News Portal

ताजा शिर्षकहरु

अन्तर्वार्ता

दक्ष जनशक्तिलाई काममा लगाउनका लागि योजना र कार्यक्रम अपुग हुने गरेको छ

गाउँपालिकाको अध्यक्ष रहि काम गर्दाको एक वर्षे अनुभव कस्तो रह्यो ?

पहिलो वर्ष रहेको हुनाले यो वर्ष हामी नयाँ जनप्रतिनिधिका लागि सिक्दै र काम गर्दै जाने नौलो अनुभव भयो । पालिकाको वृहत्तर विकासका लागि अध्ययन, अवलोकन, तयारी गर्नुपरेको थियो । पहिलो वर्ष सोचे जस्तो गाउँपालिका भित्र सत प्रतिशत आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले फरक तरीकाले काम गर्दा जनतालाई स्थानीय सकारकारको अनूभुति भने भएको छ । पहिलो वर्षको अनुभवबाट आगामि वर्षमा के कस्ता योजना र कार्यक्रम अगाडि बढाउने भन्ने सिकाई भएको छ ।

जलजला गाउँपालिकाका जनताले सम्झन लायक कार्य कुन क्षेत्रमा गर्नुभएको छ ?

पालिकाका जनताले सम्झन लायक कार्य खासगरी शिक्षा र कृषिमा गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्राथमिकता दिएको छ । शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरवन्दी मिलान तथा तह समायोजनको प्रक्रिया अघि बढेको छ । गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार पारी १ देखि ८ कक्षासम्म पढाइ शुरु गरिएको छ । पाठ्यपुस्तकलाई सफ्‌टवेयर मार्फत् डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्था समेत मिलाईएको छ । पालिका भित्र बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई मासिक रु ३००० भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रविधिसँग जोड्न हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टिभी सहित एल.एम.एस प्रणालीको व्यवस्था छ । त्यसैगरी कृषि क्षेत्रको व्यावसायिक विकासका लागि आलुको पकेट क्षेत्र स्थापना गरी विउ आलु उत्पादन गर्न शुरु भएको छ । विउ आलु उत्पादनमा धौलागिरि क्षेत्रलाई नै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । पालिकाको ६ वटा वडाका कृषकहरु समेटेर भैसी पकेट क्षेत्र संंचालन हुँदा कृषकहरु लाभान्वित भएका छन् । अझ भन्नै पर्दा पालिकाको गौरवको आयोजनाको रुपमा एकै साथ ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् ।

आन्तरिक सुशासनका लागि तपाईको पहल कस्तो रहेको छ ?

आन्तरिक सुशासन मजबुत र प्रभावकारी बनाउनको लागि नियमित मासिक रुपमा प्रत्येक शाखाका प्रमुखसँग बैठक बस्ने र कसरी जलजलाबासीलाई बढी भन्दा बढी सेवासुविधा दिन सकिन्छ भनी छलफल हुने गरेको छ भने हेल्पडेक्स, गुनासो संकलन, कर्मचारी लकबुक व्यवस्था आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै जनतालाई छिटो छरितो र भरपर्दो सेवासुविधा प्रदान हुने व्यवस्था मिलाईएको छ । साथै पालिकाको ९ वडाले प्रदान गर्ने नागरिक सेवालाई भरपर्दा, पारदर्शी र प्रभावकारी बनाउनका लागि डिजिटल प्रविधिको प्रयोग गरी स्मार्ट गाउँ बनाइने छ ।

पालिकाले व्यहोर्नुपरेका समस्या चुनौती के के छन् ?

पालिकाले व्यहोर्नु परेको समस्या मध्ये सवैभन्दा ठुलो समस्या नै काम गर्नका लागि प्रर्याप्त बजेट नहुनु हो । पालिकामा दक्ष र प्राविधि जनशक्तिको कमि छैन । सरकारले उपलव्ध गराएकै छ । हाम्रो पालिका राष्ट्रिय राजमार्गसँग जोडिएको हुनाले सहजै दक्ष प्राविधिक कर्मचारीहरु उपलब्ध हुन्छन् तर दक्ष जनशक्तिलाई काममा लगाउनका लागि योजना र कार्यक्रम अपुग हुने गरेको छ । उदाहरणका लागि पालिकामा भएका ६,७ जना प्राविधिक कर्मचारी छन् । पालिकामा बजेट कम हुँदा भने जसरी विकास निर्माणका काम हुन सकेको छैन । काम नभएपछि पालिकाका कर्मचारी खाली बस्नु परेको छ भने पालिकामा नै प्रदेश र संघबाट परेको योजना र कार्यक्रम छन् तर तिनमा प्रदेश र संघदेखि प्राविधि आएर काम गर्छन् । संघ र प्रदेशबाट विनियोजित बजेटबाट भैरहेका विकासका कार्यमा स्थानीय प्राविधिकलाई खटाउन सकेमा राज्यको खर्च बचत हुने थियो ।

पालिकाको आफ्‌नो आन्तरिक आय वृद्धिका लागि तपाईले के गर्दै हुनुहुन्छ ?

पालिकाको आफ्‌नो आन्तरिक आय वृद्धिका लागि पर्यटकी गन्तव्यको खोजी गरी पर्यटन प्रवद्र्धनको गतिविधि गरिदैछ । आन्तरिक स्रोतहरु बहाल कर, घर भाडा कर, विज्ञापन कर लगायतलाई व्यवस्थित बनाउने काम भएको छ । ढुंगा, गिटी, बालुवाको घाटगद्दी गरी लिलामी गर्ने प्रक्रिया अघि बढाइने छ । पालिकाका ९ वटै वडामा राजस्व वृद्धिका लागि सचेतनामूलक शिविर संचालन गरिएको र आगामि दिनमा समेत राजस्व वृद्धि हुने गतिविधिहरु गर्दै जाने कार्यक्रम बनाइएको छ ।

आगामि आर्थिक वर्षका लागि उल्लेखनीय योजना र कार्यक्रम के के छन् ?

जलजला गाउँपाकिालाई खुल्ला बहुसंस्कृति संग्रहालयको रुपमा विकास गर्न बहुसंस्कृतिक पहिचान र मौलिकता झल्किने पुर्खेउली मारुनी, सोरठी, यानिमाया भजन किर्तन लोकबाजा लगायतको संरक्षण गरिने, युवालाई गाउँमै रोजगारीको सृजनाका लागि युवा उद्यमशीलता कार्यक्रम अघि बढाउने, विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिइने, गरीव र विपन्नवर्गलाई भनी थालिएको स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिइने छ । गाउँका स्वास्थ्य चौकीहरुलाई अझै बढी सुविधायुक्त बनाइने योजना र कार्यक्रम छ ।

प्रदेश र संघसँगको सहकार्य कस्तो रहेको छ ?

प्रदेश र संघसँग हामीले पालिका मार्फत् सम्वन्ध र सम्पर्क गर्न खोज्छौ तर उताबाट बजेट र कार्यक्रममा हामीसँग समन्वय रहदैन । बजेट र कार्यक्रम पनि स्थानीय पालिकासँग सहकार्य गरी आउने गरेको छैन । प्रदेश र संघबाट विनियोजन हुने विकास निर्माणको बजेट र कार्यक्रम स्थानीय जनताको आवश्यकता भन्दा पनि केही पहुँचवाला व्यक्तिको स्वार्थ लागि प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया