पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि जेठ ११ गतेबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिनुभयो । संयोजक खनालका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्धितिय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिनेछ ।
प्रतियोगितामा देशका प्रख्यात पव्लिक स्पिकरहरुका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले बताउनुभयो । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त बाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी, नवलपुरकी मनिषा पौडेल लगायत अतिथि वक्ताको रुपमा रहेको र उनीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरुबाट मूल्यांकन हुने खनालले जानकारी दिनुभयो ।
कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था आयोजकले गरेको जनाएको छ ।
अहिलेसम्म काठमाडौ, पर्वत, जुम्ला, रुकुम, रोल्पा, बाँके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट करीव २०० जनाले नाम दर्ता गराएको मिडियाकर्मी लेखराज ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताहरुले सकारात्मक सन्देश दिने खालको विचार राख्नुपर्नेछ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजकको मत छ ।
हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको आायोजकको भनाई छ ।
महायज्ञका सकल्पकर्ता बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको संगम गण्डकी कोटिहोम भएकोले यो पुण्य ठाउँको दर्शन गर्न कोही नछुट्न आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया