विदेशबाट फर्र्किएर आफ्नै माटोमा श्रम र पसीना खर्चिएका जिल्लाको बनौं गाउँका एक युवा कृषकलाई अकबरे खुर्सानीले बजार पाउन नसकेपछि चिन्ता परेको छ । जीवनका उर्जाशील समय खाडीमा कष्टसाध्य जीवन विताएका पर्वतको जलजला गाउँपालिका–०९ का निर्मल पुन मगर गाउँमै केही गर्नुपर्छ भनी फर्किका युवा हुन् ।
रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करीब दश वर्ष बिताएका ४४ वर्षीय पुनले सुन्तलाको बगैचाभित्र अन्तरेबालीको रुपमा अकवरे जातको खुर्सानी खेती गर्नुभएको हो । कृषक पुनले छ सय बोट सुन्तलाको बगैचा भित्र अन्तरे बालीको रुपमा लगाएको अकवरे खुर्सानी लटरम्म फलेको छ तर बजारमा विक्री भने धेरै भएको छैन ।
हुर्कदै गरेको सुन्तला बगैचाको खाली जमिन सदुपयोग गर्न लगाएको अकवरे खुर्सानी विक्री नभई कुहिएर झर्छ कि भन्ने पिरलोले कृषक पुनलाई सताएको छ । तत्काल बजार नपाउने पिरलो हटाउन कृषक पुनले खुर्सानीबाट स्थानीय स्वादमा व्यावसायिक अचार उत्पादन गर्ने सोचमा हुनुहुन्छ ।
गत वर्ष परिक्षणका लागि लगाएको ९० बोट खुर्सानीबाट रु. ३० हजार आम्दानी भएको थियो । यस वर्ष भने कृषक पुनले १२ हजार बढी खुर्र्सानीका वेर्ना लगाउनु भएको छ । समुन्द्रि सतहदेखि करिब एक हजार सात सय मिटर उचाइको बनौमा खुर्सानी खेतीको परिक्षण सफल भएपछि आफै विउ उत्पादन गरेर व्यवसाय शुरु गरेको पुनको भनाई छ ।
खुर्सानी फलेको देख्दा खुशी भएका पुनले बजार नपाउँदाको दुखेसो पोख्दै भन्नुभयो–ूखुर्सानी फलेको देख्दा खुशी भएर के गर्नु ? बजार छैन । कुहिएर जान्छ कि भन्ने डर छ । खुर्सानीबाट स्थानीय स्वादको अचार बनाउने सोचमा छु ।ू
विदेशमा सोचेजस्तो आम्दानी नभएपछि जन्मथलो फर्किएका कृषक पुनले निकिता एकिकृत कृषि तथा पशुपंक्षी फर्म खोलेर सुन्तला, खुर्सानीका साथै व्यवसायिक तरकारीखेती र कुखुरापालन गर्नुभएको छ ।
गाउँमा पहिलोपटक अकवरे खुर्सानीको व्यावसायिक उत्पादनमा लागेका कृषक पुनले खुर्सानीको बोट भन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन पलास्टिकले छोपेर मल्चिङ गर्नुभएको छ । मल्चिङ बिधीबाट खेती गर्दा झार नपलाउने र बिरुवा छिटो हुर्कने, छिटो र गुणस्तरीय फल लाग्ने गर्छ ।
कृषक पुनको फर्ममा उत्पादन भएको अकवरे कुश्मा, बेनी र बागलुङमा प्रतिकिलो रु. तीन सयका दरले केही मात्रामा बिक्री हुन थालेको छ । हालसम्म दुई सय किलोग्राम खुर्सानी बिक्री भइसकेको छ ।
खुर्सानी खेतीमा श्रीमती माया पुनको साथ र सहयोग पाउनु भएका पुनले विदेशमा धेरै दुःख पाएर पनि भनेजस्तो आम्दानी पाउन नसकेपछि स्वदेशमै परिवारका साथ बसेर काम गर्न गाउँ फर्किको बताउनुहुन्छ ।
जलजला–९ का वडा अध्यक्ष गौ बहादुर पुनले कृषक पुनलाई रहेको खुर्सानी विक्री गर्न बजारको समस्यालाई वडाले सहजिकरण गर्ने बताउनुहुन्छ । जलजला गाउँपालिकाले मिनिटेलर हलो, मल्चिङका साथै खुर्सानीमा लागेको रोग नियन्त्रणमा सहयोग गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
यातायातको सुविधा रहेको बनौं गाउँ आलु, सुन्तला, किवी साथै सत्तुवा खेतीका लागि ख्याती चलेको स्थान हो ।
प्रतिक्रिया