पर्वत जिल्लाको बामपन्थी आन्दोलनको इतिहासमा अग्ला वृक्ष मानिएका एक राजनीतिक व्यक्तित्व भौतिक रुपमा सदाका लागि विलिन हुन पुगेका छन् । भौतिक शरीरबाट विलिन भए पनि जिल्लाको बामपन्थी आन्दोलनमा पुराएको योगदान भने सदा अविस्मरण्ीय रहिरहने राजनीतिक व्यक्तित्वको नाम हो गणेश शर्मा पौडेल ।
जिल्लाको कुश्मा नगरपालिका– १० स्थित पिपलटारी स्थायी घर रहेका पौडेलले राजनीतिक र शैक्षिक क्षेत्रमा लामो समय योगदान पुराएका थिए । उमेरले ८ दशक पार गरिसक्दा र केही समयदेखि जटिल विमारबाट गुज्रिरहेको अवस्थामा समेत राजनीतिक व्यक्तित्व पौडेलले सक्रिय र जुझारुपनका साथ राजनीतिमा सक्रिय रहनु भएको थियो । उहाँले आइतवार भौतिक शरीर छोड्नु भयो । भौतिक शरीर छोड्नु केही दिन अगाडिसम्म पनि आफ्ना शुभचिन्तक र पार्टी कार्यकर्तासँग राजनीतिक र सामाजिक समसायिक सवालमा गम्भीरताका साथ भलाकुमारी गर्दै हुनुहुन्थ्यो ।
बामपन्थी आन्दोलनमा लागेर लाभको पद पाउने भन्दा धेरै गुमाउने राजनीतिक व्यक्तित्वमा पौडेल पर्दछन् । संविधानसभा २०६४ को निर्वाचनमा संविधानसभा सदस्यमा उम्मेदवारी दिएका पौडेलले २०७९ को स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट चुनाव लडेका थिए । सफलता भने हात लागेन ।
नेकपा एमाले पार्टीलाई दुःख र कठिन मोडमा बलियो गरी काँध थापिदिने राजनीतिक व्यक्तित्वमा गनिन्छन् पुराना बामपन्थी नेतामध्येमा पर्ने पौडेल । संविधानसभाको निर्माचन २०६४ तिर देशमा सिंगो चुनावी राजनीतिक माहौल तत्कालीन नेकपा माओवादी पार्टीको थियो । त्यतिखेर अग्रज राजनीतिक व्यक्तित्व पौडेललाई एमाले पार्टीले चुनावमा उम्मेदवार प्रस्ताव गरी लडायो । पार्टीको चाहना र आवश्यकतालाई स्वीकार गरी चुनाव लडे तर नतिजा नेता पौडेलको पक्षमा आएन ।
स्थानीय निर्वाचन २०७९ मा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेको बेला जित गठबन्धनको सुनिश्चित थियो । चुनावी माहौल नेकपा एमालेको पक्षमा छैन र हार निश्चित जस्तै छ भन्ने आंकलन पछि मेयरका आकांक्षी स्वतः छेउ लाग्न पुगे । मेयर उम्मेदवारमा आकांक्षी देखिएका एमाले जिल्ला पार्टी पंक्तिका केही व्यक्तिहरु छेउ लागेपछि अग्रज नेता पौडेल नै अगाडि सर्न बाध्य पारिएका थिए ।
नाफाघाटा हेरेर मेयर पदमा उम्मेदवारी दिनमा रुचि कसैले देखाएका थिएनन् । सिंगो पार्टी संगठनको हित र आवश्यकता हेरी इमान्दारिताको राजनीति गर्ने अग्रज नेता पौडेल चुनावमा होमिनु परेको थियो । पार्टी संगठन निर्माण गर्ने भनी ज्यान फालेर लाग्ने इमानदार राजनीतिक व्यक्तित्व पौडेललाई एमाले पार्टीले कहिले पनि सम्मानजनक स्थान र अवसर दिन नसकेको भनी अगुवा कार्यकर्ता विचबाटै गुनासोहरु आउने गरेका थिए ।
जिल्लाको शैक्षिक क्षेत्रमा समेत अतुलनीय योगदान गरेका पौडेल जस्ता विद्धान र वैचारिक व्यक्तित्वलाई नेकपा एमाले पार्टीले साँच्चिकै कदर गर्दथ्यो भने समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, विभिन्न आयोगहरुमा राजनीतिक नियुक्ति दिलाउन सक्दथ्यो । त्यागी र सरल राजनीतिक व्यक्तित्व पौडेलले राजनीति सिकाएका धेरै कनिष्ठ राजनीतिक व्यक्तिहरुले थुप्रै लाभको पद लिइरहेका छन् । अग्रज राजनीतिक व्यक्तित्व पौडेलको अनुभव, त्याग, वैचारिक क्षमतालाई पार्टीले भरपुर सदुपयोग गर्न नसक्नु दुःखद कुरा बन्यो ।
लामो राजनीतिक इतिहास रचेका पौडेल कुनै पार्टी विशेषको भन्दा पनि समग्र बामपन्थी आन्दोलनका प्रेरणादायी व्यक्तित्व हुन् । आगामि पुस्ताले पौडेलले जिल्लाको बामपन्थी आन्दोलनमा पुराउनु भएको योगदानबाट पाठ सिक्दै समाजवादमा लाग्न आवश्यक छ । जनमानसमा लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा सोमबार दिउँसो मोदीवेणी घाटमा भएको उहाँको अन्तिम दाहसंस्कारमा सहभागी भएका असंख्य सर्वसाधारणको भीडबाट पनि सहजै अनुमान गर्न सकिन्छ ।
राजनीतिक व्यक्तित्व पौडेल बामपन्थी कार्यकर्ताको मात्र नभई सवै विचारका मानिसहरुको असल अभिभावक र सल्लाहकार हुनुहुन्थ्यो । राजनीतिक हिसावले हेर्दा पछिल्लो समयमा भने उहाँको कोही भएनन् जस्तो थियो ।
प्रतिक्रिया