News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कृषि सहारापाटी विशेष

पर्वतको बाच्छाबाट १ करोड मूल्यको काक्राको विउ उत्पादनको आंकलन

लोकल भक्तपुरे काक्राको विउ उत्पादनले चिनिएको बाच्छा कर्नास गाउँ

पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आंकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छा गाउँका कृषकले वर्षेनी बिउ काक्राको व्यावसायिक खेती गर्दै आएका छन् ।
बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष १ हजार ४ सय केजी काक्राको समूूहगत बिउ उत्पादन हुने आंकलन गरेको छ । कृषक समूहमा ३२ जना सदस्यहरु समावेश छन् । यो समूह भन्दा बाहेक पनि गाउँमा काक्राको विउ उत्पादनमा लागेका कृषकको संख्या उल्लेख्य छ । कृषक समूहका अध्यक्ष शिव कुमार क्षेत्रीका अनुसार गत वर्ष विउको जिल्लादर रेट प्रति केजी ६ हजार कायम गरिएको थियो । गतवर्षको दररेट अनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहको मात्रै उत्पादित काक्राको विउको मूल्य ८० लाख भन्दा बढी रकम हुन्छ ।
यसपाली काक्राको झालमा असीनाले चुट्न नपाएको र मौसम अनुकूल हुँदा उत्पादन राम्रो हुन पुगेको कृषकहरुको भनाई छ । अगुवा कृषक क्षेत्रीले ४५ रोपनी जग्गामा विउ उत्पादनका लागि काक्राको खेती गर्नुभएकोमा ९० केजी विउ उत्पादन भएको छ । फागुनको पहिलो हप्ता लगाएको काक्रा वैशाखको अन्तिमसम्ममा विउका लागि तयार भइसकेको हुन्छ ।
दक्षिण कोरियाबाट गाउँ फर्किएर कृषि पेशा अंगाल्नु भएका कृषक क्षेत्री आफ्नो पेशामा सन्तुष्ट र खुशी हुन्ॉहुन्छ । कृषक क्षेत्रीले कृषकलाई ऋण नपत्याएकोमा दुखेसो पोख्नुहुन्छर्–सरकारले कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास वैंकले ऋण दिन्छु भनेर अन्तिममा कृषि जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिम क्षणमा ऋण नदिएकोमा चित्त दुखेको छ । यो समस्या मेरो व्यक्तिगत मात्र नभई कृषि क्षेत्रमा थप लगानी गर्न खोज्ने कृषकहरुको साझा समस्या हो ।Ú
बाच्छाकै कृषक मुना पाण्डे क्षेत्रीले ६० केजी काक्राको विउ उत्पादन गर्नुभएको छ । कृषक झलक आचार्यले ५५ रोपनीमा गरेको काक्रा खेतीबाट १ सय केजी विउ उत्पादन गर्न सफल रहेको बताउनुभयो । कृषक आचार्यका अनुसार अन्य कृषि बाली भन्दा काक्राको विउ उत्पादनबाट राम्रो कमाइ हुने गरेको छ । मूल्य तोकेर विउ खरीद गरिसकेपछि समयमा सिड कम्पनीहरुले मूल्य भुक्तानी नगर्ने गरेको गुनासो विउ उत्पादक कृषकहरुको छ । कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेले जिल्लाको जलजला गाउँपालिका क्षेत्रका कृषकहरुको काक्रा खेतीमा असीनाले असर गर्दा विउ उत्पादनमा कमी हुने देखिएको छ भने बाच्छा र फलेवास क्षेत्रका कृषकहरुको उत्पादन भने राम्रो रहेको बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार जलजला क्षेत्रमा मात्रै १५ हेक्टर जग्गामा विउ उत्पादनका लागि कृषकहरुले काक्राको खेती गरेका छन् । असीनाले हिर्काएपछि कृषकहरुले ३० प्रतिशत विउ उत्पादन हुने र बाँकी काक्राको फल नै विक्री गर्ने बताएका छन् । यसवर्ष जिल्लाभरबाट करीव २ करोड मूल्य बराबरको काक्राको विउ उत्पादन हुन सक्ने आंकलन कृषि कार्यालय पर्वतका प्रमुख लामिछानेको छ ।

प्रतिक्रिया