शिक्षण सिकाइ प्रक्रियामा शिक्षकको भूमिका अपरिहार्य हुन्छ । शिक्षकको उत्साह, सकारात्मक दृष्टिकोण र प्रभावकारी शिक्षण शैलीले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । आजको प्रतिस्पर्धात्मक युगमा, विद्यार्थीहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षकहरूमा उच्च स्तरको उत्साह आवश्यक छ । विद्यार्थीले कुनै पनि विषयवस्तु के, कति र कसरी ग्रहण गर्न सक्छन् भन्ने कुरा शिक्षकले कक्षाकोठामा अवलम्बन गर्ने शिक्षणको तौरतरिकामा पूर्ण रूपमा निर्भर गर्दछ । शिक्षकमा विद्यमान जाँगर, उत्साह र सकारात्मक ऊर्जाले उसले सम्पादन गर्ने शिक्षण कार्यको गुणस्तरमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । शिक्षणको विषयवस्तुप्रति शिक्षकले जति बढी उत्साह र उत्सुकता प्रदर्शन गर्दछ, त्यति नै विद्यार्थीहरूमा सकारात्मक सिकाइ अनुभवहरूको विकास हुने सम्भावना बढ्छ । शिक्षकमा विषयवस्तु र शिक्षण पेसाप्रति जति धेरै सकारात्मक झुकाव र समर्पण हुन्छ, सोही अनुरूप उसले विद्यार्थीहरूमा आफ्नो ज्ञान र सीपलाई प्रभावकारी रूपमा हस्तान्तरण गर्न सक्दछ । त्यसैले, एक शिक्षकले शिक्षण गर्दा यो महत्वपूर्ण कुरा कहिल्यै बिर्सनु हुँदैन कि ऊ नयाँ पुस्ताको मस्तिष्कलाई प्रशिक्षित गर्ने र उनीहरूको भविष्य निर्माण गर्ने एक महत्वपूर्ण कार्यमा सहजकर्ताको रुपमा संलग्न छ ।
आजकलको नयाँ पुस्ताले शिक्षण पेसामा प्रबेश गर्न रुचि देखाइरहेको छैन । विश्वविद्यालयबाट उत्पादित उत्कृष्ट जनशक्तिको रोजाइमा यो पेसा परको देखिदैन । राज्यले शिक्षण पेसालाई मर्यादित र सम्मानित बनाउन नसक्दा यो क्षेत्रमा व्यापक निराशा छाएको छ । सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूमा उत्साह र जाँगर क्रमशः मर्दै गइरहेको स्वयं शिक्षकहरुकै अभिव्यक्तिहरु आउन थालेका छन् । स्थायी शिक्षकहरु समेत समान तहको भन्दा तल्लो तहको निजामति सेवामा वा बैदेशिक रोजगारीमा गएका कैयौ उदाहरणहरु समाजमा देखिन थालेका छन् । जति शिक्षण अबधि बढ्दै जान्छ, उति कार्यरत शिक्षकहरूको ऊर्जा पनि सेलाउँदै गएको पाइन्छ, जसको नकारात्मक प्रभाव प्रत्यक्ष रूपमा कक्षाकोठाको वातावरण र विद्यार्थीहरूको सिकाइ उपलब्धिमा देखिन थालेको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि कमजोर हुनुमा शिक्षक मात्र जिम्मेवार छन् कि छैनन् भन्ने प्रश्न एकातिर छँदै छ, तर शिक्षकहरूको जाँगर र उत्साहलाई निस्तेज पार्ने कारकहरू के हुन् भन्ने विषयमा पर्याप्त ध्यान पुग्न सकेको छैन । हामी गुणस्तरीय शिक्षाको नारा जप्दै गर्दा, उत्साहबिनाको शिक्षण र त्यसबाट दीक्षित विद्यार्थीहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा गरिरहेका छौँ । के यो विद्यमान अवस्थामा हाम्रा अपेक्षाहरू पूरा हुन सम्भव छ ? के जाँगर र उत्साह बिनाको यो शिक्षण सिकाइ प्रक्रियाले एक्काइसौँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न सक्ला ? यो एक गम्भीर प्रश्न हो, जसमाथि हामीले गहिरो रूपमा मनन गर्नुपर्ने बेला आएको छ ।
शिक्षक र शिक्षण पेसालाई समाजमा मर्यादित स्थान दिलाउने दिशामा राज्यको ध्यान अपेक्षाकृत रूपमा कम पुगेको देखिन्छ । एउटै कक्षाकोठामा विभिन्न प्रकारका शिक्षकहरूलाई फरक–फरक सेवा–सुविधा प्रदान गर्ने त्रुटिपूर्ण नीतिका कारण पनि कतिपय शिक्षकहरूमा निराशा र असन्तुष्टि बढेको छ । समान कार्यका लागि असमान सुविधाको मनोवैज्ञानिक असरलाई जति नै ढाकछोप गर्न खोजे पनि, यसले शिक्षकहरूको जाँगर र उत्साहलाई बिस्तारै सेलाउँदै लैजान्छ । जबसम्म शैक्षिक वातावरण असमान र विभेदपूर्ण रहन्छ, तबसम्म शिक्षकहरूमा स्वाभाविक ऊर्जा र उत्प्रेरणा जागृत हुन कठिन देखिन्छ । यसको प्रत्यक्ष नकारात्मक प्रभाव शिक्षण सिकाइ प्रक्रियामा पर्छ । पुरस्कार र दण्डको न्यायोचित र पारदर्शी व्यवस्था नहुँदा पनि शिक्षकहरूमा आलस्यता र निष्क्रियता बढ्दै गएको छ । परिश्रमी र मेहनती शिक्षकहरूको सही र वास्तविक मूल्याङ्कन गरी पुरस्कृत गर्नुको सट्टा, केही राजनैतिक आडमा छनोट गरिएका शिक्षकहरू पुरस्कृत र सम्मानित हुने प्रवृत्तिले इमान्दार शिक्षकहरूको मनोबल गिराउँछ । अर्कोतर्फ, शिक्षण संस्थाहरूमा जतिसुकै अनियमितता र बदमासी भए पनि कुनै कारबाही नहुने दण्डहीनताको संस्कृति मौलाउँदा, हाम्रा शिक्षण संस्थाहरूमा जाँगर र उत्साहविहीन निरस शिक्षण चलिरहेको छ ।
जबसम्म शिक्षण सिकाइ प्रक्रिया रमाइलो र रुचिपूर्ण हुँदैन, तबसम्म प्रभावकारी सिकाइ सम्भव हुँदैन । यदि सिकाइको प्रक्रिया विद्यार्थी र शिक्षक दुवैका लागि बोझिलो र नीरस भयो भने, शिक्षण र सिकाइप्रतिको उत्साह स्वाभाविक रूपमा कम हुँदै जान्छ । परिणामस्वरूप, शिक्षण सिकाइ केवल एक औपचारिकतामा सीमित हुन पुग्छ । शिक्षक कक्षाकोठामा भौतिक रूपमा उपस्थित भएको हुन्छ, विद्यार्थीहरू पनि नियमित रूपमा विद्यालय आइरहेका हुन्छन् र अन्य भौतिक स्रोतसाधनको अभाव पनि हुँदैन । तर, यदि सिकाइ प्रक्रिया निष्क्रिय र निरस बन्यो, अपेक्षित सिकाइ उपलब्धि हासिल हुन सकेन भने, यस्तो गम्भीर समस्याको समाधान हामीले कहाँ खोज्नुपर्छ ? पक्कै पनि यसको समाधानका लागि हामीले शिक्षकको उत्प्रेरणा र उत्साहमा ध्यान दिन आवश्यक छ ।
शिक्षण पेसामा उत्साहित र मिहिनेती शिक्षकले जति उत्कृष्ट नतिजा हासिल गर्न सक्छ, त्यति नतिजा निरुत्साहित पेसाकर्मीबाट अपेक्षा गर्न सकिँदैन । शिक्षणमा उत्साह र जाँगर प्रदर्शन गर्ने शिक्षकहरूले विद्यार्थीहरूमा आन्तरिक उत्प्रेरणा जगाउन सक्छन् । उनीहरूले विद्यार्थीहरूलाई विषयवस्तुप्रति जिज्ञासु र उत्सुक बनाउन सक्छन् । शिक्षकको उत्साह र विद्यार्थीको आन्तरिक उत्प्रेरणाबीच एक गहिरो र अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । शिक्षकले विद्यार्थीहरूमा उत्प्रेरणा जगाउन विभिन्न भावनात्मक उपायहरू अवलम्बन गर्न सक्छन्, जस्तैः अनुहार र शरीरको हाउभाउको उचित प्रयोग, विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने, शिक्षणका लागि उपयुक्त परिस्थिति र वातावरण सिर्जना गर्ने, सिकाइमा सूचना र संचार प्रविधिको भरपुर उपयोग गर्ने आदि । यी र यस्तै विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने खालका विभिन्न क्रियाकलापहरू शिक्षकले कक्षाकोठामा वा कक्षा बाहिर सञ्चालन गर्न सके विद्यार्थीहरूमा सिकाइप्रति स्वाभाविक रूपमा रुचि बढ्न थाल्छ । जब हामी विद्यार्थीहरूमा सिकाइको नशा जगाउन सफल हुन्छौँ, तब उनीहरू कक्षाकोठाभित्र मात्र नभई विद्यालयबाहिर पनि आफैँ सिकाइको वातावरण खोज्न थाल्छन् ।
उच्च स्तरको आन्तरिक उत्प्रेरणा विकास गर्नका लागि हामीले विभिन्न उपायहरू अपनाउन सक्छौँ । सर्वप्रथम, शिक्षकले आफूलाई थप उत्साहित बनाउनुपर्छ र कक्षाकोठाको वातावरणलाई रोचक, आकर्षक र उत्सुकतापूर्ण बनाएर विद्यार्थीहरूमा विषयवस्तुप्रति कौतूहल जगाउन सक्नुपर्छ । यसका लागि शिक्षकले नयाँ शिक्षण विधिहरू प्रयोग गर्ने, विद्यार्थीहरूलाई छलफलमा सहभागी गराउने, र उनीहरूलाई खोजमूलक कार्यहरूमा संलग्न गराउने जस्ता गतिविधिहरू गर्न सक्छन् । विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा दृढ र एकाग्र बनाउनका लागि शिक्षकले विषयवस्तुको प्रस्तुतिलाई अत्यन्तै रोचक, सान्दर्भिक र वस्तुगत बनाउनु आवश्यक हुन्छ । शिक्षणको क्रममा शिक्षक जति बढी सक्रिय र ऊर्जावान् हुन्छ, विद्यार्थीहरूले पनि त्यति नै बढी सक्रियता र चासो देखाउँछन् । शिक्षकले विषयवस्तुलाई जीवन्त बनाउन दैनिक जिवनका विभिन्न उदाहरणहरू, सफलताका कथाहरू, र दृश्य सामग्रीहरू प्रयोग गर्न सक्छन् ।
विद्यालयप्रति विद्यार्थीले देखाउने व्यवहार र दृष्टिकोण प्रत्यक्ष रूपमा शिक्षक र विद्यार्थीबीचको सम्बन्धसँग जोडिएको हुन्छ । त्यसकारण, शिक्षकले विद्यार्थीहरूसँग नजिक र सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने प्रयास गर्नुपर्छ । शिक्षकले विद्यार्थीहरूसँग कस्तो प्रकारको सम्बन्ध कायम गर्छ, त्यसले नै कक्षाकोठाको सिकाइ वातावरण निर्धारण गर्छ । विद्यार्थीको शैक्षिक उपलब्धिलाई पनि यही कुराले प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको हुन्छ । शिक्षकले विद्यार्थीको शैक्षिक सफलतालाई उनीहरूको व्यक्तिगत उपलब्धिहरूसँग जोडेर निरन्तर रूपमा अन्तरक्रिया गर्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास पैदा हुन्छ । शिक्षकले विद्यार्थीहरूको भावना र विचारलाई सम्मान गर्नुपर्छ, र उनीहरूलाई कक्षाकोठामा सुरक्षित र सहज महसुस गराउनुपर्छ ।
विद्यार्थीको व्यक्तिगत सफलता भनेको उसले आफ्नो आन्तरिक लक्ष्यहरूमा पुग्नका लागि गरेको प्रगति र सुधार हो, भने शैक्षिक सफलताभित्र उसले आफूभन्दा ठूला व्यक्तिहरू (जस्तैः शिक्षक, अभिभावक) द्वारा निर्धारित गरिएका लक्ष्यहरूलाई प्राप्त गर्नु बुझिन्छ । शिक्षकले विद्यार्थीहरूलाई मार्गदर्शन गर्दा यी दुवै प्रकारका लक्ष्यहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ । जुन विद्यार्थीहरूले यी दुवै प्रकारका लक्ष्यहरूमा अगाडि बढ्न सकारात्मक सहयोग र प्रोत्साहन प्राप्त गर्छन्, उनीहरू तीव्र आत्मविश्वासका साथ व्यक्तिगत र शैक्षिक सफलता प्राप्तिको दिशामा अगाडि बढ्न सक्छन् । शिक्षकले विद्यार्थीहरूको क्षमता र रुचि अनुसार उनीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउनुपर्छ, र उनीहरूको प्रगतिमा निरन्तर पृष्ठपोषण प्रदान गर्नुपर्छ । विद्यार्थीहरूले पनि त्यस्तो शिक्षकसँग राम्रो सम्बन्ध राख्न चाहन्छन् र पढाइको समयमा बढी रुचि देखाउँछन्, जो मिलनसार, सहयोगी भावनाको र सकारात्मक दृष्टिकोण भएको हुन्छ । एक सहयोगी र प्रभावकारी शिक्षक त्यो हो जसले आफ्नो अधिकतम समय प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँगको सिकाइ क्रियाकलाप र अन्तरक्रियामा बिताउँछ । प्रभावकारी शिक्षकले विद्यार्थीको सक्रिय सहभागितामा निर्णय गर्ने, कक्षाकोठाको वातावरणलाई जीवन्त र उल्लासमय बनाउने, बालमैत्री शिक्षण विधि र क्रियाकलापहरूमा जोड दिने, विषयवस्तुलाई रोचक र आकर्षक ढंगले प्रस्तुत गर्ने, र विषयवस्तुसँग सम्बन्धित बाह्य ज्ञानलाई समय र सन्दर्भ अनुसार समावेश गर्ने जस्ता कुराहरूमा विशेष ध्यान दिन्छ । शिक्षकले शिक्षण गर्न लागेको पाठ्यवस्तुलाई जति धेरै समृद्ध र फराकिलो बनाउन सक्छ, त्यति नै बढी मात्रामा विद्यार्थीहरूले बाहिरी ज्ञान हासिल गर्दछन् । यसरी पाठ्यक्रमभित्रको पाठ्यवस्तुसँगै थप बाह्य ज्ञान प्रदान गर्न शिक्षक सिर्जनशील र नवप्रवर्तक बन्नै पर्दछ । शिक्षकले विद्यार्थीहरूलाई आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता लगायत अन्य जिबनोपयोगी सीपहरु विकास गर्न पनि सहयोग गर्नुपर्छ ।
शिक्षकको उत्साहबाट नै विद्यार्थीमा उत्साह र ऊर्जा प्रवाहित हुने हो । यदि शिक्षक नै निष्क्रिय र उदासीन भयो भने, विद्यार्थीहरूमा सक्रियता र उत्सुकता आउन सक्दैन । “जस्तो गुरु उस्तै चेला“ भन्ने नेपाली उखान यहाँ चरितार्थ हुन पुग्छ । त्यसैले, शिक्षकले आफ्नो पेसाप्रति सधैँ गर्व गर्नुपर्छ र कक्षाकोठामा सकारात्मक ऊर्जा फैलाउनुपर्छ । यदि कुनै शिक्षक आफ्नो शिक्षण पेसामा सन्तुष्ट छैन भने, बरु उसले त्यो पेसा छोड्नु नै राम्रो हुन्छ । तर जबसम्म ऊ त्यो पेसामा रहन्छ, उसले आफ्नो कामप्रति पूर्ण जोस, जाँगर र उच्च क्रियाशीलता प्रदर्शन गर्नै पर्दछ । आफ्नो व्यक्तिगत कमजोरी र निहित स्वार्थका कारण कलिला बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन र हुनु पनि हुँदैन । शिक्षकले आफ्नो व्यक्तिगत समस्याहरूलाई कक्षाकोठामा ल्याउनु हुँदैन र सधैँ विद्यार्थीहरूको हितलाई प्राथमिकतामा राख्नुपर्छ ।
शिक्षक अभिरुचिका तीनवटा महत्त्वपूर्ण पक्षहरू हुन्छन् । शिक्षणको बारेमा अभिरुचि, विद्यार्थीको बारेमा अभिरुचि र विषयवस्तुको बारेमा अभिरुचि । एक सफल शिक्षकले शिक्षण कार्यबाट आनन्द लिन सक्नुपर्दछ । यदि शिक्षकले आफूले गरिरहेको कार्यबाट सन्तुष्टि र आनन्द प्राप्त गर्न सक्दैन भने, उसले त्यो कार्य प्रभावकारी रूपले सम्पादन गरिरहेको हुँदैन र गर्न पनि चाहँदैन । यस्तो अवस्थामा शिक्षण पेसा उसको लागि जबरजस्ती लादिएको बोझ जस्तो बन्न जान्छ । त्यसैले, शिक्षकले विद्यार्थीहरूको बीचमा रमाउन सिक्नुपर्दछ । विद्यार्थीहरूका हरेक क्रियाकलापहरुमा चासो लिने, उनीहरूको ख्याल गर्ने, उनीहरूको व्यक्तिगत र शैक्षिक सफलतामा सहयोग गर्ने, र विद्यार्थीको सफलतालाई आफ्नो सफलता ठानेर खुसी हुन सिक्नुपर्दछ । शिक्षकले विद्यार्थीहरूलाई प्रेरणा दिने, उनीहरूको आत्मविश्वास बढाउने, र उनीहरूलाई असल नागरिक बन्न सहयोग गर्ने कार्यमा पनि ध्यान दिनुपर्छ । शिक्षकको लागि तेस्रो महत्वपूर्ण पक्ष भनेको आफूले पढाउने विषयवस्तुप्रतिको अभिरुचि र उत्साह हो । शिक्षकले आफूले अध्यापन गर्ने विषय भित्रका हरेक विषयवस्तुप्रति गहिरो अभिरुचि राख्नुपर्दछ र त्यसको महत्व विद्यार्थीहरूलाई स्पष्ट रूपमा बुझाउन सक्नुपर्दछ। उदाहरणका लागि, गणित शिक्षण गर्ने शिक्षकले गणितको कलाबाट आनन्द लिन र गणित पढ्नुको आनन्द र महत्व विद्यार्थीहरूलाई देखाउन सक्नुपर्दछ । तब मात्र विद्यार्थीहरूमा उक्त विषयप्रति स्वाभाविक रूपमा अभिरुचि र उत्साह पैदा हुन थाल्दछ । शिक्षकले आफ्नो विषयको नयाँ विकास र अनुसन्धानको बारेमा पनि जानकारी राख्नुपर्छ, र विद्यार्थीहरूलाई सिकाउनुपर्छ । तसर्थ, शिक्षकमा देखिने एउटा सानो सकारात्मक सङ्केतले पनि विद्यार्थीहरूमा ठूलो उत्साह र अभिरुचि जगाउन सक्ने हुँदा, हामी सबै जाँगरिलो, उत्साही र कर्मठ शिक्षक बनेर हामीमाथि लाग्दै आएका नकारात्मक आरोपहरूलाई गलत साबित गरिदिने कि ?
प्रतिक्रिया