पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको बदमासीले अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्राचौरमा निर्माणाधिन १५ शैयाको प्राथमिक अस्पताल भवन ५ वर्षदेखि अलपत्र छ ।
अस्पताल निर्माणको काम १७ महिनामा सम्पन्न भइसक्नु पर्ने भनी सम्झौता भएको थियो । ठेकेदारको बदमासी र लापरबाहीकै कारण ५ वर्ष भन्दा बढी भइसक्दा समेत अस्पताल निर्माण सम्पन्न हुन नसकेको स्थानीयबासीको गुनासो छ । ठेकेदारले अस्पताल निर्माणको काम सम्झौता अनुसार समयमा सम्पन्न नगरी पटक पटक म्याद थप गर्दै आएको छ । अहिलेसम्म ठेकेदारले तीन पटक निर्माण सम्झौता म्याद थप गरिसकेको छ ।
स्थानीयबासीले अस्पताल भवन निर्माणका लागि भनी आफ्नो उर्वरा खेती योग्य ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । घर नजिकको आफ्नै गाउँमा राम्रो अस्पताल बनेपछि स्वास्थ्य उपचारका लागि सदरमुकाम कुश्मा र पोखरा बजार धाउन पर्दैन भन्ने स्थानीयबासीको विश्वास छ ।
सम्झौता अनुसार १७ महिनामै अस्पताल निर्माणको काम सम्पन्न हुनुपर्नेमा ठेकेदारले ढिलासुस्ती गरी ५ वर्ष पुराइ दिएकोमा स्थानीयबासी आक्रोशीत बनेका छन् । घर नजिकैको उर्वरा जग्गा दिने जग्गादाताहरुमा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भटट्राई लगायत छन् । साउदी सरकारको पुर्ननिर्माणको साउदी फण्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको काम भ्याली बाबुरत्न जेभी कम्पनीले लिएको हो । ठेकेदार कम्पनीले निर्माणको कामलाई वेवास्ता गरी वर्षौदेखि अलपत्र पार्दै आएको छ ।
नजिकमा अस्पताल स्थापना गरेमा स्वास्थ्यसेवा सहज होला भनी पसाउदै गरेको धानबाली नष्ट गरी जग्गा सम्म पार्न भनी त्यतिवेला डोजर लगाउन दिइयो तर अहिले ५ वर्ष वितिसक्दा समेत भवन निर्माणको काम कहिले पुरा हुने पत्तो नभएको स्थानीय भूपेन्द्र पौडेलको गुनासो छ । निर्माण व्यवसायी रमेश पौवालेले अब एक महिना पछि निर्माणको थालनी गर्ने बताउनु हुन्छ ।
भवन निर्माणका लागि तोकिएको १७ महिनाको अवधिमा निर्माण पुरा नगरी ५ वर्ष विताउने निर्माण व्यवसायीको भनाईमा भने स्थानीयबासीको विश्वास छैन । वडा २ का पूर्व अध्यक्ष ओम कुँवर भन्नुहुन्छ–“निर्माण व्यवसायीले मुखले काम गर्छु भन्ने तर व्यवहारमा नगर्ने देखिएको छ । दुर्गम क्षेत्रमा अस्पताल निर्माणको काम छिटो सम्पन्न हुने हो भने स्वास्थ्य सेवाको अभावमा बसाइसराई गरी बाहिर जाने मानिसको संख्यामा कमि हुने थियो । गाउँलेलाई स्वास्थ्य सेवा सहज हुने थियो ।”
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका ईन्जिनियर सुवास बरालका अनुसार ठेकेदार कम्पनिले नियमानुसारको पाउनु पर्ने रकम लिइरहेको छ । ठेकदारले ल्याएको विलको रकम भुक्तानी भएको छ । ठेकेदारले पाउनु पर्ने रकम एक पैसा पनि रोक्का नभएको बताउदै इन्जिनियर बराल भन्नुहुन्छ–ूकाम अनुसारको रकम समयमा पाउदा पनि किन काममा ढिलाई भएको छ भन्ने कुरा नै बुझिएको छैन । अब ठेकेदारसँग सम्झौता रद्ध गर्नुपर्ने अवस्था आउन सक्छ ।ू ठेकेदारले अहिलेसम्म १ करोड ६५ लाख भुक्तानी लिइसकेको छ । निर्माणाधिन १२ हजार वर्गफिटको अस्पताल भवनमध्येको ए व्लकको ढलन केही वर्ष पहिले भए पनि वी व्लकको ढलन हुन बाँकी नै छ ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करीव १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो । स्थानीयबासीले सरोकारवाला पक्षको वेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेकोमा गुनासो गरेका छन् ।
प्रतिक्रिया