनुपर्छ । यसका लागि महिला स्वयं सकृय, जागरुक र हिम्मतका साथ अगाडि बढ्नुपर्छ । बौद्धिक नारीवर्ग समाज र मुलुकको सकारात्मक रुपान्तरणमा लागेमा मात्र सुख, शान्ति र समृद्धि मिल्नेछ । पुरुषवर्गले लिदै आएको शासकीय बागडोर अव महिलावर्गले सम्हाल्ने हिम्मत गर्नुपर्छ । मुलुकमा देखा परेको भ्रष्टचार, सामाजिक विकृति, राजनीतिक अस्थिरता लगायतका सवैखाले वेथिति विरुद्ध सचेत नारीवर्ग अदम्य साहसका साथ एकजुट भई उभिनुपर्छ ।
प्रतिक्रिया