News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हेल्थ/लाइफस्टाइल

पर्वतलाई गरियो पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा

पर्वत जिल्लालाई पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम, पर्वत ।

 

पर्वतलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । यही असारको ५ गते विहिवारका दिन एक कार्यक्रमका बीच पर्वतलाई पुर्णखोप सुनिश्तिता जिल्ला घोषणा गरिएको हो ।
पर्वतलाई पहिलो पटक २०७५ साल जेष्ठ महिनामा पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरिएको थियो । पुर्णखोप सुनिश्चितता गरिसकेपछि हरेक वर्ष जन्मने नयाँ बालबालिकाहरुका लागि समेत खोपको मात्रा पुरा गराउने प्रतिवद्धता गरिए अनुरुप विशेष समारोह मार्फत् पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।
पर्वत जिल्लामा मासिक १८८ खोप सेसन मार्फत् नियमित खोप सेवा प्रदान गरिदै आएको छ । सदस्य सचिव आचार्यका अनुसार २०८२ चैत्र महिनामा गरिएको घरधुरी सर्वेक्षण अनुसार पर्वत जिल्लामा १५ महिना सम्मका १५७२ जना बालबालिकाहरुले खोप लगाइरहेका छन् भने १६ महिनादेखि २७ महिना सम्मका १५०५ जना बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनु पर्ने १३ वटा रोगहरु विरुद्धको सम्पूर्ण खोपहरु पुरा गरेका छन् ।
पर्वत जिल्लामा २०८१ माघ र फागुन महिनामा संचालनमा भएको पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी.खोप अभियानमा ४७११ जना किशोरीलाई एच.पि.भी. खोप समेत प्रदान गरिएको छ । जिल्ला खोप समन्वय समितिले यस वर्ष पनि पुर्णखोप सुनिश्चित गर्ने निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृयाहरु पुरा गरी पर्वतलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरेको दाबी गरेको छ ।
जिल्लामा रहेका स्थानीय तहलाई हेर्दा सवैभन्दा बढी जन्मेदेखि १५ महिनासम्मका खोप लगाउने ४९१ जना र १६ देखि २७ महिना उमेर समूहभित्रका ४१० जना कुश्मा नगरपालिकाका रहेका छन् भने सवैभन्दा कम महाशीला गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप लगाउने ९५ जना र १६ देखि २७ महिना उमेर समूहभित्रका ७१ जना बालबालिका रहेका छन् ।
हाल नेपाल भरी १४ वटा सरुवा रोगहरु क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस वि, हेमोफिलस इनफ्लुईन्जा बी, पोलियो, दादुरा, रुवेला, न्यूमोनीया, मेनेन्जाईटिस, जापानिज इन्सेफलाइटिस्, रोटा भाइरसबाट हुने पखाला, टाइफाइड र पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी.को खोप उपलब्ध हुँदै आएको छ ।
खोप सेवाको सहज उपलब्धता, पहुँच तथा समुदायको व्यापक सहभागीता र उपभोगका कारण बालबालिकाको विरामी, अपांङगता र मृत्युदरमा उल्लेख्य सुधार आएको छ ।

प्रतिक्रिया